logo
२०८१ बैशाख ५ बुधवार

   ‘गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती  



लौरो र गलबन्दी नछुुटोस्

मुख्य समाचार |


लौरो र गलबन्दी नछुुटोस्


प्रकृति अधिकारी

काठमाडौँ, कात्तिक २४ गते । “अब त फोटो नहेरिकनै गणेशमानजीको दुरुस्त सालिक बनाउन सक्छु,” लौहपुरुष गणेशमान सिंहको २० वटा सालिक बनाइसक्नुभएका महेश तुलाधरले भन्नुभयो, “उहाँको मुहार कण्ठ भइसक्यो ।”
२०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती बुधबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुहुँदा उहाँले अस्वीकार गर्नुभएको थियो । सिंहको जन्मजयन्ती मनाउने क्रममा उहाँको सालिक बनाउने कार्यमा क्रियाशील रहनुुभएका कलाकार तुुलाधरसँग संवाद गरिएको हो ।

कलाकार तुलाधरको पुस्तैनी पेसा हो । उहाँका बाजे रत्नबहादुरले सिंहदरबारको बार्दलीमा ठडिएको सिंह, भद्रकालीस्थित सैनिक अस्पतालमा ठडिएको सैनिकको सालिकलगायत तयार गर्नुभएको थियो भने उहाँका पिता बालकृष्णले शहीदगेटमा राखिएका पाँचवटा सालिक, जावलाखेलमा रहेको तत्कालीन राजा वीरेन्द्रको सालिकलगायत निर्माण गर्नुभएको हो ।
गणेशमानको सालिक निर्माण गर्न सुरुमा ‘अर्डर’ पाउँदा कलाकार महेश तुलाधरलाई सालिक तयार गर्न निकै गाह्रो भयो । सुरुमा बनेको सालिक हुबहु मिलेपछि माग बढ्न थाल्यो । पहिले वर्षको गणेशमानको एउटा सालिक निर्माण गर्नुहुने उहाँ अहिले एकै पटक पाँचवटा सालिक तयारीमा जुट्नु भएको छ ।

उहाँले थप्नुभयो, “मुहार फरक नपरोस् भन्नका लागि कुनै कुनै बेला फोटो हेर्छु, तर पहिलेजस्तो गणेशमानको फोटो राखेर सालिक बनाउनुपर्ने अवस्था छैन, भादगाउँले टोपी, नाक, दाहिनेतर्फको निधारमा कोठी, देब्रो आँखामुनिको कोठी, चिउँडो, गाला सबै कण्ठ भइसकेको छ ।”
मैन तयार गरिसकेपछि ‘अर्डर’ दिने व्यक्ति वा संस्थालाई बोलाएर मिले नमिलेको हेर्न भन्ने गरेको र उनीहरूले ठीक छ भनेपछि मात्र त्यसपछिका काम आफूले थाल्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “अब त हेर्न आउनू भन्दा तपाईंले बनाएको हेर्नै पर्दैन भन्छन् ।”
उहाँले तयार गरेका गणेशमानको पूर्ण कदका सालिक भक्तपुरको कटुन्जे, जावलाखेल, नेपालगञ्ज र बर्दियाको गुलरियामा राखिएका छन् । गुलरियाको सालिक बुधबार अनावरण गर्ने कार्यक्रम छ । कटुन्जेमा १२ फिटको सालिक छ भने अन्यत्र छ फिटको सालिक राखिएका छन् ।
यस्तै, तनहुँ, सिरहा, धरान, विराटनगर, बुटवल, भैरहवा, वीरगञ्ज, पोखरा, कीर्तिपुर (पाँगा), स्याङ्जा र ज्ञानेश्वरस्थित नेपाली काँग्रेस पार्टी कार्यालयभित्र गणेशमानका अर्धकदका सालिक छन् । उहाँले पाँचवटा सालिक तयार गरिरहनुभएको छ । “ती सालिक निर्माण गर्न अर्डर आएको छ तर कहाँ राखिने हुन् भन्ने बारेमा जानकार छैन,” कलाकार तुलाधरले भन्नुभयो ।

उहाँका अनुसार अर्धकदको सालिक निर्माण गर्दा दुईदेखि पाँच लाख रुपियाँसम्म र पूर्ण कदको सालिक निर्माण गर्दा नौदेखि १५ लाख रुपियाँसम्म लाग्ने गर्दछ । सालिकको आकारमा भर पर्ने भएकाले मूल्य फरक पर्ने उहाँको भनाइ छ । अर्धकदको सालिक तयार गर्न तीनदेखि चार महिना लाग्छ भने पूर्णकदको सालिक तयार गर्न चारदेखि पाँच महिना लाग्ने गर्छ । पित्तलको सालिक भएकाले दीर्घकालसम्म सुरक्षित रहन्छ ।
सालिक तयार गर्न ‘अर्डर’ दिनेहरूले गलबन्दी नछुटाउन् भन्ने गरेको सुनाउँदै उहाँले भन्नुभयो, “पूर्णकदको सालिक बनाउन अर्डर दिएकाहरूले लौरो टेकेको नै चाहिन्छ भन्ने गर्नुभएको छ । ” गणेशमानलाई सभाहरूमा भाषण गर्दा मात्र देखेको तर बोल्न नपाएको बताउँदै उहाँले गणेशमानको निधन हुँदा हातमा सानो पोस्टर बोकेर आर्यघाटसम्म पुगेको स्मरण गर्नुभयो ।

कलाकार तुलाधरले तयार गर्नुभएको चार शहीदको पूर्णकदको सालिक उहाँहरूलाई मारिएको स्थानमा राखिएका छन् । त्यस्तै, उहाँले तयार गर्नुभएका शङ्खधर साख्वा, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, पद्मरत्न तुलाधर, रामेश्वर ढुङ्गेल, मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, लक्ष्मीप्रसाद देवकोटालगायतका सालिक चौबाटो तथा उद्यानमा शोभायमान छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?