logo
२०८१ बैशाख २२ शनिवार



प्रबल बन्यो सिंहदरबार

आठ रेक्टरसम्मको भूकम्प थेग्ने क्षमता

मुख्य समाचार |


प्रबल बन्यो सिंहदरबार


काठमाडौँ, फागुन १९ गते । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको अग्रभाग (पश्चिमी मोहडा) प्रबलीकरणको काम पूरा भएको छ । यो प्रबलीकरणसँगै उक्त भवन आठ रेक्टरसम्मको भूकम्प थेग्ने क्षमताको भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)का आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)कोे प्रबलीकरण सकिएर ‘फिनिसिङ’ कार्य भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार चैतभित्र भवनको सबै काम सम्पन्न हुने तथा त्यसपछि उद्घाटन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ । ११९ वर्ष पुरानो सिंहदरबारको मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा भइरहेकोमा पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग)को काम सम्पन्न भई सरकारलाई हस्तान्तरण भइसकेको छ । अहिले सो भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छ ।

अन्य मोहडाको तुलनामा पश्चिमी मोहडाको निर्माण जटिल प्रकृतिको रहेको बताउँदै आयोजना उपनिर्देशक विश्वकर्माले यस मोहडामा बहुमूल्य वस्तु र आकृति रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्तअनुसार विशेष सावधानी अपनाउँदै प्रबलीकरण गरिएको स्पष्ट पार्नुभयो । भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै किसिमले चुना र सुर्खी (आरसीसी) प्रविधिमा आधारित भएर प्रबलीकरण गरिएको छ ।

भवन संरचनालाई बलियो बनाउन स्टिल ज्याकेटिङको र पुराताìिवक कलाकृति, स्मारकलाई जोगाउन कार्बन फाइबर प्रयोग गरिएको छ । उहाँका अनुसार, विशेष गरी सिसा, चुना, काठ र फलामको प्रयोग गरी निर्माण गरिएको पश्चिमी मोहडाको प्रबलीकरण तत्कालीन शैलीमा गरिएको छ । ऐतिहासिक कलाकृतिसमेत रहेको यस मोहडाको प्रबलीकरणको क्रममा पुराताìिवक सम्पदाको संरक्षण गरेझैँ संरक्षण गर्नुपरेको उहाँले बताउनुभयो । प्रबलीकरणको काम सम्पन्न भई अहिले रङरोगनको काम भइरहेको छ ।

पश्चिमी मोहडा क्षेत्रमा नयाँ फाउन्टेन म्युजिक प्रविधि जडान गर्नुका साथै सौन्दर्यीकरण गरिनेछ । त्यसैगरी अहिले सूचना प्रविधिसँग सम्बन्धित, बिजुली तथा पानी, आधुनिक फर्निचर, आन्तरिक सजावट, सुरक्षासँग सम्बन्धित उपकरण, अग्नि शमन उपकरण जडान, बगैँचा निर्माणलगायतका कार्यहरू भइरहेको उहाँले बताउनुभयो ।शर्मा/गौरी पार्वती/न्यू टेक्निकल (संयुक्त)ले ४१ करोड रुपियाँको लागतमा प्रबलीकरण गरिरहेको छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्मित सिंहदरबारको पश्चिमी खण्ड २०३० सालको आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो, जसको पछि पुनर्निर्माण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?