logo
२०८१ बैशाख १४ शुक्रवार



सड्दै केशरमहलका बौद्धिक सम्पत्ति

मुख्य समाचार |


सड्दै केशरमहलका बौद्धिक सम्पत्ति


काठमाडौँ, माघ २० गते । महत्त्वपूर्ण सरकारी कागजातको डङ्गुर तीन वर्षदेखि केशरमहलको ढोकाबाहिर बेवारिसे छ । ती कागजातलाई छोपिएको पाल पनि घामपानीले मक्किइसकेको छ । बोरामा राखिएका कतिपय कागजात पानीले सडेका छन् ।
केशरमहलको पुनर्निर्माण सुरु गर्दा त्यहाँभित्र रहेका कागजात लिएर जान ती सरकारी निकायलाई पटक पटक आग्रह गर्दा कसैले पनि चासो नदेखाएपछि पुनर्निर्माणकर्ताले ती कागजातलाई बोरामा ‘प्याक’ गरी ढोकाबाहिर छेउमा थुपारिदिएका थिए । आफ्ना कागजात लिएर जालान् भन्ने आशा गरिए पनि कसैले वास्ता नगरेको पुनर्निर्माणकर्ताको भनाइ छ ।

पुनर्निर्माणको परामर्शदाता कम्पनी जेएसए–पीडीए–एसडब्लुएन–जेभीका आवासीय इन्जिनियर आकाशकुमार शाहले ती कागजात लिएर जान पटक पटक पत्र लेखेको, बोलाएर पनि आग्रह गरिएको र त्यसपछि पनि धेरै पटक ताकेता गरिएको बताउँदै भन्नुभयो, “यी कागजात काम लाग्छन्, लिएर जान्छौँ त भन्नुभयो तर लिन कहिल्यै आउनुभएन । पुनर्निर्माणको काम ढिला हुने भएपछि स्थान अभावका कारण ढोकाबाहिर ल्याएर राखिदियौँ । अब लिन आउनुहोला जस्तो पनि लाग्दैन ।”

उहाँका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र त्यस मातहतका युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, वैदेशिक अध्ययन अनुमति शाखा, छात्रवृत्ति शाखा र शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयलगायत निकायका कागजात बोरामा चाङ लगाएर थुपारिएको छ । फाइलिङ गरिएका चिठीपत्रका साथै ठूला पुस्तकदेखि विद्यार्थीका प्रमाणपत्र र नतिजासम्मका कागजात पनि डङ्गुरमा छन् । तीन वर्षदेखिको घामपानीले माथिका बोराका कागजात काम नलाग्ने भए पनि तलका चाहिँ काम लाग्न सक्ने अनुमान गरिएको छ ।

शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस मनाउने सन्दर्भमा यतिबेला वि.सं. १९९६ माघ ८ गते जारी नेपालको पहिलो शैक्षिक इस्तिहार खोजी गरिरहेको छ । शिक्षा मन्त्रालयका पूर्वकर्मचारी नारायण झाले लेख्नुभएको पुस्तक नेपालको शैक्षिक दर्पणमा सो इस्तिहार छापिएको छ र उहाँले स्रोतका रूपमा मन्त्रालयको भण्डार शाखामा रहेको इस्तिहार भनी उल्लेख गर्नुभएको छ । शिक्षा मन्त्रालय २०६८ सालमा केशरमहलबाट सिंहदरबारभित्र सरेको थियो । त्यो बेला सबै कागजात सारिएको थिएन । राष्ट्रिय सतर्कता केन्द्रले पनि भवनको दुई तला चर्चिएपछि सिंहदरबारमा स्थान अभावले धेरै कागजात केशरमहलमै छोडेको थियो । २०७२ सालको भूकम्पपछि केशरमहलमा रहेका कागजात झिक्न सम्भव भएन र त्यहीँ थन्किए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले केशरमहलमा निकै पुराना र महìवपूर्ण कागजात अझै बाँकी रहेको तथा ती कागजात सिंहदरबारमा ल्याउने जिम्मेवारी प्रशासन महाशाखाको हुने बताउँदै भन्नुभयो, “भूकम्पका कारण च्यापिएर ती कागजात झिक्न सकिएन । त्यसपछि त्यहीँ थन्किए । थुपारिएको ठाउँबाट छनोट गरेर ल्याउनुपर्नेछ ।” भूकम्पमा परी च्यापिएका कारण केशर पुस्तकालयले पुराना पत्रपत्रिका जोगाउन सकेन । पुस्तकालयले २०७२ सालबाट मात्र राष्ट्रिय दैनिक पत्रपत्रिकालाई बाइन्डिङ गरी सुरक्षित राख्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?