logo
२०८१ मंसिर ८ शनिवार



पढ्न पाइने भयो मदन भण्डारीका चिठीपत्र

मुख्य समाचार |


पढ्न पाइने भयो मदन भण्डारीका चिठीपत्र


प्रकृति अधिकारी

काठमाडौँ, पुस ६ गते । स्वर्गीय मदन भण्डारीका भूमिगतकालीन हस्तलिखित दस्तावेज सहजै अध्ययन गर्न पाइने भएको छ । राष्ट्रिय अभिलेखालय र मदन भण्डारी स्मृति प्रतिष्ठानको वेबसाइटमा ती दस्तावेज राखिँदै छन् । यही पुस १० देखि ती सामग्री वेबसाइटमा हेर्न पाइनेछ ।

प्रतिष्ठानका अध्यक्ष गुरु बरालले भन्नुभयो, “पार्टी, राज्य, समाज र आन्दोलनको लोकतन्त्रीकरण गर्न पार्टीभित्र भएका राजनीतिक तथा वैचारिक बहसको सिलसिलेवार पक्षलाई उत्खनन गर्न प्रामाणिक दस्तावेज सार्वजनिक गर्न खोजेका हौँ । कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रीकरण गर्न त्यो बेलाका पेचिला राजनीतिक बहस कस्ता थिए भन्ने अध्ययन गर्न यी दस्तावेजले सहयोग पु-याउनेछ ।”

प्रतिष्ठानले करिब १० वर्ष लगाएर स्वर्गीय भण्डारीसँग जोडिएका दस्तावेज सङ्कलन गरेको उहाँले जनाउनुभयो । भण्डारीका निजी सामग्री नक्सालस्थित डेरा र परिवारबाट प्राप्त गरिएको थियो भने भण्डारीका पत्र सम्बन्धित व्यक्तिसँग मागिएका थिए । अभिलेखालयको सहकार्यमा तीन वर्षदेखि ती सामग्री डिजिटाइजेसन गरिँदै आएको छ ।

वेबसाइटमा भण्डारीले भूमिगतकालमा सुरक्षित राखेका पार्टीका चिठीपत्र, विधान, अन्तरपार्टी निर्देशन, अत्यन्त गोप्य निर्देशन, नेतृत्व वर्गले गरेको आलोचना वा आत्मालोचना, पार्टीले सोधेका स्पष्टीकरण र गरेको कारबाही, बयानसँग सम्बन्धित हस्तलिखित कागजात राखिनेछ । तत्कालीन नेकपा (माले)को चौथो र पाँचौँ महाधिवेशनका दस्तावेज, वैचारिक लेख, वक्तव्य, अपिल, पार्टीका माइन्युट, दासढुङ्गा घटनापछि छापा माध्यममा प्रकाशित समाचार पनि समावेश गरिनेछन् । कोअर्डिनेसन केन्द्रदेखि नेकपा (एमाले)सम्मका दस्तावेज वेबसाइटमा हेर्न पाइनेछ । वेबसाइटमा राखिने ती दस्तावेज तत्काल पढ्नमात्र सकिनेछ तर डाउनलोड गर्न मिल्दैन ।

प्रतिष्ठानका तर्फबाट डिजिटाइजेसन गर्ने समूहको नेतृत्व गर्नुभएका जयन्ता पोखरेलले चार हजार थान कागजात सङ्कलन भई डिजिटाइजेसन भइरहेको बताउँदै भन्नुभयो, “एक तिहाइ दस्तावेज पहिलो चरणमा सार्वजनिक गरिनेछ । केही महिनालगत्तै सबै सार्वजनिक गरिनेछ ।”

स्वर्गीय भण्डारीले भूमिगतकालमा शार्दूल, श्वेत शार्दूल, सागर, सङ्ग्रामसिंह, लोकेश, बीबीआर, राजमोती, बर्बरिक, भीम अधिकारीलगायत उपनामबाट पत्र लेख्ने गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष बरालले स्वर्गीय भण्डारीसँग सम्बन्धित अन्य दस्तावेजको पनि खोजी जारी रहेको बताउँदै हालसम्मका सङ्कलित सबै कागजात अब राष्ट्रिय अभिलेखालयमै सुरक्षित राखिने बताउनुभयो ।

निश्चित तापक्रमका साथै सुरक्षा घेराभित्र राखिने भएकाले अभिलेखालयमा वर्षाैंसम्म लिखित दस्तावेजलाई सुरक्षित राख्न सकिन्छ । अभिलेखालयका सूचना अधिकारी कुमार श्रेष्ठले ग्याजेटबाट अध्ययन गर्न सकिने ती सामग्रीलाई प्रिन्ट वा ईकपी उपलब्ध गराउने विषयमा अझै निर्णय भइनसकेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?