logo
२०८१ बैशाख १५ शनिवार



राष्ट्रिय जनगणनामा दलित गणक तथा सुपरीवेक्षक नियुक्ति गराउनु पर्ने माग

राष्ट्रिय |


राष्ट्रिय जनगणनामा दलित गणक तथा सुपरीवेक्षक नियुक्ति गराउनु पर्ने माग


गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर २४ गते । आगामी राष्ट्रिय जनगणनाका लागि गणक तथा सुपरीवेक्षक नियुक्तिमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने दलित अगुवाहरुले माग गरेका छन् ।
केन्द्रीय तथ्यांक विभागले बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ का विषयमा दलित अगुवाहरुसँग बुधबार गरेको छलफलमा अगुवाहरुले दलित समुदायको सही तथ्यांक ल्याउन जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको हो ।
दलित मुक्ति संगठनका नेता गणेश विश्वकर्माले विगतका जनगणना अन्य बाहुन, क्षेत्री लगायत जातसँग मिल्ने थरहरुका कारण विगतमा दलितको सही जनसंख्या नआएको बताउनुभयो । ‘गौतम, घिमिरे, पौडेल, कोइरालालगायत थरहरु दलितमा पनि हुन्छन्, बाहुन क्षेत्रीमा पनि हुन्छन् । विगतमा ती थरहरुको एउटै टेबुलेसन भयो । त्यसैले दलितको सही संख्या आएन ।’ उहाँले भन्नुभयो ।
उहाँले संविधानले छुट्याएको क्लस्टरअनुसार विभिन्न समुदायहरुको वर्गीकरण गरेमा जातजातिको सही तथ्यांक आउनसक्ने सुझाव दिनुभयो ।
जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका संयोजक राजकुमार हिङमाङले दलितको गणना गर्नका लागि दलितबारे जानकार र सुसूचित गणकहरुलाई समानुपातिक रुपमा खटाइनुपर्ने सुझाव दिनुभयो ।
नेपाल दलित मुक्ति संगठनका इन्चार्ज बमबहादुर विश्वकर्माले दलितहरुको जनसंख्या २० लाख रहेको अनुमान गरिए पनि तथ्यांकमा १३ प्रतिशत मात्रै आउनुका कारण खोजी गरी जनगणनाको पद्धतिमा सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै अधिवक्ता चक्रमान विश्वकर्माले दलितको परम्परागत पेसाको अवस्थासम्बन्धी तथ्यांक संकलन गर्ने प्रश्न प्रश्नावलीमा नभेटिएको बताउँदै भन्नुभयो, ‘दलितको परम्परागत पेसाबाट राष्ट्रिय अर्थतन्त्रमा पुगेको योगदान गणना कसरी गर्ने ? यो कुरा जनगणनाको प्रश्नावलीमा नछुटाउन सुझाव दिन्छु ।’ साथै उहाँले विगतमा भूमिहीन दलितहरुमो वास्तविक तथ्यांक नआएकोले आगामी जनगणनामा त्यो सुनिश्चित गरिनुपर्ने बताउनुभयो ।
सहरी क्षेत्रमा भाडामा बस्दा विभेदको डरले जात लुकाएर बसेका दलित व्यक्तिले आफ्नो जात र आर्थिक सामाजिक अवस्था खुलाउन सक्ने वातावरणमा जनगणना गर्न केन्द्रीय तथ्यांक विभालाई आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य मीना स्वर्णकारले नेवार समुदायभित्रको दलितलाई पनि जनगणनाले सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेवारभित्र पनि दलित र अछुत मानिएका थरहरु रहेकाले त्यो अन्यौलको सम्बोधन गरिनुपर्ने उहाँको भनाइ छ ।
ज्नता समाजवादी पार्टीकी केन्द्रीय सदस्य सुनीता मरिक डोमले पहाडी, नेवार र मधेशी दलितका विभिन्न थरहरु छुट्ने आशंका व्यक्त गर्दै दलित समुदायका गणकलाई खटाइनुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सबै तथ्यांक जनगणनाले ल्याउन सम्भव नभएकोले निश्चित समुदायको सम्पूर्ण विवरण पत्ता लगाउन छुट्टै सर्वेक्षण आवश्वय पर्ने बताउनुभयो । जनगणना विशेष गरी जन्म, मृत्यु, बसाइँसराइसँग बढी सम्बन्धित भएकोले कतिपय सामाजिक तथ्यांकहरु प्रशानिक पद्धतिमार्फत आउने बताउनुभयो ।
महानिर्देशक श्रेष्ठले जात समुदायको सही गणना गर्नका लागि सम्बन्धित समुदाय र व्यक्तिको समेत महत्वपूर्ण भूमिका हुने बताउनुभयो । जनगणनाको समयमा सही विवरण उपलब्ध गराउनका लागि सम्बन्धित समुदायमा क्रियाशील संघसंस्था तथा राजनीतिक दल आबद्ध संगठन तथा नेतृत्वले समुदायमा जनगणनाबारे जनचेतना फैलाउन अनुरोध गर्नुभयो ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेले बाह्रौँ राष्ट्रिय जनगणनामा सबै घरमा गणकहरु पुग्ने भएकाले हरेक व्यक्तिले सहयोग गर्नुपर्ने बताउनुभयो ।
बाह्रौँ राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुँदैछ । अब जनगणनाको मिति आउन १८१ दिन मात्र बाँकी छ । आगामी जनगणनामा ७० लाख घरपरिवार र तीन करोड जनसंख्या पुग्ने अनुमान गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?