logo
२०८१ जेष्ठ १ मंगलवार

   १८ वर्षपछि ठूलो वर्षा   



छ जनाको मृत्यु, ३८५ घरटहरा डुबानमा

मुख्य समाचार |


छ जनाको मृत्यु, ३८५ घरटहरा डुबानमा


चाँदनी हमाल

काठमाडौँ, भदौ २२ गते । मनसुन फेरि सक्रिय हुँदा आइतबार राति काठमाडौँ उपत्यकामा १८ वर्षपछि अति ठूलो वर्षा भएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्षा मापन स्टेसनमा रेकर्ड भएअनुसार राति १२१.५ मिलिमिटर वर्षा भएको हो ।
१८ वर्षअघि सन् २००२ जुलाई २३ मा काठमाडौँमा १७७ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि सन् १९८७ मा १२४.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागस्थित जलवायु विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।
पछिल्ला वर्षहरूमा बढीमा ११५ मिलिमिटरसम्मको भारी वर्षा काठमाडौँमा रेकर्ड भएको पाइएको छ । काठमाडौँमा मनसुनी वायुको प्रभावसँगै स्थानीय वायुको चाप पनि बढेपछि ठूलो वर्षा भएको मौसमविद् कँडेल सुनाउनुहुन्छ । उहाँले दिनभर चर्को घाम लाग्दा जमिन तातिएपछि बनेको स्थानीय बादल मनसुनी वायुमा मिसिन पुगेको जानकारी दिनुभयो ।
आइतबार राति बागमती र गण्डकी प्रदेशका धेरै जिल्लामा भारी वर्षा भएको छ । त्यसअनुसार सिन्धुलीको हरिहरपुरमा १३४ मिलिमिटर, बाँकेमा १३३ मिलिमिटर, भक्तपुरको नगरकोटमा १२२ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा ११४.४ मिलिमिटर र प्युठानको स्याउलीमा १११.८ र चितवनको चरतरेमा १०९.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
उत्तरपश्चिमी बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै दुई दिन नेपालमा मनसुन सक्रिय हुने भएको छ । मङ्गलबार रातिसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मौसमविद् नीराजन सापकोटाले बुधबार दिउँसोबाट मौसममा हल्का सुधार आउने सम्भावना रहेको बताउनुभयो । थोरै स्थानमा भारी वर्षा हुने प्रवृत्ति बढ्दा काठमाडौँलगायतका केही स्थानमा आइतबार राति सोचेभन्दा ठूलो वर्षा भएको दाबी उहाँले पनि गर्नुभयो ।
आइतबार मध्यरातमै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशीलसिंह राठौरले दिनुभएको जानकारीअनुसार ठूलो वर्षाको चपेटामा परेर काठमाडौँ उपत्यकाका ३८५ घरटहरा डुबेका छन् ।

विभिन्न स्थानीय नदीको वर्षे भेल निदाएका बखत घरभित्रै पसेपछि बिचल्लीमा परेका २४७ जनाको उद्धार गरिएको उहाँले प्रस्ट पार्नुभएको छ ।
बागमती, धोबीखोला, विष्णुमती, कर्मनाशा, हनुमन्ते, मनोहरा, नख्खु, बल्खुलगायतका खोलामा अकस्मात् भेल बढेको हो । बाढी बढ्दा यी खोलाका किनार क्षेत्रमा रहेका काठमाडौँको काँडाघारी, परोपकार क्षेत्र, बल्खु, सुन्दरीघाट, कालोपुल, भक्तपुरको मनोहरा फाँट, कीर्तिपुर, नदी छेउका सुकुम्बासी बस्ती, ललितपुरको सानेपालगायतका क्षेत्र डुबानमा परेको हो ।
उद्धारका क्रममा काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको हो । नदी तटीय क्षेत्र आसपासका बस्तीमा पानी पसेर जलमग्न भएपछि स्थानीयवासी रातभर जाग्राम बस्नु परेको थियो ।
बागमतीमा आएको बाढीका कारण गोकर्णेश्वर महादेव मन्दिर, उत्तर गया क्षेत्र पनि डुबानमा परेको थियो । पशुपति क्षेत्रको गुह्येश्वरी, गौरीघाट पनि डुबानमा
परेको थियो ।
बौद्ध, जोरपाटी, कपन क्षेत्रका बस्ती, तरकारी बजारलगायतका व्यापारिक होटल, पसल डुबानमा परेको प्रहरी कार्यालयले जनाएको छ ।
गोँगबु बसपार्क क्षेत्र, विष्णुमती नदी तटीय क्षेत्र, लोलाङ, तारकेश्वरका केही क्षेत्र, कालीमाटी क्षेत्रलगायतका स्थानका घरसम्म भेलबाढी पुगेको थियो ।
अव्यवस्थित सहरीकरण, अवैज्ञानिक ढल व्यवस्थापन, नदी क्षेत्र अतिक्रमण गरी बस्ती विस्तार र वर्षाको पानी सोस्ने जमिनको कमीका कारण यसरी काठमाडौँ उपत्यका डुबानमा परेको वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठ बताउनुहुन्छ ।

छ जनाको मृत्यु
अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी सोमबार देशका विभिन्न स्थानमा छ जनाको मृत्यु भएको छ । पहिरोले रोल्पामा दुई जना र जाजरकोटमा एक जना, बाढीले मकवानपुरमा दुई जना र प्युठानमा अविरल वर्षाको चपेटामा परेर एक जना गरी
छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोमा परेर अन्य चारजना घाइते भएका छन् । मनसुन सुरु भएयता हालसम्म बाढीपहिरोका कारण १२९ जनाको मृत्यु भएको छ । त्यस्तै ४४ जना बेपत्ता हुनुका साथै १२७ जना घाइते भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?