logo
२०८१ बैशाख ८ शनिवार



आचारसंहितामा कडाइ

मुख्य समाचार |


आचारसंहितामा कडाइ


काठमाडौँ, चैत २९ गते । स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयनमा शङ्का व्यक्त भइरहँदा उल्लङ्घनसँग सम्बन्धित गतिविधिमा आयोगले सक्रियता देखाएको छ । आयोगले आचारसंहिता लागू गरिसकेको भए पनि अनुगमन गर्ने उसको आफ्नै संयन्त्र भने अझै गठन भइसकेको छैन । यद्यपि, आयोगले एक राजनीतिक दल र एक सांसदलाई आचारसंहिता उल्लङ्घनसँग सम्बन्धित गतिविधिमा जवाफ मागेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले नेकपा (एकीकृत समाजवादी) र प्रतिनिधि सभा सदस्य डा. शशाङ्क कोइरालालाई चित्तबुझ्दो जवाफ मागेको हो । नेकपा (एकीकृत समाजवादी)लाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ । आयोगले उक्त दललाई आधार प्रमाणसहित जवाफ दिन निर्देशन दिएको हो ।

स्थानीय तह निर्वाचन तयारीबारे जानकारी गराउन आयोजित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता पौडेलले उक्त दलले काठमाडौँको भृकुटीमण्डपमा यही चैत २६ गते शनिबार आमसभा आयोजना गर्दा आचारसंहिता उल्लङ्घन भएको बताउनुभयो । “सो सम्बन्धमा के कसो भएको हो ? तीन दिनभित्र आधार प्रमाणसहित आयोगलाई चित्तबुझ्दो जवाफ मागेका छौँ,” उहाँले भन्नुभयो ।

त्यसैगरी, आयोगले नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. कोइरालालाई समेत सात दिनभित्र जवाफ दिन निर्देशन दिएको छ । डा. कोइरालाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा आफ्नो छ करोड रुपियाँ खर्च भएको एक अन्तर्वार्ताको क्रममा खुुलाउनुुभएको थियो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा उम्मेदवारको खर्चको सीमा २५ लाख रुपियाँ तय गरेको थियो ।

डा. कोइरालाले आयोगसमक्ष भने २१ लाख ७५ हजार रुपियाँ खर्च विवरण आयोगमा पेस गर्नुभएको थियो । प्रवक्ता पौडेलले भन्नुभयो, “डा. कोइरालाको उक्त अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको र त्यस विषयमा के कसो भएको हो, सात दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ ।” नेपाली काँग्रेसका निवर्तमान महामन्त्रीसमेत रहनुभएका डा. कोइराला नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतिनिधि सभा क्षेत्र नं १ बाट निर्वाचित सदस्य हुनुहुन्छ ।

आयोगले आफ्नै संयन्त्र गठन नहुँदासम्म गृह मन्त्रालयमार्फत स्थानीय तहमा आचारसंहिता उल्लङ्घन घटनाको नियमन गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको छ । स्थानीय तहमा अनुगमन संयन्त्रको संयोजक निर्वाचन अधिकृत रहने व्यवस्था छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको प्रशिक्षण वैशाख ३ गते सकिनेछ । त्यसपछि मात्र निर्वाचन अधिकृतको नियुक्ति हुने र उक्त संयन्त्र पनि सक्रिय हुनेछ ।

पत्रकार भेटघाटमा आयोगले हालसम्म २८ जिल्लाको ४५ लाख २२ हजार मतपत्र छापिएको जनाएको छ । निर्वाचनमा प्रयोग हुने ३४ प्रकारका सामग्री प्राप्त गरिसकेको आयोगले ३८ प्रकारका सामग्री खरिद गर्दै छ । चार प्रकारका सामग्री भने आउनेक्रममा रहेको आयोगले जनाएको छ । सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताको पालना गरे÷नगरेको अनुगमन गर्न प्रेस काउन्सिललाई जिम्मेवारी दिइएको छ । काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारले निर्वाचन आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?