logo
२०७९ असार १८ शनिवार



डोजर : विकास कि विनाशको

विचार/दृष्टिकोण |


डोजर : विकास कि विनाशको


रत्न प्रजापति

हाम्रोजस्तो विकट भौगोलिक संरचना भएको मुलुकमा सडकलाई नै विकासको मुख्य पूर्वाधार मानिएको छ । पछिल्लो समय गाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँको विकास हुन्छ भन्ने अवधारणाको विकास भएको छ । त्यसैले गाउँमा डोजर पुग्नु भनेको त्यहाँ सडक निर्माण हुनु हो र सडक निर्माण हुनु भनेको गाउँमा विकास पुग्नु हो भन्ने ठानिएको छ । गाउँका मानिसहरूले डोजरलाई विकासको विम्बकै रूपमा लिन थालेका छन् । गाउँमा डोजर पुग्दा होस् वा सडक बनेर पहिलो पटक कुनै सवारी साधन पुग्दा होस्, गाउँलेले खुसी भएर त्यसलाई पूजा गर्नुमा उनीहरूको विकासप्रतिको आकाङ्क्षा झल्किन्छ । गाउँलेको यही खुसीलाई देखेका र चिनेका जनप्रतिनिधिहरू गाउँलेलाई खुसी पार्न र आफ्नो पक्षमा जनमत बलियो बनाउन गाउँगाउँमा डोजर पु-याउने प्रतिस्पर्धामा छन् । चिप्लो गोरेटो बाटोमा भारी बोकेर हिँड्ने भरियाले अब त्यसरी भारी बोक्नु नपर्ने सपना देख्न थाल्छन् । आफ्नो उत्पादन गाउँमै कुहाउन अथवा गाईभैँसीलाई खुवाउन बाध्य किसानले सहर र सदरमुकाममा लगेर बेच्ने सपना देख्न थाल्छन् । स्कुल–कलेज र कार्यालय धाउनेहरूले पनि आरामसाथ फराकिलो सडकमा हिँड्न अथवा सवारी गुडाउन पाइने सपना देख्न थाल्छन् ।
यसो त गाउँमा डोजर पुगेपछि विकास मात्रै हुने होइन, विनाश पनि भएको छ । डोजर गाउँगाउँमा पुग्दा वा पहाडका कुना कन्दरामा पुग्दा त्यहाँ सडक मात्रै निर्माण भएको छैन, स्थानीय वातावरणमा नकारात्मक असर पनि परेको छ । गाउँगाउँमा र पहाडका कुना कन्दरासम्म अव्यवस्थित रूपमा जथाभावी डोजर चलाउँदाको परिणाम हो वातावरणीयलगायत स्थानीय सामाजिक र सांस्कृतिक क्षय । कुनै व्यवस्थित र दीर्घकालीन योजना र वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी डोजर लगाएर खनिएका सडकहरूले गाउँलाई सहरसम्मको सडक सञ्जालमा त जोडिदिएको छ, वातावरणीय समस्या पनि निम्त्याएको छ । त्यसैले गाउँगाउँ पुग्ने डोजरले विकास मात्रै गरेको छैन, विनाश पनि गरेको छ । विकासको चाहनामा विनाश पनि सँगसँगै आउँदा विकाससँग रमाएका जनता विनाशसँग त्रसित भएर बाँच्न विवश छन् । जसले गर्दा त्यो विकास नै उनीहरूका लागि अभिशाप बन्न पुगेको छ । विकासको नाउँमा वातावरणीय तथा सामाजिक र सांस्कृतिक विनाश गरेर मानिसलाई नै विस्थापित हुन बाध्य पारेपछि त्यस्तो विकास किन, केका लागि र कसका लागि भन्ने प्रश्न उठ्न थालेका छन् ।
विकासको नाउँमा डोजर र स्काभेटर गाउँ पुगेपछि त्यसले वनजङ्गल फाँड्न, खेतबारी मास्न र पहाड उधिन्न थालेको छ । हुँदाहुँदा मान्छेका भावना र उसका सामाजिक र सांस्कृतिक मूल्यमान्यताहरूलाई पनि चुनौती दिन थालेको छ । सामाजिक सद्भावलाई भत्काउन थालेको छ । द्वेष र कलहको बीउ रोप्न थालेको छ । मान्छे–मान्छेमा विभाजन ल्याएको छ । राजनीतिक कित्तामा मान्छेलाई विभक्त गरेको छ । राजनीतिक आस्थाका लागि सामाजिक र सांस्कृतिक मूल्यमान्यतालाई कुल्चन थालेका छन् मान्छेहरूले । अनि सहरको राजनीति गाउँमा पनि पस्न थालेको छ । सामाजिक सद्भावलाई बिथोलेको छ । आपसी सहयोग, मेलमिलाप र सद्भावमा बाँचेका मान्छेहरू राजनीतिक पार्टीको समूहमा विभक्त भएर बाँच्न थालेका छन् र राजनीतिक पार्टीको विचार बोल्न थालेका छन् । विकासको नाउँमा डोजर आतङ्क नै मच्चाइएको छ । यस्तो आतङ्क सहरमा पनि देख्न पाइन्छ । काठमाडौँलाई तराईसँग जोड्ने द्रुतमार्ग निर्माणको क्रममागत असारमा ललितपुरको खोकनामा र हालै बालाजु–बाइपास सडक निर्माणमा देखिएको डोजर आतङ्कबाट हामी अनभिज्ञ छैनौँ । यस्ता डोजर आतङ्क अहिले सहरी क्षेत्रमा पनि ठाउँठाउँमा देखिन्छन् । विना कुनै योजना मानवीय संवेदनासमेतलाई कुल्चेर डोजर आतङ्क मच्चाएर ल्याइएको विकास कति दिगो हुन्छ र त्यसले जनतालाई कति सुख र सुविधा प्रदान गर्छ ? यो प्रश्नको उत्तर खोज्ने प्रयत्न गरिएको पाइँदैन । हिउँदमा बनाइएका सडक बर्खामा बिलाउँछन् । बर्खापछि सडक कहाँ थियो भनेर खोज्नुपर्ने अवस्था छ । अहिलेको यस्तो डोजरे विकासले सडक मात्रै बनाएको छ र अरू धेरै थोक बिगारेको छ । डोजर आतङ्कको भरमा भएको विकासलाई हेर्दा हामी छिट्टै विनाशको गर्तमा हराउने सम्भावना बढेको छ । त्यसैले एकथरिले डोजरलाई विकासको विम्बको रूपमा लिएका छन् भने अर्कोथरिले त्यही डोजरलाई विनाशको विम्बको रूपमा पनि बुझेका छन् ।
जनताको विकासप्रतिको तीव्र आकाङ्क्षालाई भोटसँग साट्न पल्केका राजनीतिक पार्टीका नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिहरूले छिट्टै गाउँमा विकास पुगेको भ्रम छर्नका लागि गाउँगाउँसम्म डोजर पु-याउने प्रतिस्पर्धा गरिरहेका छन् । गाउँमा सडक खन्दै पुगेको डोजरलाई देखेर विकासको कल्पना गर्ने जनताले त्यही हतारको विकासले निम्त्याउने विनाशको कल्पना भने गर्न सकेका छैनन् । पहाडका सुन्दर बस्ती नै चिरेर सडक खन्दा त्यहाँको पानीको मुहान सुक्ने, बर्खाको भेलसँगै मलिलो माटो बग्ने र पहिरो खस्ने समस्या जताततै देखिएका छन् । सडकका लागि जथाभावी वनजङ्गल फाँड्दा पहाडका सुन्दर एवं हरियाली युक्त डाँडाहरू उजाड बनेका छन् । सडकसँगसँगै पुगेका प्राकृतिक खानी जन्य उद्योगहरूले सुन्दर हरियालीयुक्त पहाड र डाँडाकाँडाहरूलाई कुरूप बनाएका छन् । खानेपानीको मुहान सुकेर कतिपय गाउँबाट बस्ती नै विस्थापित भएका छन् । पहिरोको डरले पनि विस्थापित भएका छन् । यसरी आफैँलाई विस्थापित गर्ने विकासको के अर्थ ?
विकासको आकाङ्क्षा स्वाभाविक हो । विकासको लहर गाउँगाउँसम्म पु-याउनु राज्यको दायित्व पनि हो । अहिले यस्तो दायित्व निर्वाह स्थानीय सरकारको काँधसम्म पुगेको छ । जनताको आकाङ्क्षा छिटो पूरा गर्न जनप्रतिनिधिहरू आतुर छन् । यो आतुरतामा विकासको भन्दा भ्रष्टाचारको बढी गन्ध आउँछ । आफ्नै मान्छे समावेश गरी उपभोक्ता समिति बनाउने र तिनैमार्फत आर्थिक लाभ हासिल गर्ने उद्देश्यले विकासलाई तीव्रता दिइएको छ । तर त्यस्तो विकासको कुनै योजना, अध्ययन र विश्लेषण छैन । तोक र आदेशका भरमा डोजर गाउँगाउँ पु-याइएका छन् । विकासका आकाङ्क्षी जनतालाई तत्काल खुसी पार्ने प्रयास भएका छन् । सहरमा मात्रै होइन, गाउँमा पनि विकासको नमुना हेर्ने र देखाउने हतारो छ । आवश्यकतालाई वास्तै नगरी चाहिने–नचाहिने सबै ठाउँमा अव्यवस्थित रूपमा सडक खन्दा त्यो सडकले दिगो लाभ दिन सक्ने सम्भावना कम हुन्छ । तर यसतर्फ विकासका ठेकेदारहरूको ध्यान पुग्न सकेको छैन । छिट्टै गाउँगाउँमा सडक पु-याउने, त्यहाँको जग्गाको भाउ बढाउने, खेतीयोग्य जमिनमा प्लटिङ गरी ठूल्ठूला घर–भवन बनाउने सपना छ स्थानीय जनप्रतिनिधिहरूको र स्थानीय बासिन्दाको पनि । तर प्राकृतिक, सामाजिक र सांस्कृतिक विनाश गरी ल्याइएको विकास कति दिगो हुन्छ ? र कति लाभदायी हुन्छ ?
वातावरणीय तथा सामाजिक र सांस्कृतिक क्षयलाई रोक्ने हो भने डोजरे विकासलाई नियन्त्रण गर्नु जरुरी नै भइसकेको छ । यसका लागि बलियो राजनीतिक इच्छाशक्तिको खाँचो छ । स्थानीय वातावरण र सामाजिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धनसमेतलाई ध्यानमा राखेर दिगो विकासको योजना निर्माणमा राजनीतिक नेतृत्वकै अहं भूमिका हुन्छ । डोजरे विकासको होइन, दिगो विकासको योजना बनाएर कार्यान्वयन गरौँ र गराऔँ । गाउँगाउँमा पुगेको डोजर विनाशको विम्ब नबनोस् । पहाडको बाटोमुनि बस्नेले बाटो माथिबाट पहिरो खस्छ कि भनेर भयभीत हुनु नपरोस् । अनि सहरमा बस्नेले ‘गाउँमा सायद पहिरो गयो कि’ भनेर चिन्तित हुनु नपरोस् ।
(लेखक शैक्षिक संस्थामा आबद्ध हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?