logo
२०८१ बैशाख १४ शुक्रवार

   स्थानीय तहको निर्वाचन   



एक करोड ७७ लाखलाई मताधिकार

मुख्य समाचार |


एक करोड ७७ लाखलाई मताधिकार


काठमाडौँ, चैत १४ गते । स्थानीय तह निर्वाचन, २०७९ मा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । गत पाँच वर्षमा ३६ लाख ७९ हजार २४१ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि स्वीकृत गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणा भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन तालिका बमोजिम नै सबै कार्यक्रम समयमै गरेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत आयोगले उक्त कार्यक्रमलाई दृढतापूर्वक लागू गरेर २०७९ वैशाख ३० गते मतदान गर्न पूर्ण रूपमा तयार छ भन्नुभयो । उहाँले समयमै मतदान गराउन मतदाता नामावली, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली र मतदान स्थल तथा मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो ।

आयोगका अनुसार देशभरि ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० जना मतदाता महिला छन् । लिङ्ग पहिचान नभएका वा अन्य समूहका १८३ जना मतदाता छन् । आयोगले बागमती प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेको जनाएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ जना मतदाता छन् । बागमतीमा मतदाता पुरुष १७ लाख चार हजार ८९८ र मतदाता महिला १७ लाख सात हजार ९४२ तथा अन्य २९ जना छन् । कर्णालीमा पाँच लाख छ हजार १८० पुरुष र चार लाख ९५ हजार ९९ मतदाता महिला छन् ।

प्रदेश १ मा दोस्रो सबैभन्दा बढी ३३ लाख ४७ हजार ३८४ मतदाता छन् । प्रदेश १ मा १६ लाख ९९ हजार ८०० मतदाता पुरुष र १६ लाख ४७ हजार ५६१ मतदाता महिला र अन्य २३ जना छन् । मधेस प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष र १५ लाख ३३ हजार १५८ मतदाता महिला र अन्य ६७ जना छन् । लुम्बिनीमा कुल ३२ लाख १९ हजार ४५७ मतदाता रहेकोमा १६ लाख १८ हजार ७३ पुरुष र १६ लाख एक हजार ३५२ महिला तथा ३२ जना अन्य मतदाता छन् ।

गण्डकी प्रदेशमा आठ लाख ४४ हजार ४५२ पुरुष, नौ लाख २४ हजार ९४८ महिला र ११ अन्य गरी कुल मतदाता १७ लाख ८९ हजार ४११ जना छन् ।सुदूरपश्चिम प्रदेशमा आठ लाख ६६२ पुरुष र आठ लाख ३१ हजार ४७० महिला तथा १८ अन्य गरी कुल मतदाता १६ लाख ३२ हजार १५० जना छन् ।

झन्डै २२ हजार केन्द्र
निर्वाचन आयोगका पदाधिकारीको आइतबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रसमेत तय गरेको छ । देशभरि १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।आयोगका प्रवक्ता पौडेलले सबैभन्दा बढी मधेस प्रदेशमा दुई हजार १६३ मतदान स्थल तोकिएको जानकारी दिनुभयो । मधेस प्रदेशमा चार हजार १८९ मतदान केन्द्र रहनेछन् । बागमती प्रदेशमा दोस्रो सबैभन्दा बढी एक हजार ७९२ मतदान स्थलमा चार हजार ९५ मतदान केन्द्र रहनेछन् ।

प्रदेश १ मा एक हजार ८७७ मतदान स्थलमा चार हजार ५१ केन्द्र, लुम्बिनी प्रदेशको एक हजार ६२९ मतदान स्थलमा तीन हजार ८३२ केन्द्र, गण्डकीमा एक हजार २५३ मतदान स्थलमा दुई तीन सय केन्द्र, सुदूरपश्चिममा एक हजार १३५ मतदान स्थलमा दुई हजार १०३ केन्द्र तथा कर्णालीमा ९०७ मतदान स्थलमा एक हजार ३८५ केन्द्र तोकिएको आयोगले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?