logo
२०८१ बैशाख ८ शनिवार

   राष्ट्रिय जनगणना २०७८   



अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशंसा

मुख्य समाचार |


अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशंसा


प्रकृति अधिकारी

काठमाडौँ, मङ्सिर २० गते । महामारीका कारण धेरै मुलुकले जनगणना गर्ने आँट अझै जुटाउन सकेका छैनन् । बरु महामारीबीच जनगणना सम्पन्न गरेकामा कतिपय मुलुकले नेपालको प्रशंसा गरेका छन् ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले भन्नुभयो, “बन्दाबन्दीका कारण स्थगित गरिएको ठीक पाँच महिनापछि जनगणना कार्य सम्पन्न गरेका छौँ । बन्दाबन्दी नभएको भए त्यसै बेला सकिसक्थ्यौँ । महामारीको कहर कायम रहेकै बेला जनगणना सम्पन्न गरेकोमा विदेशीहरूले पनि प्रसंशा गरेका छन् ।”

विश्वका अधिकांश मुलुकले हरेक १० वर्षमा जनगणना गर्दै आएका छन् भने केही मुलुकले मात्रै प्रत्येक पाँच वर्षमा जनगणना गर्ने गरेका छन् । प्रत्येक १० वर्षमा गणना गर्ने मुलुकले दशकको सुरुवात वा अन्तिम वर्षमा गणना गर्ने गरेका छन् । त्यसअनुसार सन् २०२० र २०२१ मा जनगणना गर्नुपर्ने धेरैजसो मुलुकले २०२२ मा गर्नेगरी कार्यतालिका सारेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) का अनुसार अल्बानिया, अन्टिगुवा र बरमुडा, बोत्सवाना, कङ्गो, बेलिज, जर्मनी, आयरल्यान्ड, जमैका, माल्दिभ्स, पनामा, दक्षिणी सुडान, अङ्गुइला लगायतका थुप्रै मुलुकले आगामी वर्ष सन् २०२२ मा जनगणना गर्ने भनेका छन् । तालिकाअनुसार तीमध्ये प्रायः मुलुकले गत वर्ष सन् २०२० मा जनगणना सम्पन्न गरिसक्नुपथ्र्याे । कोभिड–१९ र त्यसपछिका लहरका कारण गिनी–बिसाउ, थाइल्यान्ड, युक्रेनलगायतका मुलुकले सन् २०२३ मा जनगणना गर्नेगरी तालिका सारेका छन् । यीमध्येको थाइल्यान्डले गत वर्ष नै जनगणना सक्नुपथ्र्याे ।

सन् २०२१ मा जनगणना गर्ने भनी धेरैजसो मुलुकले कार्यतालिकालाई सारेका थिए । तर तिनले हालसम्म जनगणना गर्न सकेका छैनन् । महामारीबीच चीन र अमेरिकाले जनगणना कार्यलाई रोकेनन् । अमेरिकाले गत वर्ष इमेलबाट प्रश्नावली पठाएको र निर्धारित समयभित्र जवाफ नआएपछि गणकलाई घरसम्मै पठाएर जनगणना गरेको थियो । भारतले गत वर्ष घरधुरी सर्वेक्षण गरेर बीचैमा छोडेको थियो र उसले सन् २०२२ मा जनगणना गर्ने तयारी गरिरहेको छ ।

नेपालमा हालै सम्पन्न राष्ट्रिय जनगणनाको अन्तर्राष्ट्रिय पर्यवेक्षक समूहले पनि पर्यवेक्षण गरेको थियो । उपमहानिर्देशक हेमराज रेग्मीले यस्तो बेला गरिएको जनगणनाको सफल अभ्यासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रचार गर्न आफूहरू तयार रहेको बताउनुभयो ।
उहाँका अनुसार सुपरीवेक्षकका परिवारलाई कोरोना भाइरस सङ्क्रमण देखिएको र त्यस्तालाई जिम्मेवारीबाट हटाइएको भए पनि गणकमा समस्या देखिएन । सबै गणकले खोप लगाएकाले पनि समस्या नदेखिएको हुनसक्ने भनाइ विभागका पदाधिकारीको छ ।

उपमहानिर्देशक डा. रेग्मीले गणकहरू पटक पटक जाँदा घरमा मानिस फेला नपरेको अवस्थामा मात्र व्यक्ति छुटेको हुनसक्ने बताउँदै थप्नुभयो, “कुनै घरपरिवार छुट्नसक्छ । फेला नै नपर्दा छुटेको हुनसक्छ । तर यस्तो अवस्था एकदमै न्यून हुन्छ ।” राष्ट्रिय जनगणना गत कात्तिक २५ देखि यही मङ्सिर ९ गतेसम्म गरिएको थियो । वडास्तरमा महिला र पुरुषको जनसङ्ख्या तथा घरपरिवार सङ्ख्याको नतिजा आगामी दुई महिनामा आइसक्ने एवं सम्पूर्ण तथ्याङ्क सार्वजनिक हुन छ महिना लाग्नसक्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?