logo
२०८१ बैशाख १२ बुधवार



छोपियो सक्कली, नक्कलीकै भर

मुख्य समाचार |


छोपियो सक्कली, नक्कलीकै भर


प्रकृति अधिकारी

काठमाडौँ, पुस ३ गते । किनिएको नयाँ मुढामा पैसासहित किला ठोक्दा दाँतको दुःखाइ निको हुने विश्वास अझै घटेको छैन । त्यस्तो प्राचीन मुढालाई अहिले सिसामा छोपेर राखिएका कारण अब त्यसमा किला ठोक्न पाइँदैन ।
प्राचीन मुढामा नपाइने भए पनि पुरानो मुढासँगै नयाँ मुढा राखिएको छ । त्यही नयाँमा किला ठोके पनि बाङ्गेमुढामै ठोकेको विश्वास गर्दै दाँत दुखाइको पीडा भुल्ने विश्वास गर्छन् ।

बाङ्गेमुढामा रहेको वास्या द्यो (दाँतको देवता)का रूपमा रहेको मुढामा किला ठोकेपछि दाँतको दुःखाइ चट् हुन्छ भन्ने विश्वास रहँदै आएको छ । मुढामा ठोकिएका सिक्का नै चोरी हुन थालेपछि त्यसलाई सिसाले ढाकिएको हो । किला ठोक्न आउनेको सुविधाका लागि स्थानीयले नयाँ खम्बा किनेर गाडिदिएका छन् र केही समययता त्यसैमा किला ठोक्ने गरिएको छ । सो खम्बा कुनै तान्त्रिक विधिबाट भने राखिएको छैन ।

वास्या द्योमा जोडिएको खाजा पसलकी सञ्चालक शान्ति श्रेष्ठले भन्नुभयो, “नयाँ खम्बामा किला ठोक्नुपर्ने भए पनि दाँतको पीडाबाट हैरान भएका दुःखाइबाट मुक्ति पाइने विश्वासमा दैनिक आइरहन्छन् । ” सो मुढामा फलामे किला ठोक्ने चलन रहेकोमा केही दशकअघिदेखि सिक्कासहित किला ठोक्ने चलन चल्तीमा छ ।

कतिपयले पाला (सलिचा)मा चामल, सुपारी, सिक्का राखेर चढाउने गर्छन् । लामो समयदेखि दाँत दुःखाइको समस्या भोग्दै आउनुभएका भक्तपुर ठिमीकी हीरा महर्जनले विश्वासका आधारमा किला ठोक्न आएको बताउँदै थप्नुभयो, “बाङ्गेमुढामा किला ठोके दाँत दुःख्न छोड्छ भनेर छिमेकीले सुनाए । त्यसैले यहाँ आएकी हुँ । यहाँको जुनसुकै काठमा ठोके पनि नदुख्ने नै होला भन्ने लाग्छ । ”

किला ठोक्ने सो काठ काष्ठमण्डप बनाउँदा बचेको किम्बदन्ती छ । स्थानीय सरोज दिवाकरले सो काठको टुप्पा भोटाहिटीसम्म थियो भनेर आफूहरूले सानामा सुनेको बताउनुभयो । केही वर्षअघिसम्म त्यहाँका घरका भित्तामा काठको अवशेष देख्न पाइन्थ्यो । नयाँ घर निर्माण भएपछि ती अवशेष अब देख्न पाइँदैन । किला ठोक्ने गरिएको काठको पूर्वतर्फको टहरोको भित्तामा अवशेष देख्नसम्म पाइन्छ ।

दाँतको समस्या हुनेहरू बाङ्गेमुढामा आउने भएकाले त्यहाँ वरपर दाँत उपचार क्लिनिक प्रशस्त खुलेका छन् । बाङ्गेमुढामा रहेको बिके डेन्टलका सञ्चालक किरणकुमार श्रेष्ठ (राज)ले केही समयअघि अमेरिकामा रहेका एक युवकको उपचार हुन नसकेपछि निजका अभिभावकले उनका नाममा किला ठोक्न आएको घटना सुनाउँदै भन्नुभयो, “उनीहरूसँग पूजा सामग्री थिएन ।

मैले नै किला, पैसा र ह्याम्मर दिएको थिए । ” उहाँले पहिले किला ठोक्न आउनेले सिक्का चढाउने गर्थे तर स्थानीय बालकले चढाउनुअघि नै सिक्का चोरिदिने भएकाले तीन दशकअघि एक जनाले सो चोरीबाट जोगाउन सिक्कालाई किलाले ठोकेपछि र अरूले पनि ठोक्ने होला भनेर देखासिकीमै सिक्का ठोक्ने चलन चलेको सुनाउनुभयो ।

चिकमुगलमा पनि दाँत दुःख्दा ठोक्ने मुढा छ । बाङ्गेमुढामा रहेको सो काठलाई पुरुष र चिकमुगलमा रहेको काठलाई स्त्री भन्ने परम्परा छ । चिकमुगलमा रहेको काठको काण्ड सत्तलको भुइँ बनेको छ । किला ठोक्ने गरिएको मुढासँगको राजश्यामजी फर्माका सञ्चालक पाइलट थापाले भन्नुभयो, “पैसा ठोक्ने ठाउँ बाँकी नभएकाले दाँत दुःखेकाहरू पालामा चामल, पैसा र फूल राखेर मुढाको सिरानमा छाडेर जान्छन् । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?