प्रजित शाक्य
ललितपुरस्थित बागडोलमा मल्लकालीन दरबारजस्तो विशाल कलात्मक भवन छ । भवनभित्रको संरचना भने आधुनिक छ । पाहुना कोठा, योगा हल, भजन हल, पुस्तकालय, क्लिनिकका लागि पनि छुट्टाछुट्टै कोठा छन् । भवन अगाडि एम्बुलेन्स पनि तयारी अवस्थामा छ । पाँचतले भवनमा लिफ्ट मात्र होइन, अपाङ्गमैत्री संरचना पनि बनाइएको छ । यस्तो सुविधासम्पन्न भवन त होटल या अपार्टमेन्ट हुनुपर्छ भन्ने जोकोहीलाई लाग्नसक्छ तर यो भवन वृद्धाश्रमका लागि बनाइएको हो । यसको नाम रहेको छ– ज्येष्ठ नागरिक आनन्द निकेतन । यहाँ वृद्धवृद्धाले निःशुल्क बस्न पाउँछन् ।
चार महिनाअघि आनन्द निकेतनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरिसक्नुभएको छ । यतिखेर यो वृद्धाश्रम सञ्चालन गर्ने तयारी हुँदै छ । ज्यापू समाज यलले निर्माण गरेको यो भवनले अब जीवनको अन्तिम समयमा आफन्त नभएका, आफन्तबाटै त्यागिएका वा घरवारविहीन बन्न पुगेका वृद्धवृद्धालाई साहरा दिनेछ । यहाँ सन्तुलित खानाका साथ चौबीसै घण्टा डाक्टर, नर्सको सुविधा हुनेछ ।
यस्तो सराहनीय कामको अगुवाइ ज्यापू समाजका अध्यक्ष तीर्थलाल महर्जनले गर्नुभएको हो । तीर्थलालका अनुसार आनन्द निकेतनको लक्ष्य यहाँ रहने वृद्धावृद्धालाई उचित रेखदेख तथा मायाको मलम लगाउनु हो ।
आनन्द निकेतन पाटनका एक किसान अष्टमान महर्जनको सपना हो । मनकारी अष्टमानले दस वर्षअघि बागडोलको एक रोपनी १३ आना जग्गा र ५० लाख रुपियाँ वृद्धाश्रम बनाउन ज्यापू समाजलाई दिनुभयो । शिवभक्त अष्टमान हरेक दिन पशुपति जानुहुन्थ्यो । पशुपति जाने क्रममा त्यहाँको वृद्धाश्रमसँग उहाँ नजिक हुनुभयो । त्यहाँबाटै प्रेरित भएर उहाँले वृद्धाश्रम बनाउन आफ्नो सम्पत्ति दान गर्नुभएको हो ।
त्यसपछि अष्टमानको सपनालाई साकार पार्ने जिम्मा तीर्थलालले उठाउनुभयो । ज्यापू समाजलाई जग्गा प्राप्त भएपछि पनि वृद्धाश्रम बनाउने क्रममा बाधा, अड्चन नआएको होइन । त्यति धेरै जग्गामा भवन बनाउन करोडौँको लागत पर्ने भयो । समाजकै दाजुभाइ वृद्धाश्रम बनाउन लाग्ने ठूलो रकम जोहो गर्न सकिँदैन भनेर यस कार्यमा पछि हट्नुभयो तर तीर्थलालले यसलाई चुनौतीका रूपमा लिनुभयो । उहाँले अठोट लिनुभयो कि पवित्र काम गर्दैछौँ, पक्कै पनि सहयोगी हातहरू भेटिने छन् । नभन्दै आनन्द निकेतन भवनका लागि रकमको खासै कठिनाइ भएन । विभिन्न संस्था र मनकारी व्यक्तिहरूले उचित साथ दिए ।
आनन्द निकेतन भवन निर्माण गर्न साढे १३ करोड रुपियाँ खर्च भयो । सुरुमा यस भवनका लागि उदार मन भएका दाताहरूबाट सहयोग त भयो तर सुविधासम्पन्न वृद्धाश्रमको परिकल्पना पूरा गर्न यो अपुग थियो । त्यसपछि सरकारी र अन्तर्राष्ट्रियस्तरमा सहयोगका लागि पहल थालियो । त्यसपछि भारतीय राजदूतावासले पाँच करोड, बागमती प्रदेशबाट तीन करोड, ललितपुर महानगरपालिकाबाट एक करोड रुपियाँ सहयोग भयो । यसैगरी अन्य विभिन्न संस्था, व्यापारी तथा पाटनका ४० वटै टोलका मनकारीहरूले मन खोलेर सहयोग गरे । तीर्थलाल भन्नुहुन्छ, “यसरी सबैको सहयोगमा भूकम्प प्रतिरोधी चारतारे होटलसरहको सुविधायुक्त भवन निर्माण गर्न सफल भयौँ । पवित्र काम गर्दा आत्मसन्तुष्टि त एकातिर छँदै छ, हातेमालो गर्नेहरूको कमी पनि नहुने रहेछ भन्ने शिक्षा पनि मिल्यो ।”
आनन्द निकेतनमा ११० कोठा रहेका छन् । ज्यापू समाजलाई यसको सञ्चालन कसरी गर्ने भन्ने चुनौती पनि खडा भएको छ । यसका लागि कार्यविधि तयार हँुदै छ । अध्यक्ष तीर्थलालका अनुसार ४० टोलका ४० जनाको कोटा छुट्याउने, त्यस्तै पाटनका अन्य जाति खलक, नगरपालिका, स्थानीय, केन्द्रीय सरकारको कोटा पनि राखिने छ । यसको सञ्चालनका लागि आर्थिक चुनौती पनि उत्तिकै छ । यसका लागि पाँच करोड रुपियाँको अक्षय कोष स्थापना गर्ने प्रयास हुँदै छ । यसबाहेक वार्षिक रूपमा केन्द्रीय, प्रदेश र स्थानीय सरकारसँग बजेट माग गर्ने पहल हुँदै छ ।
आनन्द निकेतनको दुई सय मिटर जति टाढा १२ रोपनी पर्ती जग्गा छ । यस जग्गामा पार्क बनाउने योजना पनि ज्यापू समाजको छ । यदि यो योजना साकार भए आनन्द निकेतनमा बस्ने वृद्धवृद्धालाई दिन कटाउने अझ सहज हुने छ । यसका लागि सरकारसमक्ष पहल भइरहेको छ । साँधमै रहेको तीन रोपनी जग्गा पनि खरिद गर्ने योजना आनन्द निकेतनले बनाएको छ । यदि यो जग्गा खरिद गर्न सकेमा यहाँ चाहिँ वृद्धवृद्धाको सशुल्क हेरचाह गरिने छ ।