logo
२०८१ मंसिर ८ शनिवार



बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो

मुख्य समाचार |


बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो


चाँदनी हमाल

काठमाडौँ, कात्तिक ४ गते । आइतबारदेखि परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । मनसुनपछिको वर्षाले बाढीपहिरोमा परी आइतबारयता मात्र ७७ जनाको मृत्यु भएको छ । विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । यो जनधनको क्षति मनसुनको सम्पूर्ण अवधिमा भएको भन्दा बढी रहेको गृहमन्त्रालयस्थित विपत् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार बाढीपहिरोमा परी २७ जना अझै बेपत्ता रहेका छन् भने २२ जना घाइते छन् । महाशाखाका अनुसार बुधबार साँझसम्म सबैभन्दा बढी पहिरोले मानिसको ज्यान लिएको छ । जसअनुसार पाँचथरमा पहिरोमा परी २४ जनाको मृत्यु भएको छ । त्यसपछि इलाममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । डोटीमा १२ जनाको पनि पहिरोले ज्यान लिएको पाण्डेले जानकारी दिनुभयो । त्यस्तै पहिरोबाट कालीकोटमा एक, बैतडीमा चार, डडेल्धुरमा एक, बझाङमा दुुई, हुम्लामा छ, सोलुखुम्बुमा एक र धनकुटामा सात जनाको मृत्यु भएको छ ।

त्यसैगरी बाढीले बगाएर प्युठानमा एक, मोरङमा एक र उदयपुरमा दुुई जनाको मृत्यु भएको छ । बझाङको भेल पहिरोमा परेर अझै २१ जना हराइरहेका छन् । त्यस्तै इलामको पहिरोमा तीन, जुम्ला र प्युठानको बाढीमा तीन जना हराइरहेका छन् । पछिल्लो विवरणअनुसार आइतबार यता प्रदेश १ मा मात्र बाढीपहिरोले ५० जनाको ज्यान लिएको छ । यसअघि मनसुनको अवधिमा बाढीपहिरोले १२६ जनाको ज्यान लिएको थियो । बाढीपहिरोका कारण देशका विभिन्न ११ जिल्लाका प्रमुख तथा सहायक राजमार्ग अवरुद्ध भएका छन् । केहीमा एकतर्फी सञ्चालनको प्रयास भएको छ ।

तीनवटा मौसम प्रणाली जुद्धा नेपालमा मनसुनपछि अत्यधिक भारी वर्षा गराएको मौसमविद्हरूले बताएका छन् । शनिबार रातिदेखि सक्रिय भएको वर्षाको मौसमी प्रणाली बिहीबारदेखि सुधारोन्मुखतर्फ अग्रसर हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार सुदूूरपश्चिम तथा पश्चिमी भेगमा वर्षा हुने क्रम रोकिएको छ । पूर्वतर्फ पनि बुधबार साँझदेखि कम हुँदै गएको छ । उहाँले बिहीबारदेखि हल्का रूपमा कतैकतै वर्षा भए पनि भारी वर्षाको सम्भावना कम रहेको जानकारी दिनुभयो ।

तर बुधबारसम्मको अविरल वर्षाले पूर्वी तराईका धेरै भेगमा डुबान, बाढी तथा पहिरोको जोखिम भने टरिनसकेको उहाँले बताउनुभयो । उहाँले अबको चार÷पाँच दिन वर्षा गराउने प्रणाली नरहेको समेत स्पष्ट पार्नुुुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?