logo
२०८१ बैशाख १६ आईतवार

  उखु किसानको पीडा  



सातवर्ष भयो चारलाख लिन बाँकी, ऋण थपिदैछ, घर चलाउन धौधौ

अर्थ |


सातवर्ष भयो चारलाख लिन बाँकी, ऋण थपिदैछ, घर चलाउन धौधौ


शान्ति लामा
काठमाडौँ, पुस १ गते । चिनी उद्योगले खरिद गरेको उखुको भुक्तानी नदिएपछि यतिबेला उखु किसानहरु काठमाडौँको माइतीघरमा धर्ना दिइरहेका छन् । सर्लाही रामनगर गाउँपालिका–१ का वयोवृद्ध किसान गगनदेव यादव पनि त्यहीँ भेटिनुभयो ।
उमेरले ७० वर्षका उहाँ छातीमा पोस्टर झुण्ड्याएर चिसो सडकमा पलेँटी कसेर बस्दैहुनुहुन्छ । अन्नपूर्ण सुगर मिलले खरिद गरेको उखुको भुक्तानी नपाएपछि सरकारले पहल गरिदेओस् भनी आन्दोलनमा आएको उहाँले सुनाउनुभयो ।
उहाँले सर्लाहीमा दुई बिगाहा जमिनमा उखु खेती लगाउनुभएको छ । नगद आम्दानीको एक मात्र स्रोत यही उखु खेती भएको बताउँदै उहाँले भन्नुभयो, ‘चार लाख रुपियाँ लिन बाँकी छ । २०७० सालदेखिको आज दिन्छु, भोलि दिन्छु भन्ने भाका कुर्दा कुर्दै यत्रो समय बित्यो । कहिले दशैँमा दिन्छु भन्छन्, छठमा दिन्छु भन्छन् । तर पैसा पाइनँ ।’
‘हामी उखु उधारोमा बेच्छौँ तर चिनी नगदमा बिक्री हुन्छ । हामीलाई आफ्नो उखुको मूल्य तिर्न किन यति आनाकानी ?’ उहाँले दुखेसो पोख्नुभयो ।
२०७२ सालमा कृषि विकास बैंकबाट दस लाख रुपियाँ ऋण लिएको उहाँले सुनाउनभयो । उहाँले भन्नुभयो, ‘बैंकले सूचना निकालिरहन्छ । तिर्न नसके मेरो घरजग्गा नै लिलाम गर्छ ।’‘गाउँमै पनि चिनी उद्योग हामीलाई कहिल्यै सुनेन । त्यसैले सरकारले हामीलाई आफ्ना उखुको मूल्य दिलाउन सहयोग गरोस् भनी बिन्ती गर्न यहाँ आएको हो ।’ उहाँले भन्नुभयो ।
दस जना नातिनातिनीलाई खुवाउने र पढाउने सबैको भर यही उखु खेती भएको यादवले बताउनुभयो । ‘त्यही पैसा पनि समयमा नपाएपछि हामी बालबच्चालाई कसरी कापीकलम दिने ?’ उहाँले प्रश्न गर्नुभयो ।
उखुको पैसा पाए सधैँ बर्खामा डुबिरहने बासलाई सुरक्ष्ािँत बनाउने उहाँको आशा छ । यादवले भन्नुभयो, ‘अझै मेरो घरअगाडि पानी छ । नातिनातिनीहरु पानीमा डुब्ला भन्ने ठूलो चिन्ता छ । पैसा आए बासको व्यवस्था पनि गर्न सकिन्थ्यो ।’
गाउँमा वडाध्यक्ष, सांसद, नेता सबैलाई भन्दा पनि समस्या समाधान नभएको उहाँको गुनासो छ । उखु किसानले पटक पटक गरेको आन्दोलनमा उहाँ काठमाडौँ आउनुभएको छ । अब भने उधारो सहमति गरेर नजाने उहाँलगायत किसानको अडान छ ।
‘जति दिन लागोस्, म यहीँ बस्छु । भुक्तानी नलिई त घर फर्किन्नँ । आन्दोलन गरी पनि पैसा नलिई घर गए गाउँमा बेइज्जत हुन्छ मेरो ।’ उहाँले सुनाउनुभयो ।
अहिले किसानहरुको नेतृत्व गरी काठमाडौँ आउनुभएका उखु किसान संघर्ष समितिका संयोजक रामस्वार्थ रायका अनुसार गत वर्षको माघ ७ गतेसम्म भुक्तानी दिने भनी गरिएको सम्झौला चिनी उद्योगहरुले कार्यान्वयन गरेनन् । चैतसम्म पनि सबै भुक्तानी नपाएपछि गत चैत ६ गते पनि किसानहरु काठमाडौँ आएका थिए । संयोजक यादवका अनुसार त्यतिबेला कोरोना संक्रमण र लकडाउनका कारण चैत ८ गते नै किसानहरु फर्किए । अब भने भुक्तानी नपाई किसानको आन्दोलन नरोकिने रायले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?