logo
२०७९ असार १८ शनिवार



काठमाडौँ दर्शन

विचार/दृष्टिकोण |


काठमाडौँ दर्शन


रत्न प्रजापति

नेपालमा कोरोनाको दोस्रो लहरले जनजीवनमाथि गम्भीर प्रभाव पा¥यो । विषम परिस्थितिको मूल्याङ्कन गर्दै विभिन्न तहको छलफल र निर्णयपछि अन्ततः सरकारले वैशाख १६ गतेदेखि नै उपत्यकालगायत मुलुकका कोरोनाबाट बढी प्रभावित विभिन्न जिल्लामा निषेधाज्ञा जारी ग¥यो । अझै पनि निषेधाज्ञाको पटक पटक म्याद थपिँदैछ ।
सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञाको निर्णय वैशाख १३ गते गरेको थियो । त्यसपछिका दुई दिनको समय सायद उपत्यकाबाट बाहिर जाने र उपत्यका प्रवेश गर्नेहरूका लागि आआफ्नो अर्थ–सामाजिक व्यवस्थापन गर्न दिइएको थियो । यो दुई दिनको समयमा उपत्यकाका सडक र बजारमा मानिसको निकै भीड देखियो । यो भीड आआफ्नो अर्थ–सामाजिक व्यवस्थापनमा जुट्नेहरूकै थियो ।
निषेधाज्ञाको समयमा अत्यवाश्यकबाहेक अरू सेवा तथा व्यवसाय सञ्चालन नहुने हुँदा उपत्यका बाहिरबाट आई यहाँ जीविकोपार्जन गरिरहेका न्यून आयवर्गका मानिसहरू हतारमा आफ्नो गाउँ फर्कन थाले । किनभने उनीहरूलाई काठमाडौँमा कोरोनाभन्दा भोकको डर छ । दैनिक आयआर्जन नभए काठमाडौँमा टिक्न उनीहरूलाई कठिनमात्रै होइन असम्भव नै छ । विडम्बना, हतारमा काठमाडौँ छोड्दै गरेका जनतालाई सरकारले ‘गाउँ नजाओ, यहाँ तिमीहरूलाई हेर्ने सरकार छ’ भन्न सकेन ।
रोगबाट बचे पनि भोकले तड्पिएर मर्नुभन्दा आफ्नै गाउँ फर्कनु उचित भन्दै धेरै मानिसले उपत्यका छोड्ने हतार गरे । कमसेकम आफ्नो गाउँमा रोगले मरे पनि भोकले मर्नु पर्दैन भन्नेमा विश्वस्त भए । गाउँमा दया, मानवता र संवेदना अझै जीवित छ । जसले गाउँलाई एकता र सद्भावको सूत्रमा आबद्ध गरिराखेको छ । त्यही सम्झेर र सोचेर मानिसहरू गाउँ फर्कन हतारिएका हुन् । त्यसैले सडक र काठमाडौँ उपत्यका प्रवेश तथा प्रस्थान गर्ने मुख्य नाकाहरूमा वैशाख १४ र १५ गते मानिसको अचाक्ली भीड थियो । भोकको डरले कोरोनाको पनि बेवास्ता गर्दै गाउँ फर्कन हतारिएका मानिसले सहरदेखि गाउँसम्म कोरोना सङ्क्रमणको सम्भावनालाई भने निकै बढाए ।
मुलुकमा सङ्घीयता कार्यान्वयनमा आएको र सङ्घीय शासनप्रणाली लागू भइसकेको अवस्थामा पनि गाउँका मानिस जेका लागि पनि काठमाडौँ नै पुग्नुपर्ने अवस्थाको अन्त्य किन भएन ? देशभरिका युवाले अवसरको खोजी गर्न काठमाडौँ नै जाने लालसालाई किन त्याग्न सकेनन् ? अब यो प्रश्नको उत्तर खोज्न ढिला भइसकेको छ । नत्र सङ्घीयताको औचित्यमाथि क्रमशः प्रश्न उठ्न थाल्नेछ । अलिकति डामाडोल, अलिकति हलचल र अलिकति उथलपुथल भइहाल्यो कि गाउँ फर्कनैपर्ने गरी देशभरिका गाउँगाउँबाट किन आउँछन् काठमाडौँ सहरमा मानिसहरू ? के छ काठमाडौँमा जसका लागि देशभरिका मानिस आउँछन् ? र के छैन काठमाडौँमा जसका कारण केही भइहाल्यो कि मानिसहरू गाउँ फर्कन हतार गरिहाल्छन् ? आफूसँग भएको चीजको सदुपयोग नगर्ने र नभएको चीजको खोजीमा भौँतारिने मानिसको भीडले भरिएको छ काठमाडौँ । दशैँ, तिहार आउँछन्, गाउँमा फर्कने मानिसको भीड उस्तै हुन्छ । नाकाबन्दी हुन्छ, गाउँ फर्कने मानिसको भीड उस्तै हुन्छ । विनाशकारी भूकम्प आउँछ । गाउँ फर्कने मानिसको भीड उस्तै हुन्छ । कोरोनाजस्तै महामारी आउँछ र बन्दाबन्दी हुन्छ, गाउँ फर्कने मानिसको भीड उस्तै हुन्छ । हरेक विशेष समयमा गाउँ फर्कने मानिसको भीड देखेर एउटा प्रश्न उठ्छ, के गाउँका मानिसका लागि काठमाडौँ सहरमा केही छैन ? उत्तरमा भन्नुपर्ने हुन्छ – धेरै थोक छ र केही छैन पनि । पैसा भए काठमाडौँमा सबथोक छ । पैसा नभए केही पनि छैन । यही नै हो काठमाडौँ सहरको अहिलेको वास्तविकता ।
अघिल्लो वर्ष लकडाउनका बेला भरिया सूर्यबहादुर तामाङले भारी बोक्ने काम पाएनन् । काम नपाएपछि उनले खान पाएनन् अनि भोकले नै छटपिटएर मर्नुप¥यो कीर्तिपुरको सडकमा । भोकै मर्नुपर्ने निर्दयी सहरमा किन ओइरिन्छन् मानिसहरू ? पक्कै पनि उत्तर एउटै छ, धेरै अवसरको खोजीमा र अलिकति चाहिँ व्यक्तिगत स्वतन्त्रताको खोजीमा । यही दुई कुराका लागि देशभरिका गाउँगाउँबाट मानिसहरू दुःख गरेर काठमाडौँ सहरमा आउँछन् र दुःख गरेरै बस्छन् । राम्रो अवसर पाउने र त्यो अवसरलाई उपयोग गर्ने सामथ्र्यको विकास गरेका मानिसहरू धेरै अघिदेखि नै काठमाडौँवासी भएका छन् । त्यो सामथ्र्यको विकास नगरेका वा गर्न नसकेकाहरू चाहिँ अझै पनि गाउँ–सहर र सहर–गाउँ गरिरहेका छन् । काठमाडौँमा सङ्घर्ष गरिरहेकाहरूको ठूलो सङ्ख्याको एउटा वर्ग छ । कोरोनाको निहुँमा निषेधाज्ञा जारी हुनेबित्तिकै हतारिँदै गाउँ फर्कनेहरू यही वर्गका मानिस हुन् । भरिया सूर्यबहादुरले जस्तै काठमाडौँमा कोरोनाले भन्दा भोकले मर्नु नपरोस् भनेर गाउँ फर्किनेहरूको भीड हो सडक र नाकामा देखिएको भीड ।
सङ्घीय शासनप्रणाली लागू भइसकेपछि पनि देशभरिका मानिसहरू हरेक कामकुराका लागि काठमाडौँमै आउनुपर्ने अवस्थाको अन्त्य नहुनु दुर्भाग्य हो र यो दुखद अवस्था पनि हो । अनि यो अवस्था सङ्घीयताको बर्खिलाप पनि हो । अब सङ्घीयताको पूर्ण कार्यान्वयन गर्दै गाउँका मानिस गाउँमै बस्ने, गाउँमै टिक्ने र गाउँमै रमाउने परिस्थितिको निर्माण गर्नुपर्छ । यसमा प्रदेश र स्थानीय सरकारको भूमिका अहम् हुन्छ र त्यस्तो अहं भूमिका निर्वाह गर्न प्रदेश र स्थानीय सरकारसक्षम र सफल हुनुपर्छ । यसका लागि सङ्घीय सरकारले सहयोग गर्नुपर्छ ।
अझै पनि विकास–निर्माणको काम सहरकेन्द्रित छ । गाउँमा पनि सहरकै जस्तो राम्रो विद्यालय, सुविधा सम्पन्न अस्पताल भइदिएको भए, सहज बजार र आपूर्ति प्रणाली भइदिएको भए, दिगो यातायात पूर्वाधार, उद्योगधन्दा, रोजगारीको पर्याप्त अवसर भइदिएको भए र सरकारी औपचारिक प्रक्रिया गाउँबाटै पूरा गर्न सकिने भइदिएको भए युवाको लर्को किन सहरतिर लाग्थ्यो होला र ! गाउँको विकास गर्छु भन्ने नेता र स्थानीय जनप्रतिनिधि नै सहरमा रमाउने भएपछि कसरी हुन्छ गाउँको विकास ? अनि कसरी युवापुस्ताले गाउँमै बस्ने र गाउँमै रमाउने अवसर पाउँछन् ? अहिले ऊर्जावान युवा सबै सहर र विदेशमा छन् । राज्यले ऊर्जाशील एवं कर्मशील युवाको सही परिचालन गर्न सकेको भए र तिनै युवाले आफ्नै देशमा पसिना बगाएको भए मुलुक उहिल्यै समृद्ध भइसक्थ्यो । भाषण र आश्वासनको राजनीति गर्ने नेता र त्यही भाषण र आश्वासनमा आँखा चिम्लेर ताली ठोक्ने विवेकहीन कार्यकर्ताले गर्दा देश पिछडिएको हो र युवापुस्ताले उज्ज्वल भविष्यको मीठो सपना बोकेर सहर अथवा विदेश भासिनु परेको हो ।
सहर पस्ने सबैको एउटा सपना हुन्छ । जिन्दगीलाई सफल र सुखी बनाउने अनि इज्जतले जिन्दगी बिताउने सपना । त्यही सपना बोकेर काठमाडौँ सहरमा सङ्घर्ष गर्नेहरू बेलाबेलामा फेरि गाउँतिरै लखेटिन्छन् तर रमाउँछन् । अब दशैँ र तिहारमा मात्रै होइन सधैँभरि गाउँमै रमाउने वातावरण निर्माण गर्नसके सङ्घीयता पनि सार्थक हुन्छ । हो, काठमाडौँ दर्शनीय स्थलचाहिँ अवश्य हो । आधुनिकता र भौतिक सुख–सुविधाको सम्पन्नताले मात्रै होइन, यहाँको जीवन्त कला, संस्कृति र एतिहासिक सम्पदाले पनि यो दर्शनीय स्थल बनेको छ । त्यसैले अब गाउँगाउँबाट मानिसहरू सकेसम्म काठमाडौँ दर्शनका लागि मात्रै आउने परिस्थिति निर्माण गरौँ । यसो भए छिसिक्क केही हुनासाथ झोला बोकेर हतारहतार गाउँ फर्कनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
(लेखक शिक्षण संस्थामा आबद्ध हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?