logo
२०८१ बैशाख २२ शनिवार

   पासाङ ल्हामु राजमार्ग   



उल्टो चक्रमा विकासको गति

मुख्य समाचार |


उल्टो चक्रमा विकासको गति


काठमाडौँ, फागुन ४ गते । पूर्वाधार विकासमा प्रगति बढ्दो क्रममा हुन्छ तर सात वर्षदेखि निर्माणाधीन एक आयोजनामा विकासको सूचक उल्टो देखिएको छ । राजधानीसँग जोडिएको एउटा परियोजना नै विकासको उल्टो घडीमा घुम्दैछ । सातौँ पटक म्याद थप गरिए पनि कुल १७.०१ किलोमिटर लम्बाइ रहेको सो सडकको विस्तार कार्य सम्पन्न हुन सकेको छैन । बरु सम्झौता भएको आठ वर्ष बित्न लाग्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको पासाङल्हामु राजमार्गअन्तर्गत बालाजु–त्रिशूली–छहरे–विदुर सडकखण्ड विस्तारमा विकासको उल्टो गति पाइएको छ ।

सो सडकखण्डमा पचास प्रतिशत पुगेको भौतिक प्रगति अहिले चालीस प्रतिशतमा झरेको छ । बालाजु–त्रिशूली–छहरे विदुर सडक विस्तार योजनाका प्रमुख गौतम श्रेष्ठका अनुसार लामो समयसम्म काम नहुँदा यसअघि तयार भएका संरचना पनि भत्किँदै बिग्रिँदै जाँदा भौतिक प्रगति घटेको हो । सो सडक विस्तारका लागि दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग नेपालको शैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी)सँग २०७१ जेठ ५ गते नै ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता रकम ३१ करोड चार लाख ६४ हजार रुपियाँ रहेकामा अहिले सो रकम ३४ करोड ९४ लाख रुपियाँ पुगेको छ ।

उहाँका अनुसार यस वर्षको असारदेखि यस सडकमा निर्माण कम्पनी देखिएका छैनन् । अहिले ‘सिङ्गल लेन’ रहेको सो सडकखण्डलाई ‘डबल लेन’ मा विस्तार गर्न ठेक्का सम्झौता भएको हो । सो सडकखण्ड विस्तारका लागि सातौँ पटक म्याद थप गरिए पनि निर्माण कार्य आधा पनि सम्पन्न हुनसकेको छैन । पछिल्लो पटक यसै वर्षको चैत मसान्तसम्मका लागि म्याद थप गरेको हो । उहाँले भन्नुभयो, “यसअघि निर्माण कम्पनीले बनाएका पर्खाल, नाली र कालोपत्रेसमेत भत्किइसकेका छन् । निर्माण गरिएका संरचनासमेत गुणस्तरहीन भएकाले वर्षदिन नबित्दै भत्केका हुन्, जसका कारण यस सडक योजनाको भौतिक प्रगति दिनका दिन उल्टो गतिमा बढिरहेको छ ।’’

आयोजना प्रमुख श्रेष्ठले पटक–पटक म्याद थप गरिए पनि निर्माण व्यवसायीले अझै पनि काम सुरु गर्न नसकेको बताउनुभयो । ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत ढिलाइ गरेकाले सरकारले कम्पनीलाई जरिवाना गरिसकेको छ । कम्पनीलाई अहिलेसम्म तीन करोड ६५ लाख रुपियाँ जरिवानासमेत गरिएको छ । उहाँले निर्माण कम्पनीसँग सम्झौता तोड्न योजनाले आवश्यक तयारी सुरु गरिसकेको र छिट्टै प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।

नुवाकोटका प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले निर्माण कम्पनीको चरम लापरबाही र सम्बन्धित निकायको निकम्मापनका कारण यो सडकखण्डको विस्तार कार्य सम्पन्न हुन नसकेको बताउनुभयो । निर्माण कम्पनीले राजनीतिक पहुँचको आडमा कसैलाई नटेरेको र काम नगरे पनि उसमाथि कारबाही हुनुको सट्टा विभिन्न बहानामा पटकपटक म्याद थप्दै गएको उहाँले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका, वातावरण विभागका प्रमुख सरिता राईले बालाजु–त्रिशूली–छहरे विदुर सडकखण्ड निर्माण कार्य सम्पन्न नहुँदा वर्षाको समयमा हिलो तथा सडक भत्किँदा लामो समयदेखि बन्चरेडाँडामा काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या हुने गरेको बताउनुभयो । जेठसम्म सो सडक निर्माण हुन नसकेमा यो वर्ष वर्षायाममा फोहोर व्यवस्थापनमा ठूलो चुनौती खडा हुनसक्ने उहाँले चेतावनीसमेत दिनुभयो । सो सडक निर्माणको माग गर्दै स्थानीयवासीले संयुक्त सङ्घर्ष समिति गठन गरी सो सडकखण्डको मुड्खु भञ्ज्याङदेखि तीनपिप्ले खण्डमा फागुन १ गतेदेखि सडक अवरुद्ध गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?