logo
२०८१ बैशाख २४ सोमवार



फोहोरी राजनीति र अस्थिरताको भुमरीमा नेपाल

चुनाव जित्न जनमन जित्नुपर्छ, पार्टीहरूका लागि यो यात्रा सजिलो छैन

विचार/दृष्टिकोण |


फोहोरी राजनीति र अस्थिरताको भुमरीमा नेपाल


डा. रामहरि ढकाल

नेपालमा राजनीतिक सरगर्मीको शृङ्खला पुरानै रहे पनि पाँचवर्षे जनादेश प्राप्त प्रतिनिधिसभा बीचमै विघटन गरी मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि राजनीतिक अस्थिरता फेरि दोहोरिएको छ । पत्रपत्रिका र सामाजिक सञ्जालहरू गाली गलौजले भरिएका छन् । केन्द्रको असर प्रदेश, स्थानीय तह, घरघरमा पुगेको छ । राजनीतिक तथा सामाजिक बेमेल र वैमनश्य बढेको छ ।
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी फुटको सँघारमा पुगेको बेला नेता–नेता र कार्यकर्ताबीच समेत हिलो छ्याप्ने काम मात्र भएको छैन, कपडा तानातान गरेर दुवै पक्ष सर्वाङ्गै नाङ्गो भइसक्दा पनि अझै चेत खुलेको छैन । अब फेरि कहिल्यै मिल्नु नपर्ने जस्तो गरी नेतृत्व पङ्क्ति नै तल्लो स्तरको गाली गलौज, बेइज्जती र पोल खोल्न व्यस्त छन् । कुरा सुन्दा कुनै पनि नेता राम्रा छैनन् भन्ने आकलन गर्न कुनै कठिनाइ पर्दैन । तर दुनियाँ यो फोहोरी खेलका खेलाडीहरू देख्दा लज्जित छन् । मुलुकले मुहार फेर्छ भन्ने लागेको थियो, नेतृत्वले चाहिँ मुहार फे¥यो, त्यो पनि कालो वर्णमा ।
अहिले पार्टी मात्र नभई प्राप्त लोकतन्त्र नै खतरामा परेको छ । जनता भन्न थालेका छन् – दुईतिहाई नफापेको होकि लोकतन्त्र ? राजनीतिक स्थिरता र विकासको फट्को मार्न ऐतिहासिक सुनौलो अवसर जुन थियो त्यो मुलुक र पार्टीले गुमाउँदैछ । विश्व इतिहासमा संसदीय व्यवस्थाबाट पनि कम्युनिस्ट सरकार स्थापित हुन सक्छ भन्ने नवीनतम अभ्यास असफल साबित हुँदैछ । विश्वबाट हराउँदै गरेको कम्युनिस्ट शासन नेपालमा भने अर्को रूपमा उदाउँदो क्रममा थियो, त्यसैले विश्वको चासो नेपालप्रति थियो, विश्व राजनीतिमा चर्चाको विषय बनेको थियो । कम्युनिस्ट सिद्धान्त भनेको गरिबको पक्षधर हो, कम्युनिस्टहरूले तल्लो तहका जनतालाई केन्द्रबिन्दुमा राखेर शासन गर्छन्, नेकपाको बहुमतसँगै अब नेपाल सुनौलो मार्गमा प्रवेश गर्दैछ, देश छोडी अवसरको खोजीमा विदेश पलायन भएका नेपालीले पश्चात्ताप गर्ने दिन आउँदैछ भन्ने सब सोचाइ अब मित्थ्या साबित हुँदैछ ।
पार्टी मिल्दा दुई जना नेताले चमत्कारै ग¥यौँ भन्दै एउटा जेटको दुई पाइलटसँग आफूहरूलाई दाँजे । एकता प्रक्रियाबारे तल्लो तहका कार्यकर्ताहरूको त कुरै छोडौँ, दोस्रो दर्जाका नेताहरूले समेत पत्तो पाएनन् । अहिले दुई अध्यक्ष नमिल्दा जनता सडकमा छन् । नेपाली जनताले फेरि दुःख पाएका छन् । राजनीतिक अस्थिरता र विकासमा भएको पछौटेपनले गर्दा देशमै केही गर्नुपर्छ भनेर बसेका युवा पुस्तामा निराशा छ, आफूले देश नछोडेकोमा ग्लानि भएको छ । अहिलेको अवस्था हेर्दा त जो युरोप, अमेरिकातिर विभिन्न सिलसिलामा गएर उतै भासिए, तिनीहरूले ठीक गरे कि ! जो जो खाडी मुलुकमा रगत पसिना बगाउँदै छन्, बरु तिनीहरूले ठीक गरे । अरू देशको त कुरै छोडौँ भारतमा चौकीदारी गरेर जीविकोपार्जन गर्ने नेपालीहरूले समेत स्वदेश बस्नेहरूको तुलनामा बरु सुखको सास फेरेका छन् । देशभित्रै केही गर्छु भन्दै स्वाभिमानी सोच राख्नेहरूले जीवन बर्बाद गरे, यस्तै यस्तै गफ सुन्नुपर्छ युवाको बीचमा, चोक चौतारीमा ।
केहीलाई हिजोको पार्टी एकता नै मन परेको थिएन । केहीलाई फुट फलदायी भएको छ, जसले एकाएक अवसर पाए, केन्द्रीय पदाधिकारी एवं सदस्य बन्ने मौका पाए, जनवर्गीय सङ्गठनहरू, राजनीतिक नियुक्तिहरूमा मौका पाए । बाँकी जनताले सास्ती मात्र पाए । जसजसले मौका पाए उसैले पार्टी र नेतृत्वको गीत गाए । जसजसले आफ्नो स्वार्थपूर्ति गर्न पाएका छन् वा पाउने आशामा छन् तिनीहरूले कालोलाई सेतो र सेतोलाई कालो भन्न लाज मान्दैनन् ।
राजनेताका कुशल सल्लाहकारहरूले दूरदृष्टि राखेर समय र परिस्थितिको विश्लेषण गर्छन् अनि उचित सल्लाह दिन्छन् । यहाँ त अर्को पक्षलाई सिध्याउने सल्लाह दिइयो भने यो राम्रो सल्लाहकार बन्छ । त्यसैले गर्दा अहिले पार्टीमात्र होइन, मुलुक नै भड्खालोमा पर्दैछ ।
देशको आर्थिक सूचक उसै त खराब छ बीचमै चुनाव गर्नु परे झन् के होला ? भ्रष्टाचार पक्कै बढ्ने नै छ । यस्तोबेला धमिलो पानीमा माछा मार्नेहरूका लागि सुअवसर प्राप्त हुन्छ । निश्चितै रूपमा वैदेशिक हस्तक्षेप पनि बढ्नेछ ।
छिमेकीहरू पनि नेपालमा अस्थिरता चाहन्छन् । प्रतिपक्षीलाई चुनाव नहोला भन्ने मात्र चिन्ता छ, निर्वाचन परिणाम आफूमा राम्रो हुन्छ भन्नेमा काँग्रेस ढुक्क छ । तर प्रतिपक्षीका रूपमा पछिल्लो तीन वर्षमा देखाएको निरीहताले गर्दा काँग्रेसका लागि निर्वाचन सोचेजस्तो फलदायी नहुन सक्छ । त्यसोभए वैकल्पिक पार्टी कुन हुन सक्छ ? त्यो अहिले नै आकलन गर्न नसके पनि व्यापक अस्थिरताका बीचमा मुलुकको नेतृत्व गर्ने कुनै नयाँ शक्ति तत्काल उत्पत्ति हुनसक्छ, चाहे राम्रो होस् वा नराम्रो । विश्व इतिहासलाई हेर्दा पनि पहिलो विश्वयुद्धपछि असमान भर्सेलिज सन्धिबाट आहत भएको जर्मनीमा राष्ट्रियताको सबाल उठाउँदै हिटलरको उदय भयो र दुई दशकमै विश्वमा तहल्का मच्चाउँदै १९४२ सम्म उनको विजयको मानचित्र उकालो मात्र लाग्यो, भलै उनको अन्त्य कारुणिक ढङ्गमा भयो ।
प्रतिनिधिसभा विघटनको बारेमा सर्वोच्च अदालतको निर्णय आउन बाँकी छ, यो विचाराधीन मुद्दामा निर्वाचन गर्ने निर्णय नै भयो भने पनि आगामी वैशाखमा निर्वाचन हुने सम्भावना अत्यन्तै कम छ । किनकि नेपालमा आवधिक निर्वाचनभन्दा पनि आफ्नो अनुकूलतामा निर्वाचन गर्ने चलन छ । तत्काल चुनावमा जाँदा आफ्नो पार्टी वा गुटले स्पष्टरूपमा जनताबाट तिरस्कार पाउँछन् भन्ने कुरा पार्टीहरूलाई थाहा छ, जुन उनीहरू चाहँदैनन् । फेरि स्वास्थ्य, सुरक्षा वा अन्य कुनै वहानामा निर्वाचन सार्न कुनै ठूलो कसरत गरिरहनु पनि पर्दैन यस बेला । अर्कोतिर सर्वसाधारण जनता निर्वाचनमा भोट हाल्नेभन्दा पनि नेता तिरस्कार गर्ने सोचमा छन्, मतपत्रमा बहिष्कार गर्ने सङ्केत राखे त्यसैबाट, होइन भने मतदानमा सहभागी नभएर । त्यस्तोबेला कुनै अमूक पार्टीले चुनाव बहिस्कार गर्छ र यो शक्ति अप्रत्यक्षरूपमा सशक्त बन्छ, मतलव अस्थिरताको निरन्तर हुन्छ । तत्कालीन राजा ज्ञानेन्द्रले पनि निर्वाचन गराए, निर्वाचन भयो तर नेतृत्व चयन हुन सकेन । बहुसङ्ख्यकले बहिष्कार गर्दा के हुन्छ, त्यही निर्वाचन सम्झे पुग्छ ।
नेपाली इतिहासमा बिरलै प्राप्त दुईतिहाईको यो सरकारले यस्तो हर्कत देखाएपछि फेरि केका लागि बहुमत ? दुईतिहाईको बहुमत प्राप्त सरकार चलाउन नसक्नेलाई किन मतदान ? राजनीतिक दलहरू कुन मुखले भोट माग्न जाने ? दोष कसलाई दिने ? के पुगेन भन्ने ? कसले रोक्यो भन्ने ? कुन नारा लिएर भोट माग्न जान्छन् ? अब जनताले नेता – नेताबीचको व्यक्तिगत आरोपलाई मात्र विश्वास गरेर भोट हाल्ने अवस्था छैन । नेकपालाई त झण्डा उही, नारा उही, एउटै चुनाव चिह्नमा दाबी, दर्शन÷सिद्धान्त उही तर पार्टी किन फरक ? भनेर जनताले पक्कै प्रश्न गर्नेछन् । अर्कोलाई दोष लगाएर आफू चोखिने अवस्था छैन । जनताले पलपलमा सरकार पार्टी, गुटहरू र व्यक्तिको व्यवहारलाई मूल्याङ्कन गरिरहेका छन् । किसानले धानमा हाल्ने मल पाएनन् । उखु किसानको समस्या समाधान भएको छैन । स्वास्थ्यर्मीहरू जोखिम भत्ता प्राप्तिका लागि आन्दोलन गर्दैछन् ।
अन्य दलले पनि सडक तताउँदै छन् । परिस्थितिले विषमताको उचाइ लिदैछ । जनआशाको धरोहर दुईतिहाईको सरकार प्रभावकारी बन्न सकेको छैन, त्यो पनि आफ्नैभित्रको अन्तरकलहले गर्दा । नेकपाका गुटहरू आफैँ नासिँदै छन्, जसरी यदुवंशीहरू नासिए । भाइभाइबीचको झगडाले महाभारत युद्ध भयो, दोष कसलाई
दिने ? आरोप प्रत्यारोप जे जे गरे पनि दुवै पक्षको राजनीतिक पराजय प्रायः निश्चित छ ।
पार्टी फुट नेताहरूको जुँगाको लडाइँ हो । यसमा सैद्धान्तिक आधार भेटिँदैन । फुटको औचित्य दुवै पक्षले पुष्टि गर्न सक्ने अवस्था छैन । तराजुमा जोख्दा केही तलमाथि होलान् तर नेतृत्व पङ्क्तिका नेताहरू कोहीभन्दा कोही कम छैनन् । सबैको नेतृत्वको सरकार हेरेकै हो । अहिले यो प्रतिकूल परिस्थिति सिर्जना भई राजनीतिक आकाशमा कालो बादल मडारिनुको पछाडि पनि नेतृत्वका सबै दोषी छन् । अध्यक्ष र प्रधानमन्त्री दुवै जिम्मेवारी लिनुभएका ओलीले छलफल र बहसको माध्यमबाट मिलनबिन्दुको खोजी गर्ने प्रशस्तै स्थान थियो तर गर्नुभएन । पराइलाई हँसाइयो, सच्चा कार्यकर्ता र निष्ठाको राजनीति गर्नेहरूलाई निराश बनाइयो । अधिकार सदुपयोग गर्नका लागि हो दुरुप्रयोग गर्नका लागि होइन ।
व्यक्तिगत स्वार्थपूर्ति गर्ने मौका पाएका नेता कार्यकर्ताहरू बाहेक तमाम लाखौँ कार्यकर्ताहरू अहिले पनि एकताको पक्षमा छन् । नेतृत्वको व्यक्तिगत घमण्ड्याइँ, लहडबाजी र सनक जनता र कार्यकर्ताहरूले समेत पचाएका छैनन् । अझै पनि थोरै समय छ, कोमामा पुगेको पार्टीलाई निर्णय दिन । एउटै ठूलो पार्टीले पूरा पाँच वर्ष सरकार चलाएको हेर्न जनता लालायित छन् । त्यसपछि जनता जनार्दनले मूल्याङ्कन गर्ने नै छन् कम्युनिस्ट सरकारका बारेमा ।
फुटेर चुनावमा जाँदा कुनै गुटले बहुमत पाएको नेपाली इतिहासमा छैन बरु लज्जास्पद हार भएको छ । राजनीतिक अस्थिरताले सांसद किनबेचदेखि अपहरणसम्म र तत्कालीन शासकहरूद्वारा प्रतिगामी कदम चालिएको इतिहास समेत छ । पार्टीहरूको पछाडि केही जमात लागेको देखेर हौसिनु पर्दैन । कार्यकर्ताले मात्र भोट दिएर पार्टीले कदापि जित्दैन । जित्नका लागि सर्वसाधारणको भोट चाहिन्छ । अत ः चुनाव जित्न जनमन जित्नुपर्छ, पार्टीहरूका लागि यो यात्रा सजिलो छैन ।
अत ः घमण्ड त्यागौँ, यसले कसैको हित गर्दैन । अझै समय छ तर साह्रै कम । पछि छलफल गर्नेगरी आरोपपत्र भनिएको प्रस्ताव फिर्ता गरौँ, प्रतिनिधिसभा विघटनको प्रक्रिया स्थगन गरौँ, पार्टीभित्रको विवाद भित्रै मिलाऔँ, व्यवहार गर्दा देखिएको होची–अर्घेली मूल्याङ्कन गरौँ, नेतृत्व गर्नेहरूले अरूको आलोचना मात्र नगरौँ, आत्मालोचना पनि गरौँ । कुनै पनि निर्णय गर्दा तीन करोड नेपालीको दुरावस्था सम्झेर गरौँ । फुटले हित गर्दैन र एकता नै बल हो भन्ने कुरा मनन गरौँ । पार्टी पङ्क्ति बलियो बनाऔँ र देशमा राजनीतिक स्थिरता कायम गरौँ । यही हो तमाम नेपालीको स्थिरताको चाहना । सकिन्छ त्याग गर्न ? यदि त्यसो गर्ने हो भने नेपाली जनताले अझै पनि पार्टी र नेतृत्व पङ्क्तिलाई माफी दिनेछन् ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?