logo
२०८१ बैशाख २६ बुधवार



नगरवासी भोको बस्नुपर्दैन

खुला |


नगरवासी भोको बस्नुपर्दैन


नारद गौतम

धर्मस्थली (काठमाडौंँ), चैत २१ गते । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा र उपप्रमुख भवानी डोटेल धितालले ‘कोही नगरवासी भोको बस्नुपर्दैन’ भन्ने भिडियो सन्देश जारी गर्नुभएको छ । नगरपालिकाले विपन्न परिवारलाई कोरोना भाइरस
(कोभिड–१९) को लकडाउन अवधिमा कम्तीमा १० केजी चामलदेखि अन्य खाद्यान्न वितरण गर्ने योजना पनि बनाएको सन्देशमा उल्लेख गरिएको छ ।
नगरपालिकाको मुख्य भवनको करिब सय मिटर दक्षिण र उत्तरमा रहेका केही स्थानीयवासीले भोको पेट बस्नुपरेको गुनासो गर्नुभएको छ । मङ्गलबार गोरखापत्र समाचारदाता त्यहाँ पुग्दा टिनको टहरामुनि बस्दै आउनुभएका स्थानीयवासी ५५ वर्षीय पूर्ण कपालीले सोमबार बेलुका खाएको थिएँ अहिलेसम्म (मङ्गलबार दिनको ४ बजे कुराकानी गर्दा) केही खाएको छैन भन्नुभयो ।
वि. सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले उहाँको घर भत्कियो, उहाँको बास त्यतिबेला वितरण गरिएका जस्ताको टहरामुनि हुँदै आएको
छ । कपालीले म ग्यास बोक्ने तथा अन्य ज्यालादारी काम गरेर खान्थेँ, काम नपाएपछि अहिले आम्दानी छैन, केले किन्ने ? भन्नुभयो । सोही स्थानका ६१ वर्षीय हीराबहादुर खड्गी बिरामी पर्नुभएको लामो समय भएको छ । मुख्य सडकबाटै उहाँ सुतेको देखिन्छ र ओछ्यान वरिपरि झिँगा भन्केको दृश्य कारुणिक छ । उहाँ एक्लै बस्दै आउनुभएको छ र विवाह पनि गर्नुभएको छैन । उहाँको खुट्टा सुनिएका छन् । उहाँले मधुरो स्वरमा काम गर्न सक्दिनँ अरू परिवार छैनन्, कसले दिन्छ र खानु भनेर आफ्ना पीडा पोख्नुभयो । उहाँको भूकम्पले भत्काएको घर अझै बन्न सकेको छैन ।
भूकम्पबाट भत्किएको घर बनाउन ५० हजार रुपियाँ लिइसक्नुभएका अशोक खड्गीले पनि ज्यालादारी गर्दै पेट पाल्ने गरेको सुनाउनुभयो । उहाँले केही दिनयता काम बन्द भएकाले कमाइ पनि बन्द भएको बताउनुभयो ।
अर्का ५७ वर्षीय काले शाहीले छोराको कमाइबाट गुजारा चलाउँदै आएको र भूकम्पले भत्केको घर पनि बनाउन नसकेको जानकारी दिनुभयो । त्यस क्षेत्रमा अन्य धेरैले पक्की घर बनाइसकेका छन् र खानलाई नै समस्या भएको गुनासो अरू स्थानीयवासीले गर्नुभएन । स्थानीय साजन शाहीले उहाँहरू त्यहाँका विपन्न परिवारका मानिस भएको बताउनुभयो । यी प्रतिनिधि पात्र मात्र हुन् । सहरमा धनी मात्र होइनन् अति विपन्न परिवारका मानिस पनि बस्दै आएका छन् । कोरोना भाइरसबाट जनतालाई सुरक्षित राख्न चैत ११ गतेबाट मानिसलाई घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ ।
नगरपालिकाले माइकिङ गरी कोरोनाबाट बच्न नागरिकलाई सचेत गराउँदै आएको छ भने वडास्तरबाट सडकमा स्प्रे गर्ने काम पनि हुँदै आएको छ । नगरप्रमुख बोहराले प्रदेशबाट १२ लाख नगरपालिकाको सहित करिब १५ लाख रुपियाँको खाद्यान्न कोष स्थापना गरेर नगरका ११ वटै वडाका विपन्न परिवारलाई खाद्य सामग्री वितरण गर्ने योजना बनाएको सुनाउनुभयो । नगरपालिकाले कम्तीमा १० देखि परिवारको सङ्ख्या हेरी २० केजी चामलसहित खाद्यान्न वितरण गर्ने योजना बनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बालाजु क्षेत्रमा खाद्यान्नको गोदाम राखेर विभिन्न स्थानमा खाद्यान्न उपलब्ध गराउने विषयमा छलफल भइरहेको भनाइ पनि प्रमुख बोहराको छ । ‘भोको पेट भएकाले भन्छ डाँडावारि खाउँ, अघाएकाले भन्छ डाँडापारि खाऊँ’ भन्ने नेपाली उखान प्रचलित छ । सरकार विपन्न परिवारलाई राहत दिन तयार छ, बजेट र योजना पनि छ तर ओछ्यानमा सुतेर खान बाध्य हुनुभएका हीराबहादुर खड्गी जस्ताले कति दिनपछि खानेकुरा पाउनुहुन्छ भन्न कठिन छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?