logo
२०८१ जेष्ठ २ बुधवार



सामाजिक सञ्जालमा नेताको सन्देश ‘सबै घरमै बसौँ, सुरक्षित रहौँ’

खुला |


सामाजिक सञ्जालमा नेताको सन्देश ‘सबै घरमै बसौँ, सुरक्षित रहौँ’



नारायण काफ्ले

काठमाडौँ, चैत १३ गते । कोरोना भाइरस (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक दलका शीर्ष नेताहरूले संयमित हुन नागरिकलाई अपिल गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत शीर्ष नेताहरूले आफूहरू सरकारको निर्णयअनुसार घरमै रहेकाले बाहिर ननिस्कन सर्वसाधारणलाई पनि आग्रह गर्नुभएको छ । कतिपय नेताले सुरक्षित रहन र अरूलाई पनि सुरक्षित राख्न सहयोग पु¥याउन पनि सन्देश दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार ट्विटरमार्फत एक सन्देश जारी गर्दै सबै नागरिकलाई सुरक्षित रूपमा घरमै रहन आग्रह गर्नुभयो । व्यक्तिगत ट्विटर अकाउन्टबाट उहाँले अर्को घोषणा नभएसम्म ‘सुरक्षित रहनुस्, घरमै रहनुस्’ भन्नुभएको छ । सबै लकडाउनमा रहेको सन्देश दिँदै उहाँले लेख्ुभएको छ, “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरू पनि घरमै बस्नुहोला । ’’
यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले घरमै बसेर सचेतना अपनाउन आग्रह गर्नुभएको छ । ट्विटरमा उहाँले लेख्नुभएको छ, “स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, कोरोना भाइरसले विश्वभरि नै महामारीको रूप लिएको तपाईंहरू सबैलाई थाहा नै छ । यो कठिन घडीमा म तपाईंहरू सबैलाई घरमै बसेर अधिकतम सचेतना अपनाउनुहुन हार्दिक अनुरोध गर्छु । ”
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लकडाउन थप लम्बिन सक्ने भएकाले आफ्नो व्यक्तिगत तयारीसमेत राम्रो गर्न सुझाव दिनुभएको छ । दैनिक ज्यालधादारीमा काम गर्नेलगायतका नागरिकको सुरक्षा प्रबन्धको ध्यानाकर्षण गराउँदै उहाँले ट्विटरमा लेख्नुभएको छ, “देशको लकडाउन सात दिनभन्दा बढी लम्बिन सक्छ ! अतः कोरोना भाइरस सँगसँगै भोक भाइरसको बन्दोबस्ती गर्न ढिला नगरौँ । ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूका निम्ति तुरुन्त आर्थिक प्याकेज हुनुप¥यो । सङ्घको वित्तीय दायित्व, प्रदेशको अनुगमन, स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्छ । ”
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशमशेर जबराले कोरोना जोखिम न्यूनीकरणका लागि धैर्य अनिवार्य भएको ट्विटरमा लेख्नुभएको छ । सरकारको निर्णय पालनाको आग्रह गर्दै उहाँले लेख्नुभएको छ, “अन्य मुलुकको अनुभव दृष्टिगत गर्दा कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न आत्मसंयम, अनुशासन र धैर्य अनिवार्य रहेछ । तसर्थ, सरकारको निर्णयलाई पूर्ण पालना गरौँ । सहयोग गरौँ । यो हाम्रै हितका लागि हो । ’’
काँग्रेस नेता गगन थापा पनि कोरोनाबारे सचेतनाका विषयमा सामाजिक सञ्जालमा सक्रिय देखिनुहुन्छ । उहाँले हालसम्मको तयारीले ठूलो जोखिम धान्न नसक्ने भन्दै बुधबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सुझाव पनि दिनुभएको छ । यस्तै लकडाउनको समयमा के गर्ने के नगर्ने नागरिकमा अन्योल रहेको भन्दै उहाँले उपप्रधान एवं रक्षामन्त्रीलाई प्रश्न पनि गर्नुभएको छ ।
थापाले प्रश्न गर्नुभएको छ, “यो लकडाउनमा नागरिकले के गर्न पाउँछन्, के गर्न पाउँदैनन् भन्नेमा अलमल रहेको देखियो । अविलम्ब प्रस्ट पारिदिनुस् । लकडाउनबाट सङ्क्रमणको फैलावट रोक्न कसरी मद्दत पुग्छ भन्नेसमेत बताउनुहोस् । सुसूचित नागरिक सहयोगी हुनेछन् र लकडाउनको यो अत्यावश्यक कदम अझ प्रभावकारी हुनेछ । ”
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की युवा नेत्री रामकुमारी झाँक्रीले उपचार प्रक्रियामा आलटाल गर्ने अस्पताललाई कारबाहीको माग गर्नुभएको छ । झाँक्रीले ट्विटमा लेख्नुभएको छ, “सरकार ! ट्राभल्स हिस्ट्री नहेरी÷हेरेर सामान्य बिरामीलाई रिसिभ नगर्ने निजी अस्पतालबारे तुरुन्त कुनै निर्णय गर्नुपर्छ । इटालीजस्तो अवस्था आयो भने हामीले के गर्ने ? लुटी खाने अस्पताललाई आजै ठीक ठाउँमा राख्नुप¥यो ।
तुरुन्त एक्सन आवश्यक छ । ” यसैगरी पूर्वसांसद रामहरि खतिवडाले चिकित्सकले लगाउने सुरक्षा पोसाक (पीपीई)को पर्याप्त व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ भने काँग्रेसका युवानेता प्रदीप पौडेलले लकडाउनलाई अझै प्रभावकारी बनाउन सुझाव दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?