logo
२०८१ मंसिर ११ मंगलवार



स्वर्गको बगैँचामा व्यवसायीका आँखा

मुख्य समाचार |


स्वर्गको बगैँचामा व्यवसायीका आँखा


काठमाडौँ, माघ १८ गते । आफूले भोगचलन गर्दै आएको खाली जग्गा व्यापारीका हातमा पो पुग्ने हो कि भन्ने चिन्ताले फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालय परिवार तनावमा छ । नेपाल ट्रस्टअन्तर्गतको जग्गामा सञ्चालित सो विद्यालयलाई भोगचलनको जग्गाको भाडा तिर्न वा छाडेर जान ताकेता गरिएको छ । बाँकी रहेको जग्गाचाहिँ आयआर्जन हुने क्षेत्रमा प्रयोग गर्ने भनी ट्रस्टले जनाउ दिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धनारायण मानन्धरले जग्गामा व्यापारीको आँखा परेकै कारण यस्तो ताकेता हुने गरेको दाबी गर्नुभयो । उहाँका अनुसार त्यसका लागि भाडा तिर वा स्थान खाली गरिदेऊ भनेर नेपाल ट्रस्टबाट दुई पटक त पत्र पनि आइसक्यो । ट्रस्टका पदाधिकारी पनि भन्न आइसक्नुभएको छ । बेलाबखतमा फोन पनि आइरहन्छ । उहाँले उल्लेख गर्नुभएको पत्र २०६६ माघ १९ र २०६९ असोज ९ गते लेखिएका हुन् । त्यसयता ट्रस्टबाट मौखिक ताकेता आउने गरेको छ ।

त्रिभुवनद्वारा दान, वीरेन्द्रद्वारा फिर्ता
तत्कालीन राजा त्रिभुवनले नेपाल एकीकरणका योद्धा बहादुर शाहलाई थुनामा राखिएको ‘समर प्यालेस’ त्रिभुवन आदर्श माध्यमिक विद्यालयलाई दान दिनुभएको थियो । गर्मी छल्न राजपरिवार त्यहाँ जाने गरेको सो निजी दरबारलाई ‘स्वर्गको बगैँचा’ नामकरण गरिएको थियो ।

२००८ साल असार २९ गतेको गोरखापत्रमा ‘श्री ५ त्रिभुवनको आदर्श दान’ शीर्षकमा समाचार छापिएको थियो । सोही सालको माघ ४ गते राजा त्रिभुवनले सो विद्यालय उद्घाटन गर्नुभएको थियो । उहाँले कक्षा भवन निर्माणका लागि थप १० हजार रुपियाँ दिनुभएको विद्यालयमा रहेको शिलालेखमा अझै पनि छ ।

करिब ६८ रोपनी जग्गा रहेको विद्यालयका तत्कालीन प्रधानाध्यापक प्रेमबहादुर श्रेष्ठले विद्यार्थीका लागि खेल्ने चौर नभएको गुनासो गरेपछि तत्कालीन राजा महेन्द्रले २०२३ सालमा सो विद्यालयको ठीक सामुन्ने २३ रोपनी १२ आना जग्गा अधिग्रहण गर्न लगाएर विद्यालयलाई प्रदान गर्नुभएको थियो । तर, राजा त्रिभुवनले दानमा दिएको जग्गालाई २०५२ सालमा विद्यालयलाई नै अत्तोपत्तो नदिएर दरबारले राजा वीरेन्द्रको नाममा नामसारी गरेको थियो । राजा त्रिभुवनका निकट पात्र सत्यनारायणबहादुर श्रेष्ठले विद्यालय स्थापना गर्न चाहना राखेपछि राजा त्रिभुवनले सो दरबार दान दिनुभएको थियो । गणतन्त्र स्थापनापछि तत्कालीन राजपरिवारका नाममा रहेका सम्पत्ति नेपाल ट्रस्टअन्तर्गत हुने कानुनी व्यवस्थापछि सो विद्यालयको जग्गा पनि सोही ट्रस्टअन्तर्गत गएको थियो भने विद्यालयअगाडिको चौर अझै विद्यालयकै नाममा छ ।

विद्यालयका पूर्वशिक्षक तथा साबिक फर्पिङ गाउँ विकास समितिका अध्यक्ष शशि शर्माले विद्यालयको जग्गामा धेरैले आँखा गाडेको गुनासो गर्दै भन्नुभयो, “बाजेले दानमा दिएको जग्गामाथि आँखा गाडेकाले राजा वीरेन्द्रलाई पनि राम्रो भएन । अहिले अरूले पनि गाडेका छन् । झुक्याएर वीरेन्द्रको नाममा लगिएको जग्गालाई विद्यालयको नाममा फिर्ता ल्याउनुपर्छ । त्यहाँ विद्यालय भएकाले नेपाल ट्रस्टले खाली जग्गा व्यापारीलाई ठेक्कामा दिएर कमाउन खोज्नु हुँदैन ।”

पद छाड्छु, जग्गा छाड्दिनँ
विद्यालय व्यवस्थापनका अनुसार विद्यालयको खाली जग्गामा दक्षिणकाली नगरपालिकाले पनि आँखा लगाएको छ । स्थानीय घरजग्गा व्यवसायीले विद्यालयको दक्षिणतर्फको जग्गा हुँदै बाटो खोल्न निकै दबाब दिँदै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानन्धरले खाली जग्गामा नगरपालिकाले भवन निर्माण गर्ने र सो कार्यका लागि विरोध नगर्न नगरपालिकाका पदाधिकारीले पटक–पटक भन्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पदाधिकारीले निकै दबाब दिएका छन् । मैले बरु म अध्यक्ष पद छाड्न तयार छु तर मेरो कार्यकालमा कुनै पनि हालतमा स्कुलको सम्पत्ति अरू कसैलाई दिन्नँ भनेर जवाफ दिएँ । नेपाल ट्रस्टले पनि भाडामा लगाए स्कुलको अस्तित्व सकिन्छ ।” विद्यालयका शिक्षक आवासगृहलाई अहिले पनि नगरपालिकाले प्रयोगमा ल्याएको छ तर भाडा तिरेको छैन । कुनै समय निकै अब्बल मानिएको त्रिभुवन आदर्श मावि यति बेला आर्थिक समस्याले गाँजिएको छ । विगतमा सरकारले शिक्षक व्यवस्थापन गर्ने गरेकोमा हाल सबै शिक्षक निजी स्रोतबाट व्यवस्थापन गर्नु परेको छ ।


विद्यालयमा ३९ जना शिक्षक तथा कर्मचारी र ३६० विद्यार्थी छन् । आर्थिक समस्याले कर्मचारी मासिक आठ हजार दुई सय रुपियाँ र शिक्षक तहअनुसार मासिक १० हजार छ सयदेखि १७ हजार दुई सय रुपियाँमा निर्वाह गर्नु परेको छ । बन्दाबन्दीका कारण शुल्क उठ्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक नवीन अमात्यले गत कात्तिकदेखि तलब उपलब्ध गराउन नसकिएको बताउँदै भन्नुभयो, “विद्यालय सञ्चालन गर्न निकै कठिन भइरहेको छ । ट्रस्टलाई भाडा बुझाउन सम्भव छैन ।”

रातो स्टिकरमा विद्यालय
बहादुर शाहको पालादेखिका भवन पनि बाँकी छन् । भूकम्पले पुराना सबै भवनमा क्षति पु-याएको छ र रातो स्टिकर लगाइएको भवनमा अझै अध्यापन गरिन्छ । भवन पुनर्निर्माण गरिदिन विद्यालयले आग्रह गर्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल ट्रस्टअन्तर्गत पर्ने भएकाले आफूहरूले नयाँ भवन निर्माण गर्न नसक्ने स्पष्ट जानकारी दिएको थियो ।

नेपाल ट्रस्ट ऐनमा ट्रस्टको सम्पत्ति विद्यालय, महाविद्यालय, विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्था खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न प्रयोग गर्न सकिने भनी स्पष्ट लेखिएको छ । तर, हालसम्म ट्रस्टले ऐनमा उल्लेख भएको शिक्षा र स्वास्थ्यमा रकम खर्च गरेको छैन । धनकुटास्थित निजामती विद्यालयबाट पनि वार्षिक दुई लाख रुपियाँ भाडा उठाइँदै आएको छ ।

ऐन नै संशोधन गराउनुपर्छ
नेपाल ट्रस्टका सूचना अधिकारी रेवतीरमण शर्माले हालसम्म शिक्षा र स्वास्थ्यका क्षेत्रमा रकम खर्च नगरिएको तथा खर्चका लागि कार्यविधि बनाएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रायका लागि पठाएको तर त्यहाँबाट प्राप्त नभएको बताउनुभयो । “ऐनमै न्यूनतम भाडा उठाउनुपर्छ भन्ने भएकाले विद्यालयले भाडा दिनैपर्छ । नदिनका लागि संसद्बाट ऐन संशोधन गराउनुपर्छ”, उहाँले भन्नुभयो, “विद्यालयको बाँकी जग्गा आयआर्जनमा लगाउने भनी पठाइएको पत्र पहिले पठाइएको होला, त्यसबारेमा बुझ्नुपर्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले रायका लागि कार्यविधिको मस्यौदा आएको तर मौजुदा ऐन नियममा भएको व्यवस्थाभन्दा फरक प्रावधान भएकाले ऐन नियम मिचेर राय दिन नसकिने हुँदा त्यो अगाडि नबढाइएको बताउनुभयो ।
नेपाल ट्रस्टले हाल दरबारमार्गको भवनबाट वार्षिक चार करोड ५० लाख रुपियाँ, गोकर्णबाट वार्षिक करिब तीन करोड ६० लाख रुपियाँ, टेकुको भवनबाट वार्षिक ४० लाख रुपियाँ र लाजिम्पाटबाट वार्षिक एक करोड आठ लाख रुपियाँ आम्दानी गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?