logo
२०८१ बैशाख २३ आईतवार

  डेढघण्टासम्म चारबटा बाघको घेरामा परेका भन्छन्  



रुखमा चढेर चिच्याउन थाल्यौं, बाघले घेरा हालेर तल उभिरहे

पढ्नै पर्ने |
खुला |
प्रदेश |


रुखमा चढेर चिच्याउन थाल्यौं, बाघले घेरा हालेर तल उभिरहे


सिराज खान
नेपालगञ्ज, असोज १७ गते । ‘चारवटा पाटे बाघले घेरेपछि ज्यान जोगाउन हतरपतर गरेर रुखमा चढ्यौं, डेढ घण्टासम्म रुखबाटै हारगुहार गरेपछि बल्ल निकुञ्जका हात्तीले आएर उद्धार गर्दा बाँचेर फर्किएका छौं, बाँच्ने आशा मारिसकेका थियौं’– यो भनाई हो बाँकेको गाभरमा बाघको घेराबाट उद्धारपछि फर्किनुभएका सेतु ओलीको ।
‘भैंसी र बाख्रा चरिरहेका थिए, हामीहरु बसेर गफ गरिरहेका थियौं, एक्कासि भैंसी र बाख्रा दौडिन थाले हेर्दा त चारवटा पाटे बाघ नजिकै आइसकेका थिए,’ कालिका खड्काले भन्नुभयो, ‘ज्यान जोगाउन हतार हतार रुखमा चढ्यौं, रुखमा बसेर कराउन, चिच्याउन थाल्यौं, बाघले हामीलाई घेरा हालेर तलतिर उभिरहे ।’
अाफूहरुको हारगुहार सुनेर नजिकै रहेका हात्ती र निकुञ्जका कर्मचारीले आएर बाघलाई धपाउन सफल भएपछि बल्ल बाँचेको उहाँको भनाइ छ ।
हात्तीसहित निकुञ्जका कर्मचारी आएपछि बाँच्ने आशा पलाएको जनाउँदै नत्र बाँच्ने कल्पना नै नगरेको उनीहरुको भनाइ छ । रुखमा चढेको बेलामा घर परिवारको मात्र याद आएर झन झन रुन मन लागेको तीनै जनाले जनाएका छन् ।
उहाँले आफू लगायत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरका कालिका खड्का र हीरा खड्का शनिवार दिउँसो भैंसी, बाख्रा चराउन गएको बेला बाघको घेरामा परेपछि डेढ घण्टाभन्दा बढी घर परिवारलाई सम्झेर रुँदै हारगुहार गरेको बताउनुभयो ।
उद्धारपछि तीनै जनाले पुनर्जन्म पाएको जनाउँदै ओलीले नजिकै गस्तीमा रहेको निकुञ्जको सेनाले हारगुहार नसुनेको भए आफूहरु बाघको सिकार बन्ने निश्चित रहेको बताउनुभयो ।
‘बाघबाट जोगिएर पुनर्जन्म पायौं, अहिले पनि मुटु कामिरहेको छ, डर लागिरहेको छ, धेरै बेरसम्म बाँचेर फर्किएको विश्वास नै लागेन’– ओलीले भन्नुभयो ।
गाभर नजिकैको सामुदायिक वन क्षेत्रमा भैंसी र बाख्रा चराउन गएका उनीहरुलाई गाभर र सिक्टा गाउँको बीचमा पर्ने राजमार्गभन्दा करिब एक किलोमिटर दक्षिण जङ्गलको खर्चेताल जाने बाटोमा पाटेबाघले फेला पारेर घेरा हालेका थिए ।
बाघबाट जोगिन तीनवटा रुखमा चढेका उनीहरुलाई करिब डेढ घण्टापछि निकुञ्जका हात्तीको सहायताले सेनाले उद्दार गरेको थियो ।
ज्यान जोगाउन रुखमा चढ्दा बाघले आफुहरुलाई झम्टिन नसकेपछि बाख्रा र भैसीलाई लखेट्दै तितरबितर पारेको तथा रुख वरिपरि घेरा हालेर बसेको घेरामा परेका अर्का गोठाला कालिका खड्काले बताउनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले गाभरका तीनै जनालाई निकुञ्जको हात्तीको टोलीले उद्धार गर्न सफल भएको बताउँनुभयो । उहाँले हात्ती नजिकै रहेकोले तत्काल उद्धार गर्न सकिएको जनाउँदै नत्र ठूलो घट्ना हुनसक्ने बताउनुभयो ।
गत भदौं २७ गते बेलुका गाभरस्थित एक होटलमा काम गर्ने भारतीय नागरिकलाई राजमार्गबाटै तानेर बाघले खाएपछि स्थानीयमा त्रास फैलिएको थियो । सो बाघ नियन्त्रणका लागि निकुञ्जले दुई हात्ती र सेना परिचालन गरेको थियो ।
बाघ नियन्त्रणमा लिन प्राविधिक टोलीलाई पनि सो क्षेत्रमा खटाइएको थियो ।
बाघलाई नियन्त्रणमा लिन त्यहाँ एउटा पाडो बाँधिएकोमा ६ दिनपछि रातीको समयमा बाघले आएर पाडो खाएकोले नियन्त्रणमा लिन सकिएको थिएन ।
बाघको गतिविधि हेर्न त्यहाँ क्यामेरा जडान गरिएपछि क्यामेरामा चारवटा ठूला पाटेबाघ देखिएका थिए ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?