नारद गौतम
काठमाडौँ, वैशाख १३ गते । भनिन्छ एउटै तस्बिरले हजार शब्दको अर्थ दिन्छ । छापादेखि अनलाइनसम्म प्रयोग गरिने तस्बिरको परिचय ‘क्याप्सन’ बिना भने त्यो तस्बिर पूर्ण मानिँदैन । तस्बिरकै सञ्चारले अहिले संसार छपक्कै छ तर तस्बिरको विगत भने सहज तवरले सुरु भएको थिएन । नेपालमा त झनै धेरैपछि मात्रै तस्बिरले छापामा ठाउँ पाएको बिर्सन मिल्दैन ।
१९औँ शताब्दीको मध्यतिर पत्रपत्रिकामा फोटो छापेर सुरु भएको फोटो पत्रकारिताले २१औंँ शताब्दीको दोस्रो दशकमा आइपुग्दा अकल्पनीय प्रभाव सिर्जना गरेको छ । वि.सं. २०३० मा गोरखापत्रमा फोटो पत्रकारिता सुरु गर्नुभएका वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारको स्मरणमा पहिला र अहिलेको फोटो पत्रकारिताको तुलना गर्नै मिल्दैन, त्यसो गर्नु पहलमानसँग कमिलाको तुलना गरेजस्तै हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ,
‘‘त्यतिबेला एउटा फोटो खिचेर अखबारमा छाप्नलाई छ–सात घन्टा काम गर्नुपर्दथ्यो, अहिले छ–सात मिनेटमा छ–सात सयवटा रङ्गीन तस्बिरहरू विश्वभर फैलिन्छन्, क्षणभर पनि लाग्दैन । ’’
फ्रान्सेली नागरिक निसेफोर निप्सेले सन् १८२६ प्रथम आधुनिक फोटो तयार पारेका थिए । निसेफोरले धानको कुन्यु राखिएको खलोको त्यो तस्बिर तयार पार्न सूर्यको आठ घन्टा लामो ‘एक्सपोज’ दिइएको थियो । फोटो खिच्न सफल भएको १३ वर्षपछि बेलायतका सर जोन हर्सलले सन् १८३९ मा सर्वप्रथम फोटोग्राफी शब्दको प्रयोग गरेका थिए । आमसञ्चारका माध्यमबाट तस्बिरको प्रयोग गरी सूचना प्रवाह गर्नु नै फोटो पत्रकारिता हो । फोटो पत्रकारिताले कुनै व्यक्ति, विषयवस्तु, विशेष घटना वा कथा वस्तुको सजीव चित्रण गर्दछ ।
नेपालमै पहिलो प्रयोग
वि.सं. १९८३ वैशाख १३ गतेको गोरखापत्रमा पहिलोपटक समाचारमूलक तस्बिर प्रकाशित भएको थियो । पृष्ठ ३ मा छापिएको सो तस्बिर चन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेकी वीरगञ्ज निवासी १२ वर्षीया सूर्यमती श्रेष्ठको थियो । यो तस्बिर नै नेपालमा छापिएको पहिलो समाचारमूलक तस्बिर भएको भन्दै नेपाली फोटो पत्रकारहरूले वैशाख १३ गतेलाई फोटो दिवस मनाउँदै आएका छन् तर त्यसअघि पनि तस्बिर नछापिएको भने होइन ।
ग्रीष्मबहादुर देवकोटाको नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास नामक कृतिमा ‘नेपालमा छापिइ प्रकाशित भएका पत्रपत्रिकाहरूमा सबैभन्दा पहिले गोरखापत्रले १९८४ वैशाख १३ गते तस्बिर (फोटो ब्लक) छापी प्रकाशित गरेको उल्लेख छ ।
भानुभक्त आचार्यद्वारा लिखित आफ्नो आम सञ्चार र पत्रकारिता अध्ययन (२०७३ः२९०) पुस्तकमा वैशाख १३ गते
(१९८४) लाई नै पहिलो तस्बिर मानिएको छ । सूर्यमतीकै तस्बिर पहिलो भएको स्पष्ट छ तर दीपक अर्याल ‘फोटोग्राफी र फोटो पत्रकारितामा’ (२०६६ः१४०) र मिडिया रिडरमा चन्द्रशेखर कार्की (२०७१ः १३६) फरक तथ्य औँल्याउनु भएको छ । फोटो पत्रकार कार्की लेख्नुहुन्छ, “तत्कालीन श्री ३ प्रधानमन्त्रीको जन्म दिन १९८२ साल असार २३ को अङ्कमा प्रधानमन्त्रीको तस्बिर छापिएको छ । यसलाई आधार मान्ने हो भने नेपालको पत्रिकामा छापिएको पहिलो तस्बिर चन्द्रशम्शेरको नै हो । ”
कार्कीका अनुसार, सूर्यमतीको तस्बिर छापिनुपूर्व नै चन्द्रशमशेरका तीनवटा तस्बिर छापिएका छन् ।
वैशाख १३ गतेलाई नै किन ‘फोटो पत्रकारिता दिवस’ मनाउन थाल्नु भयो भन्ने जिज्ञासामा फोटो पत्रकार क्लब
(पिजे क्लब)का अध्यक्ष विकास कार्कीले १९८४ वैशाख १३ गते गोरखापत्रमा क्याप्सनसहितको सूचना र सन्देश दिने तस्बिर छापिएको छ, त्योभन्दा अगाडि छापिएका तस्बिरमा क्याप्सन नभएकाले वैशाख १३ गतेलाई फोटो पत्रकारिता दिवस मनाउँदै
आएको स्पष्ट पार्नुभयो ।
चित्रकार र सवाल अग्रज फोटो पत्रकार
फोटो पत्रकार शरद राईले आफ्नो पुस्तक फोटोग्राफी दिग्दर्शनमा लेख्नुहुन्छ, “वि.सं. २०२३ देखि फोटो पत्रकारितामा संलग्न भए पनि २०३० मा गोरखापत्रमा फोटो पत्रकारका रूपमा काम गर्न थालेका गोपाल चित्रकार र बिन्दुराज सुवाललाई फोटो पत्रकारिता क्षेत्रमा अग्रणी फोटो पत्रकारका रूपमा लिन सकिन्छ । ” उहाँ दुवैको कर्मभूमि गोरखापत्रै हो ।
चुनौतीका चाङ
फोटो पत्रकारिता चुनौतीविहीन छैन । फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकार अवसरसँगै फोटो पत्रकारितामा चुनौती भएको बताउनुहुन्छ । चित्रकारको भनाइमा कार्की पनि सहमत हुनुहुन्छ । उहाँहरूका अनुसार, सञ्चार गृहले फोटो तयार गर्नका लागि पर्याप्त सामग्री नदिनु, आफैँले किन्नुपर्ने र त्यसको बीमा पनि नहुँदा क्यामेरामा क्षति पुगेका आफैँले
बनाउनुपर्ने अनेक चुनौती छन् । परिश्रम र जोखिम धेरै छ, त्यस अनुसारको तलब सुविधा न्यून छ । जोखिममा काम गर्ने फोटो पत्रकार अति जोखिममा काम गरे पनि त्यो सञ्चारगृह र आम मानिसले बुझ्न नसकेको गुनासो उहाँहरूको छ । अहिलेको बन्दाबन्दीको जोखिमको चर्चा अध्यक्ष चित्रकार गर्नुहुन्छ । २०५३ सालदेखि बर्सेनि फोटो पत्रकारिता दिवस मनाउँदै आएको र यस वर्ष भने राहत सामग्री वितरण गरेर दिवस मनाइएको चित्रकारको भनाइ छ ।
ग्राफर होइन पत्रकारिता
फोटोग्राफीमा पत्रकारिताको मूल्य थपेपछि मात्रै हुन्छ फोटो पत्रकारिता । वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार भन्नुहुन्छ, ‘‘फोटोसप र क्यामेराबाट मिलाउने कार्यबाट बच्नुपर्छ वास्तविक गति र अवस्था लिन सक्नुपर्छ, पत्रकारिताको मूल्य बिर्सन मिल्दैन । ’’
फोटोलाई समाचार वा जानकारीका लागि भन्दा पनि खाली ठाउँ भर्नका लागि प्रयोग गर्ने गरेको, जथाभावी फोटो क्रप गर्ने गरेको, फोटोको परिचय (क्याप्सन) राम्रोसँग नपढी वा नबुझी सम्पादन गर्नेजस्ता समस्या फोटो पत्रकारितामा रहेको भनाइ उहाँको छ ।
फोटो पत्रकारितामा आएको नयाँ परिवर्तनलाई आत्मसात् गर्दै काम गर्न नसक्नु, पाठकहरूको चाहना बुझ्न नसक्नु, फोटोले दिने सन्देश र प्रभावलाई ध्यान नदिनु, पेसागतभन्दा व्यक्तिगत विचार र गलत नियत राखेर तस्बिरको प्रयोग गर्नुजस्ता समस्या पनि फोटो पत्रकारिताले सुधार्ने सुझाव गरिएको छ ।
सञ्चारविद् भानुभक्त आचार्यका अनुसार, ‘‘जस्तोसुकै प्रविधि आए पनि पत्रकारितामा तथ्यपरक वा वस्तुगत विश्लेषणका लागि फोटो पत्रकारिताको महìव अझ बढ्दै गएको छ, घटेको छैन । ’’ सञ्चारविद् हडसनका अनुसार, जुनसुकै प्रविधि, शताब्दी वा महाद्वीपमा भए पनि फोटो पत्रकारहरूका आँखा र ध्यान दृश्यात्मक स्वरूपमा समाचारको मर्मलाई पहिल्याउनु हो तथा आफ्ना तस्बिरहरूले क्याप्सन र समाचार विवरणसँग सहकार्य गर्नु हो ।