logo
२०८१ बैशाख १२ बुधवार

तस्बिरमा महाशिवरात्रि तथा सेना दिवस

राष्ट्रिय |
फोटो फिचर |


2022-03-01-58958
टुडिखेलमा प्यारा जम्प गर्दै । तस्बिर : केशब गुरूङ


काठमाडौँ, फागुन १७ गते । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष कार्यक्रम गरी मनाइयो

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत राइफलद्वारा पाटा–पाटा लहरे र एकट्ठा प्रस्तुत गरियो ।

सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । त्यस क्रममा स्वस्तिक चिह्न, शिव वन्दना र राष्ट्रभक्ति भावको गीत सङ्गीतसमेत प्रस्तुत भयो । सैनिक मञ्चमा मास पिटीका साथैै तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । समारोहमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत गरियो ।

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन, हेलिकप्टर प्रदर्शनी, सैनिक ब्यान्डबाट ब्यान्ड डिस्प्ले गरियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भयो । समारोहमा बेलायती गोर्खा ब्रिगेडको एक टुकडीले ब्यान्ड डिस्प्ले प्रस्तुत ग-यो ।