logo
२०८१ बैशाख ६ बिहीवार



निर्वाचन आयोगमा कल सेन्टरको व्यवस्था

मुख्य समाचार |


निर्वाचन आयोगमा कल सेन्टरको व्यवस्था


काठमाडौँ, चैत १६ गते । निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ ।आगामी २०७९ साल वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोगले सुरु गरेको ‘कल सेन्टर’मा उजुरी वा गुनासो गर्न सकिने छ । निर्वाचन आचारसंहिता–२०७८ ले गरेको व्यवस्थाबमोजिम आयोगले कल सेन्टर सुरु गरेको हो ।

आचारसंहिता पालना गर्नुपर्ने उम्मेदवार वा आचारसंहिता लागू हुने संस्था, निकाय वा व्यक्तिले उल्लङ्घन गरेको पाइए सूचना दिन सक्ने व्यवस्था गरेको छ । आयोगको निर्वाचन आचारसंहिता भने अझै लागू भइसकेको छैन ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्गलबार काठमाडौँस्थित आयोगको कार्यालयमा कल सेन्टरको उद्घाटन गर्नुभयो । विराटनगरबाट अच्युत दाहालले मतदाता नामावलीमा आफ्नो नामबारे जानकारी लिन गर्नुभएको प्रश्नको प्रमुख आयुक्त थपलियाले जवाफ दिनुभयो ।

आयोगका उपसचिव एवं योजना अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराईले सर्वसाधारणले आचारसंहिता उल्लङ्घनबारे टोलफ्री नम्बरमा जानकारी गराउन सक्ने र आयोगले जानकारी पाएलगत्तै छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

उहाँले मतदाता वा नागरिकलाई स्थानीय तह निर्वाचनसम्बन्धी जानकारी उपलब्ध गराउन आयोगले टोलफ्री नम्बर ११०२ सहितको कल सेन्टर सञ्चालनमा ल्याए पनि एउटै मात्र उद्देश्यमा केन्द्रित नहुने बताउनुभयो ।कल सेन्टर बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालनमा रहनेछ । आयोगका उपसचिव भट्टराईले हाल चार जना जनशक्तिबाट सुरु भएको कल सेन्टरमा जिज्ञासाको चाप हेरेर नौ जनासम्म जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो ।
जटिल प्रकृतिका प्रश्नको उत्तर कल सेन्टरमा खटिएका कर्मचारीले दिन नसकेमा सम्बन्धित शाखा प्रमुखले दिने छन् । आयोगको आठवटै शाखा प्रमुखको सम्पर्क नम्बरसँग कल सेन्टरको नम्बर जोडिएको छ । मतगणना कार्य जारी रहेसम्म कल सेन्टर सञ्चालनमा रहने आयोगले जनाएको छ ।

‘शिष्ट शैलीमा जवाफ दिनू’
प्रमुख आयुक्त थपलियाले कल सेन्टर आयोगको प्रतिष्ठासँग जोडिएकाले संवेदनशील भएर जवाफ दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले आयोगले आफ्नो गतिविधिबारे नियमित जानकारी गराउँदै आए पनि सूचनामा पहुँच हुन नसकेका नागरिकले निःशुल्क सूचना पाउन कल सेन्टर महìवपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले मतदाता नामावलीमा नाम भएका सबैले मतदानको विषयमा जानकारी पाउन र मतदान गर्न आउँदा बदर नहुने गरी आफूले चाहेको उम्मेदवारलाई मत दिन सकून् भन्दै कल सेन्टरमा कार्यरत जनशक्ति वा शाखा प्रमुखले शिष्ट शैलीमा जवाफ दिन निर्देशन दिनुभयो । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले निर्वाचनसँग सम्बन्धित विषयमा अध्ययनशील हुन कार्यरत जनशक्तिलाई निर्देशन दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?