logo
२०८१ बैशाख १६ आईतवार



राष्ट्रिय जनगणना २०७८ : प्रश्नावली टुङ्गो लाग्यो

खुला |


राष्ट्रिय जनगणना २०७८ :  प्रश्नावली टुङ्गो लाग्यो


शान्ति लामा

काठमाडौँ, भदौ १७ गते । नेपालको बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को प्रश्नावलीको निधो गर्दै त्यसलाई राजपत्रमा प्रकाशित गरिएको छ ।
जनगणनामा प्रयोग हुने प्रश्नावलीको विषयवस्तु आमनागरिक तथा सरोकारवाला निकायको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको केन्द्रीय तथ्याङ्क विभागका जनसङ्ख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो ।

जनगणनामा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण तथा मुख्य प्रश्नावली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २६ मा स्वीकृत गरेको थियो । त्यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट सङ्कलन गरिने विवरणका लागि सामुदायिक प्रश्नावली असार ४ गते नै स्वीकृत गरिसकेको विभागले जनाएको छ ।

विभागका अनुसार पहिलो प्रश्नावलीले सुपरीवेक्षकद्वारा घर तथा घरपरिवार सूचीकरणमार्फत घर तथा घरपरिवारमै पुगी सोधिनेछ । घरको प्रयोगसहित सङ्ख्या, घरको तला, परिवारको बैङ्क खाता र ऋणमा पहुँच, सरकारी अनुदानमा बनेका घर, व्यावसायिक तथा प्राविधिक शिक्षा वा तालिम, परिवारमा अक्सर बसोबास गरेका परिवारका सदस्य महिला, पुरुष र अन्यको सङ्ख्या र परिवारका कृषिसम्बन्धी विवरण सङ्कलन गरिनेछ ।

घर तथा घरपरिवार सूचीकरण २०७८ वैशाख २६ देखि जेठ १४ सम्म गर्ने विभागको तयारी छ । दोस्रो प्रश्नावली गणकद्वारा घरपरिवारमा पुगी मुख्य प्रश्नावलीमार्फत गरिनेछ । त्यसमा पारिवारिक विवरण तथा व्यक्तिगत विवरण सङ्कलन गरिने निर्देशक लामिछानेले बताउनुभयो ।

घरको स्वामित्व, घरको संरचना, खानेपानी, शौचालय, बत्तीको स्रोत, खाना पकाउने इन्धन, मृत्युसम्बन्धी, परिवारमा अनुपस्थित विदेश गएका, महिलाको नाममा घरजग्गा तथा साना घरेलु व्यवसाय तथा अन्य घरायसी साधन र सुविधा सम्बन्धी प्रश्न यसमा समावेश छन् । व्यक्तिगत विवरणबाट घरपरिवारका सदस्य तथा व्यक्तिको लिङ्ग, उमेर, जातजाति, भाषा धर्म, वैवाहिक स्थिति, बालबालिका, अपाङ्गता, बसाइँसराइ, शिक्षा, महिलाको प्रजनन, आर्थिक क्रियाकलाप लगायत विवरण सङ्कलन गरिनेछ । यसका लागि २०७८ जेठ २५ देखि असार ८ सम्म समय तोकिएको छ ।

तेस्रो प्रश्नावली सुपरीवेक्षकले भर्नेछन् र त्यसलाई सामुदायिक प्रश्नावली नाम दिइएको छ । यो प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट वडास्तरको आधारभूत स्रोतसाधन, क्षमता र पूर्वाधारसम्बन्धी विवरण सङ्कलन गर्न प्रयोग गरिने विभागले जनाएको छ । यो प्रश्नावली गणकले मुख्य प्रश्नावलीका विवरण सङ्कलन गरिरहेकै बेला सुपरीवेक्षकले वडा कार्यालयबाट सङ्कलन गरिने विभागका निर्देशक लामिछानेले बताउनुभयो ।

प्रश्नावलीलाई अन्तिम रूप दिनुअघि विभागले गत असार १ देखि १५ गतेसम्म नमुना जनगणनासमेत गरेको थियो । त्यस्तै विभिन्न क्षेत्रका विज्ञ तथा निकायसँग छलफलसमेत गरिएको निर्देशक लामिछानेले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?