logo
२०८१ मंसिर ७ शुक्रवार



सुरुङ मार्गप्रति आकर्षण बढ्दो

थप पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ ।

मुख्य समाचार |


सुरुङ मार्गप्रति आकर्षण बढ्दो


भउचप्रसाद यादव
काठमाडौँ, पुस २६ गते । काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुरको ताथली–सिन्धुपाल्चोकको रविओपी सडकमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो । सडक विभागले ती सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र मागेको छ ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात झाका अनुसार प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि ५०÷५० लाख रुपियाँ खर्च गरिनेछ । अबको तीन महिनाभित्र कम्पनी छनोट गरिने र छनोट कम्पनीले चार महिनाभित्र सम्भाव्यता अध्ययन गरी सडक विभागलाई प्रतिवेदन बुझाउने छन् । त्यसपछि विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढाइनेछ ।

‘ईपीसी’ मोडलमा निर्माण

सुरुङ मार्गको निर्माण इन्जिनियरिङ खरिद निर्माण (ईपीसी) मोडलमा गरिने निर्देशक झाले बताउनुभयो । यस मोडलअनुसार छनोट भएका कम्पनीले सुरुङ मार्ग निर्माणको ‘सर्भे, डिजाइन र जडान’ आफैँले गर्नुपर्ने हुन्छ । त्यसैगरी सुरुङ मार्ग निर्माण सम्पन्न भएको एक वर्षसम्म गम्भीर त्रुटि देखिए त्यसको नियमित मर्मत सम्भारको पनि जिम्मेवारी निर्माण कम्पनीको नै हुनेछ ।

नागढुङ्गाको अनुभवले सहज
भूगर्भविद् तथा थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका इन्जिनियर नरेशमान शाक्यले उक्त सुरुङ मार्ग निर्माणको अनुभवले नेपालमा सुरुङ मार्ग निर्माण सहज रहेको स्पष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागढुङ्गाको अनुभवले अन्य मुलुकजस्तो हामीकहाँ पनि सहज रूपमा सुरुङ मार्ग निर्माण गर्न सकिन्छ भने कुरा थाहा भयो ।” नेपालको पहाडी क्षेत्रको चट्टान अहिले नरम अवस्थामा रहे पनि सुरुङ निर्माणमा खासै असर नपर्ने बताउँदै उहाँले चट्टान जति कडा भयो सुरुङ निर्माण गर्न त्यति नै सहज हुने स्पष्ट पार्नुभयो । चट्टान नरम भएकै कारण नागढुङ्गा सुरुङ मार्गमा ‘सपोर्ट’का रूपमा स्टिलको करङ (रिब्स) राखेर निर्माण कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल टनेलिङ एसोसिएसनका अध्यक्ष तथा सुरुङविज्ञ डा. ज्ञानेन्द्रलाल श्रेष्ठले नेपालजस्तो भूबनोट भएका मुलुकमा यातायातका लागि सबैभन्दा उपयुक्त मार्ग सुरुङ हुन सक्ने बताउनुभयो । उहाँका अनुसार सुरुङ निर्माण सडकभन्दा महँगो भए पनि सञ्चालन खर्च र जोखिमको दृष्टिकोणले सडकको तुलनामा न्यून छ । पूर्वाधार विज्ञ डा. सूर्यराज अचार्यले पहाडी भूभाग भएको र ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या पहाड तथा हिमालमा बसोबास गर्ने नेपालजस्तो मुलुकमा सुरुङ प्रविधिको विकल्प अरू हुन नसक्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?