logo
२०८१ बैशाख ७ शुक्रवार



राष्ट्रिय पुस्तकालयको समस्या ट-यो

मुख्य समाचार |


राष्ट्रिय पुस्तकालयको समस्या ट-यो


काठमाडौँ, माघ १२ गते । जमलस्थित शिक्षा मन्त्रालयको जग्गामा राष्ट्रिय पुस्तकालय निर्माण हुनेभएको छ । पुस्तकालयले भवन निर्माणका लागि सोमबार बोलपत्र आह्वान गरेको छ । यससँगै जमलको खुला सरकारी जग्गामा आउन लागेको सम्भावित समस्या टरेर राष्ट्रिय पुस्तकालयले मूर्त रूप पाउने भएको छ ।

सो जग्गामा व्यापारिक गिरोहले बहुतले भवन बनाउने र एउटा तलामा पुस्तकालयलाई सीमित गर्ने तथा बाँकीलाई व्यापारिक प्रयोजनमा लगाइने खेल सुरु गरेको थियो । त्यस खेलमा त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीहरूलाई पनि प्रभावमा पारिसकिएको थियो ।

राष्ट्रिय पुस्तकालयका प्रमुख दशरथ मिश्रले तर अब त्यो सम्भव नरहेको बताउनुभयो । हरेक देशमा एउटा राष्ट्रिय पुस्तकालय रहने र सोहीअनुरूप अब जमलमा भव्य तथा अत्याधुनिक पुस्तकालय निर्माण हुने स्पष्ट गर्दै उहाँले भन्नुभयो, “अब कसैले पनि यता आँखा नगाडे हुन्छ । भवनमा पुस्तकालयबाहेक एउटा पसल पनि हुनेछैन ।”

उहाँका अनुसार नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने संरचनासहित साततल्ले भवनको डीपीआर तयार गरिएको छ । सो भवन ७० करोड रुपियाँमा निर्माण गर्ने योजना बनाइएको छ । चालू आर्थिक वर्ष २०७८/७९ मा १० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । आगामी दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सात रोपनी १५ आना तीन पैसा तीन दाम क्षेत्रफल रहेको सो जग्गामा पहिले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय पनि रहेको थियो । हाल जनप्रशासन क्याम्पस सोही जग्गामा छ ।

सो जग्गा शिक्षा मन्त्रालयको रहेकोमा त्रिविलाई प्रयोग गर्न दिइएपछि त्रिविले दाबी गर्दै आएको थियो । मन्त्रिपरिषद्ले सो जग्गामा त्रिविको अधिकार नरहने प्रस्ट गरिदिएपछि त्रिविले दाबी छोडेको थियो । सो जग्गा राष्ट्रिय पुस्तकालयको नाममा नामसारी भइसकेको छ । पुस्तकालय प्रमुख मिश्रले साततले भवन निर्माण हुने र त्यसमध्ये दुई तलामा पार्किङको व्यवस्था हुने बताउनुभयो ।

प्रधानमन्त्री चन्द्रशमशेरका निकट पात्र माहिला गुरु हेमराज शर्माको ढोकाटोलस्थित व्यक्तिगत पुस्तकालयलाई नेपाल सरकारले २०१३ सालमा खरिद गरी सिंहदरबारको तल्लो तलामा सारेको थियो । २०१७ सालमा त्यसलाई ललितपुरको हरिहरभवनमा सारियो । २०७२ सालको भूकम्पपछि त्यहाँका पुस्तकलाई सानोगौचरणस्थित महेन्द्र भवन माध्यमिक विद्यालयमा थन्क्याइएको थियो । गत महिना भक्तपुरको सानोठिमीमा अस्थायी टहरा बनाएर पुस्तकालय सञ्चालनमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?