logo
२०८१ बैशाख १४ शुक्रवार

महिलाले योगदानअनुसारको जिम्मेवारी पाउनुपर्छ : डा.राणा

राष्ट्रिय |
फोटो फिचर |


2022-03-08-59459
तस्बिर : सागर बस्नेत



गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २४ गते । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले महिलाहले योगदानअनुसारको जिम्मेवारी पाउनु पर्ने बताउनु भएको छ । महिला–पुरुषको समान सहभागितामा सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्नुपर्नेमा उहाँको जोड छ ।
माइती नेपालले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा. राणाले महिलाहरू महत्त्वपूर्ण भूमिकामा रहे पनि त्यस अनुसारको सम्मान र व्यवहार भएको छ कि छैन भन्ने कुराको समीक्षा गर्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “महिलाहरूको भूमिका प्रभावकारी नभएसम्म दीगो विकास सम्भव छैन । हामी भूमिका महत्त्वपूर्ण छौँ । तर, समाजले र सरकारले हाम्रो भूमिका स्वीकार गरेको छ कि छैन । भूमिका अनुसार हाम्रो स्थान भएको छ कि छैन भन्ने कुराको समीक्षा गर्ने दिनका रुपमा महिला दिवसलाई दिनुपर्छ ।”
अन्तर्राष्ट्रिय रुपमा पनि एक वर्षमा के भयो र अब के गर्ने भन्ने कुराको निर्धारण गर्न महिला दिवस मनाइने उहाँको धारणा छ । महिला सशक्तिकरणका लागि योजना बनाउने र कार्यान्वयन गर्ने कार्य यसैदिन प्रारम्भ गर्नुपर्ने उहाँको भनाइ छ ।
डा। राणाले माइती नेपालकी संस्थापक कोइरालाले समाजका लागि प्रेरणादायी काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “अनुराधा दिदीको काम एकदमै युनिक छ । उहाँ उर्जाशील हुनुहुन्छ । दिनरात खटिने गर्नुहुन्छ । धेरैको जीवन निर्माण गर्नु भएको छ । यसका लागि उहाँलाई सम्मान छ ।”
सम्मान पाउँदा भावुक
गुल्मीमा कार्यरत नर्स लीला थापा कोभिड–१९ प्रकोप उत्कर्षमा हुँदा कोभिडविरुद्धको खोप लगाउन अपिल गर्दै गाउँ–गाउँ पुग्नु भयो । कतिपय ज्येष्ठ नागरिकहरू खोप केन्द्र वा स्वास्थ्य संस्थामा जान नसक्ने अवस्थामा हुनुहुन्थ्यो ।
नर्स थापाले बोकेरै उहाँहरूलाई खोप केन्द्रमा पुर्‍याउनु भएपछि त्यसबेला उहाँले धेरैतिरबाट स्याबासी पाउनु भयो । तर, मङ्गलबार उहाँका लागि निकै अविस्मरणीय पल रह्यो । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वास्थ्यकर्मी थापालाई काठमाडौँमै बोलाएर सम्मान गरेको हो ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य डा। आरजु राणा देउवा र माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले थापासहित विभिन्न क्षेत्रको सक्रिय ४ जना महिलालाई संयुक्त रुपमा सम्मान गर्नु भएको हो ।
कोभिड प्रकोपमा अग्रपङ्क्तिमा खटिनु भएकी भेरी अस्पतालकी नर्स शिला शर्मा, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल र कोभिड प्रकोपका ५ लाखभन्दा धेरै सर्वसाधारणलाई खाना खुवाउने अभियान सञ्चालन गर्नु भएकी सामाजिक अभियन्ता इन्दिरा रानामगरलाई माइती नेपालले सम्मान गरेको हो ।
गायक पुष्पन प्रधान सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा माइती नेपालमा संरक्षित बालिकाहरूले महिला अधिकारका पक्षमा नारा लेखिएका प्लेकार्डसहित सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।