logo
२०८१ बैशाख १६ आईतवार



ऐतिहासिक भूलबाट ऐतिहासिक अवसरतर्फ

यो बिरलै प्राप्त हुने अवसरलाई ‘क्याप्चर’ गर्ने साहस आज जनप्रतिनिधिले गर्नुपर्छ ।

विचार/दृष्टिकोण |


ऐतिहासिक भूलबाट ऐतिहासिक अवसरतर्फ


कृष्णमुरारी भण्डारी

परिवर्तनको आन्दोलनमा होमिएको यो पङ्क्तिकार पटक पटकको प्रहरी हिरासत, जेल, भूमिगत हुँदै ४० वर्षअघि मिसन पत्रकारितामा फाल हाल्न पुग्यो । ०४० सालमा पत्रकारको हैसियतमा समाचार सङ्कलन गर्न गएको पङ्क्तिकारलाई अराष्ट्रिय तìवको भेलामा सामेल भएको भनी गिरफ्तार गरी नख्खु जेलमा कोचियो । आरोप थियो–तँ किन शोषित पीडित गरिब निमुखाको पक्षमा समाचार, लेख, टिप्पणी प्रकाशित गर्छस् ? यथार्थपरक, सत्य र विश्लेषणात्मक समाचार लेख्नु नै अपराध ठानियो । जेलमा लोकतन्त्रका लागि जीवन न्यौछावर गरेका क्रान्तिकारीहरूसँग भेटघाट भयो । त्यसबेलाका अनुहारहरू थिए – मोहनचन्द्र अधिकारी, नरेश खरेल, घनेन्द्र बस्नेत, नारद वाग्ले, भीष्म धिमाल, प्रभाकृष्ण पौडेल, बेदुराम भुसाल, सुनिल मानन्धर, जीतेन्द्र देव, ठाकुर शर्मा, केदार कोइराला, मनप्रसाद गौतम, सुरेन्द्र भण्डारीलगायत । उहाँहरू समेत धेरै राजबन्दीसँंग घनिभूत छलफल भयो ।
नख्खु जेलबाट मुक्त भएलगत्तै ०४२ साल असार ६ गते रामराजा सिंहले गराएको भनिएको बम पड्काएको आरोपमा निरङ्कुश पञ्चायतले बिना पुर्जी गिरफ्तार ग¥यो । डर, त्रास, कुटपिट, यातना दिएर कायल पार्न अनेक प्रयत्न भए । तर संलग्न नै नभएको, सम्बन्ध नै नरहेको र असहमति राखेको हिंसात्मक क्रियाकलापको मतियार बन्ने कुरै थिएन ।
राजनीतिशास्त्रको विद्यार्थीको हैसियतमा ००७ सालदेखिको वामपन्थी आन्दोलनलाई नियालेर हेर्दा वामपन्थीलाई त्यो क्रान्तिमा विधिवत् रूपमा आन्दोलनको सहभागी बन्न दिइएन तर नेपाली कम्युनिस्टहरूले विभिन्न मोर्चा सम्हालेका थिए ।
सात सालको क्रान्ति जहानियाँ राणा शासन हटाएर संविधान सभामार्फत संविधान बनाउने एजेण्डामा मुलुक प्रवेश गरे पनि वामपन्थीहरू ऐतिहासिक रूपमै रङ्मङ्गिए । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई एक कार्यकालसम्म पूरा गर्न नदिई विस्थापित गरियो । दोस्रो महाधिवेशनमा पुष्पलालको कार्यक्रम त पारित भयो तर पार्टी नेता डा.केशरजङ्ग रायमाझीलाई बनाइयो । फलतः २०१५ सालको चुनावमा नेपाली काँग्रेसले संसद्मा दुईतिहाई सिट जित्यो । सशक्त भनिएको कम्युनिस्ट पार्टी चार सिटमा थचारिनुप¥यो । राजा महेन्द्रले पहिलो निर्वाचित सरकारलाई सेनाको बलमा कु गरे । प्रजातन्त्र मासियो । नेकपा महासचिव डा. रायमाझीले राजाको कुमा दीपावली गरे ।
सत्र सालपछि नेकपा टुटफुट मात्र भएन, एकले अर्कोलाई गद्धार, दलाल, विसर्जनवादी, आत्मसमर्पणवादी भन्ने आरोप सामान्य भए । सत्तोसरापले वामपन्थी आन्दोलनलाई बदनाम र छिन्नभिन्न पा¥यो । सबका सब महासचिव बने–रायमाझी पार्टी महासचिव । पुष्पलाल महासचिव । तुल्सीलाल महासचिव । मोहनविक्रम महासचिव । अरू पनि कैयौँ नेकपाका महासचिव बने । तुल्सीलाल र पुष्पलालको ‘कुन बाटो’ र ‘मूल बाटो’ भन्ने कार्यक्रम मात्र होइन कि मोहन विक्रमसिंहको
‘गद्धार पुष्पलाल’ सम्मका पुस्तक प्रकाशित भए । तेस्रो, चौथो, पाँचौँ महाधिवेशनका झगडा,
विवाद, अलमल, गालीगलौज चरम रहे । नेकपा दर्जनौँ समूहमा टुक्राटुक्रा भयो । वामपन्थी शक्ति क्षीण भयो ।
०३६ सालको जनमत सङ्ग्रह र त्यसपछि प्रतिबन्धित पार्टीका नामका देशव्यापी गतिविधिले वामपन्थीहरू काँग्रेससँग नझस्कने र काँग्रेसीहरू वामपन्थीबाट नतर्सने बने । आफूहरूलाई जुधाएर निरङ्कुशतावादीले शासन लम्ब्याइरहेको भेउ तिनले पाए अनि मात्र ०४६÷४७ को संयुक्त जनआन्दोलन सफल हुनसक्यो । वामपन्थीहरूबाट तर्सेको काँग्रेस र काँगे्रसबाट झस्केका वामपन्थीहरूले गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईसँग बसेर सहमति गरे । सात वामपन्थी दलहरू मिलेर वाममोर्चा बनाए । काँग्रेसले पनि आफ्नो कार्यक्रम बनायो । झण्डा बोकेर जुलुस, नारा, गिरफ्तारी दिए । आमसभा आयोजना गरे । प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा वामपन्थीहरूले आफूलाई लोकतान्त्रिक आन्दोलनको अभिन्न अङ्गको रूपमा साबित गरेपछि मात्र २०४६ साल चैत २६ गते २०१७ सालमा खोसिएको प्रजातन्त्र पुनस्र्थापना भयो ।
सोभियत सङ्घको विघटनपछि धेरै देशमा वामपन्थी विस्थापित भए पनि नेपालमा भने त्यसपछि मौलाउँदै गए । यसको जस मदन भण्डारीलाई जान्छ । उहाँले जनताको बहुदलीय जनवाद कार्यक्रम पारित गरेर नेकपालाई जनविश्वासमा आधारित लोकतान्त्रिक पार्टीमा रूपान्तरणका साथै लोकतान्त्रिक संस्कृति स्थापित गराउनुभयो । गुटफुटमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एउटै पार्टीमा एकत्रित पार्ने अभियान थाल्नुभयो । फलस्वरूप वामपन्थी प्रमुख प्रतिपक्षीदलको रूपमा संसद्मा समेत स्थापित भयो । अप्ठेरो र छोटो समयमा संविधान बनाउने, समयमा आमनिर्वाचन गर्ने लोकप्रिय सन्त नेता भट्टराईले भर्खरै भूमिगत जीवनबाट सार्वजनिक भण्डारीलाई हेय गर्दा आफैँ बजारिन, पछारिन र हार बेहोर्नुप¥यो । सन्त नेता प्रधानमन्त्री भट्टराईको यो हार नेपालमा मात्र होइन, विश्वभर चर्चाको विषय बन्यो । त्यतिबेला अमेरिकाबाट प्रकाशित हुने न्यूजवीकले मदन भण्डारीको अन्तर्वार्ता प्रकाशित ग¥यो–नेपाल ह्वेर कार्लमाक्र्स लीभ्स !
मदन भण्डारीले द्वन्द्वात्मक भौतिकवादी वर्गीय दृष्टिकोणबाट शिक्षित र दीक्षित गुटैगुटमा विभाजित नेपाली वामपन्थी समूहमा समयअनुसारको बहुलवादी शान्तिपूर्ण विचारबाट पनि समाजवादको यात्रा सम्पन्न गर्न सकिने प्रस्थापना स्थापित गर्नुभयो । संस्थापक महासचिव पुष्पलालदेखि मदन भण्डारीसम्मको यो यात्राले नेपालको वामपन्थी आन्दोलनमा माइलस्टोन (कोशेढुङ्गा) सिर्जना ग¥यो । मनमोहन अधिकारीदेखि वाममोर्चाकी अध्यक्ष एवं पुष्पलालकी धर्मपत्नी सहाना प्रधानसमेत यही अभियानमा सहभागी हुनुभयो ।
वामपन्थी आन्दोलनमा माओवादी जनयुद्ध, गद्धार, विसर्जनवादी, उग्रवादी, हिंसावादी, अवसरवादी लगायतका आरोप एकअर्कालाई लगाउँदै वैद्य, विप्लवलगायत अनेक समूह उपसमूहबाट समेत भूल भइरहे । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि अनेक अवसर आए तर गालीगलौज गर्दै एकअर्कालाई सराप्दै वामपन्थीहरू आपसमा फुटिरहे ।
मदन भण्डारीको दासढुङ्गा दुर्घटनामा निधन भएको २४ वर्षपछि अर्को माइलस्टोन नेपाली वामपन्थी आन्दोलनमा केपी ओलीले सिर्जना गर्नुभयो । उहाँले वामपन्थी एकतालाई गति दिने जवर्जस्त थालनी गर्नुभयो । १० वर्षे जनयुद्ध गरेर अलमलिँदै कहिले काँग्रेस, कहिले मधेशी, कहिले कोसँग भौँतारिएर शक्ति क्षय गरिरहेको नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई वामपन्थी एकतामा सहमत गराएर पार्टी एकता नै गर्नुभयो । अझै पनि माओवादीबाट बिभिण्डिएर हतियार उठाएको विप्लव समूहलाई शान्तिपूर्ण मूलधारमा ल्याउने र वामपन्थी प्रगतिशील विचारधारा बोक्ने सबैलाई एकसूत्रमा आबद्ध गर्ने अभियानलाई ओलीले तीव्रता दिइरहनुभएको छ । आज दिउसो २ बजे तीन बुँदे सहमति सार्वजनिक हुँदैछ जहाँ प्रधानमन्त्री केपी ओली र विप्लवले विशेष कार्यक्रमलाई एउटै मञ्चबाट सम्बोधन गर्नुहुनेछ । यो अर्को माइलस्टोन हो । पार्टी एकीकरण गरी नेत्रविक्रम चन्दलाई महासचिव पदको जिम्मेवारी दिने हो भने नेतृत्व पुस्तान्तरणको अभियानसमेत सुरुवात हुनेछ । यसको जस पनि केपी ओलीलाई नै जानेछ ।
फागुन ११ गते प्रतिनिधि सभा विघटनको राजनीतिक निर्णयलाई अदालतले संविधानमार्फत पाँच वर्षसम्म भङ्ग गर्न नपाइने नयाँ अवसर सिर्जना गरेको छ । यसबीच पनि कम्युनिस्ट पार्टीमा धेरै भूल भए । एकअर्कालाई गरिएका गाली तुच्छ र निकृष्ट नै रहे । सामाजिक सञ्जाल हेर्नलायक नै रहेनन् । निकृष्टताको पराकाष्ठा देखियो । पुस ५ यताका दुई महिनामा सभा, जुलुस र शक्ति प्रदर्शन व्यापक नै भए । कुवेरकै भण्डार भए पनि रितिन्थ्यो होला भनेर ठट्टा गर्दै टिप्पणी समेत भए । यो कार्यकर्ता, विचौलिया, अवसरवादी, जसरी पनि पैसा कमाउने चिन्तन चरित्र भएका र ठाउँठाउँ होल्ड गरेर सिण्डिकेट तयार पार्दै जुन पेसामा पनि राजनीतिक दलालीमार्फत माफियाहरूसँग साँठगाँठ गर्ने अभियानको महाभूल थियो ।
यो आधारभूत कुरामा भएको विचलन नै हो । प्राथमिक रोल मोडल (नमुना) गर्नुपर्ने ‘भेङ्गार्ड’ हरू नै च्यूत हुनुको परिणाम हो यो विचलन । यो नकारात्मक दिशा हो । विसर्जन हो । सिर्जनशीलता, प्रगतिशील, राजनीतिक आर्थिक रूपान्तरणतर्फको कदम कदापि होइन ।
फागुन ११ पछि नेपालको वामपन्थी आन्दोलन सात दशक बढीको आरोप–प्रत्यारोप, गुट र फूटको ऐतिहासिक शृङ्खलाबाट यस्तो डिलमा आइपुगेको छ, जहाँ हिजोका भूलहरू सुधार्ने स्वर्णिम अवसरछ ! यो वामपन्थी आन्दोलनका ऐतिहासिक भूलहरूलाई सच्याउने र रूपान्तरण गर्ने ऐतिहासिक अवसर हो । फागुन २३ गते आइतबार पुनस्र्थापित संसद्को अधिवेशन सुरु हुँदैछ । यो ऐतिहासिक दिन नेकपाले ऐतिहासिक काम गर्न सक्नुपर्छ । त्यो भनेको संसदीय दलको बैठकमा नेकपाका सांसदहरूले एकता प्रदर्शन गर्नुपर्छ । सबैले सबैका पूर्वाग्रही कुरा छाड्ने र मूल एजेण्डलाई लिएर अगाडि बढ्नुपर्छ ।

के हुन् अहिलेका मूल एजेण्डा ?
१) लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध राष्ट्र निर्माण गर्ने । संविधानका मौलिक हक र कर्तव्यमा बहसलाई केन्द्रित गरी त्यस अनुकूलका कामहरू गर्ने ।
२) प्रत्यक्ष निर्वाचित कार्यकारी निम्ति संविधान संशोधन किन, कसरी र कहिले गर्ने ? सङ्घीय, प्रदेश र स्थानीय निर्वाचन पाँच वर्षमा कहिले गर्ने हो अमेरिकामा जस्तै चुनाव हुने मिति नै तोक्न संविधान संशोधन गर्ने ।
३) जसरी हरेक व्यक्ति नयाँ वर्ष अथवा दशैँ वा जन्मदिनदेखि चुरोट खैनी छोड्ने, मासु र खोएविर्के मात्र होइन कुनै पनि जाँड रक्सी नखाने, पुराना आदत व्यवहारहरू बदल्ने, जथाभावी कपडा नलगाउने, आचरण सुधार्ने, हरेक दिन बिहान नुहाउने, कम्तीमा १० पृष्ठ पढ्ने, पाँच पृष्ठ लेख्ने भनेर अठोट गर्छन्, हो त्यसैगरी संसदीय दलका प्रत्येक सदस्यले समृद्ध नेपाल सुखी नेपाली अभियानमा लाग्ने प्रण गर्नुपर्छ । संविधानको पुनः एकपटक कसम खानुपर्छ ।
४) पार्टी घोषणापत्र, निर्वाचन प्रतिबद्धताको समीक्षा गर्ने । पार्टीका प्रत्येक उम्मेदवारहरू निर्वाचित होऊन् वा पराजित तिनको आचरण सार्वजनिक हुनुपर्छ । हरेकको सम्पत्ति विवरण पारदर्शी र सार्वजनिक हुनुपर्छ ।
५) सामाजिक एजेण्डा सेट (तय) गर्नुपर्छ । बेलायती उपनिवेशवादी मेकालेको कारिन्दा उत्पादन गर्ने शैक्षिक पाठ्यक्रम होइन, देशभरका सबै बालबालिकाले एउटै स्तरको व्यावहारिक, कर्मशील र उत्पादनमुखी शिक्षा पाउने व्यवस्था गर्ने । सबै नागरिकलाई एकैस्तरको स्वास्थ्य सुविधा सुनिश्चित गर्नुपर्छ । सुरक्षा, रोजगारी र आवासको ग्यारण्टी गर्ने । योग्यताअनुसारको काम र कामअनुसारको ज्याला÷तलब निर्धारण गरिनुपर्छ ।
६) निर्वाचन क्षेत्र विकास कोष खारेज गर्नुपर्छ । व्यवस्थापिका सदस्यले कार्यपालिकाको काम गर्ने होइन, कार्यपालिकाले हिनामिना गर्न नपाउने र गरे दण्डित हुने नीतिनियम बनाउने, त्यसलाई पुनरावलोकन गर्ने हुनुपर्छ ।
७) हाम्रो कर्मचारीतन्त्र बेलायतले उपनिवेशका निम्ति तयार गरेको लर्ड कर्जनवादी भारतीय भृत्यतन्त्रको कार्बनकपी भएकोले यसको जतिसक्दो छिटो पुनर्संरचना गर्नैपर्छ ।
८) राजनीतिलाई कमाउने पेसा होइन, ‘भोलिन्टियर सर्भिस’ गर्ने क्षेत्र बनाउनै पर्छ । एउटा पदमा दुई टर्म (पालो) भन्दा बढी बस्ने व्यवस्था हटाएर बूढो साँढेले कोरली बाच्छी ओगट्ने प्रथा अन्त्य गर्नेपर्छ ।
९) राजनीतिक पार्टी सबैको पहुँचको हुनुपर्छ । स्वयम्सेवी र समाजमा काम गर्न सक्षम प्रत्येक नागरिकको सहज पहुँच सबै पार्टीको सबै तहमा हुनुपर्छ । पार्टी भनेको निश्चित परिवारको प्राइभेट लिमिटेड कम्पनीजस्तो हुनुहुँदैन ।
१०) ७५३ स्थानीय निकायमध्ये कम्तीमा ५३ वटालाई सुशासन, समृद्धि र विकासको नमुना बनाउनैपर्छ । प्रदेशहरूको सङ्ख्या कसरी घटाउने सोच्नुपर्छ । तिनलाई कसरी सुव्यवस्थित, जनउत्तरदायी, पारदर्शी स्वयमसेवी बनाउन सकिन्छ ? एजेण्डा सेट गर्नैपर्छ ।
यसका लागि जसको नीति, उसको नेतृत्व स्थापित गर्नैपर्छ । जनता र राष्ट्र केन्द्रित एजेण्डामा छलफल विचार विमर्श हुनुपर्छ । बुद्धिजीवी, पार्टी नेतृत्व, कर्मचारी, प्राज्ञ, पेशकर्मीले गुट र निजी मामिलामा बहस गर्नै हुँदैन । यो कुनै पनि हालतमा देश र जनताको सुख र समृद्धिमा केन्द्रित हुनैपर्छ । हाम्रो आन्तरिक राजनीतिमा उत्तर–दक्षिण, पश्चिम र पातालले खेल्यो भनेर पन्छिन पाइँदैन । हामीले नै गर्न सक्नुपर्छ लाभ, हित, समृद्धि लागि अवसर खोज्ने काम । सङ्कटमा नै हामीले अग्रगति र प्याराडमसिफ्ट पनि गरेका छौँ । कूटनीतिमा ओली डक्ट्रिनबारे खोज–अनुसन्धान गरिरहनु भएका ‘बत्तीमुनि उज्यालो’ पुस्तकका लेखक अश्विन पुडासैनी भन्नुहुन्छ, अहिले पार्टी फुट्छ कि भन्ने त्रास मात्र छैन, अर्को सकारात्मक सम्भावना पनि उत्तिकै प्रबल छ र त्यो के भने, ऐतिहासिक भूलहरू सुधार्ने अवसर पनि अहिले चरम छ । राजनीतिक संस्कार संस्कृति, आर्थिक सांस्कृतिक रूपान्तरण, नयाँ सांस्कृतिक जागरण र हाम्रै आफ्नो मुलुक केन्द्रित बहस र अभियान सुरु गर्ने अवसर सशक्त रूपमा जुरेको छ ।
पुडासैनीले भनेजस्तै ऐतिहासिक भूलहरूलाई अवसरमा रूपान्तरण गर्न सक्ने हो भने यो बिरलै प्राप्त हुने अवसरलाई ‘क्याप्चर’ गर्ने साहस आज जनप्रतिनिधिले गर्नुपर्छ । आफू, गुट, समूह, सीमित परिवार केन्द्रित धरातलबाट माथि उठ्न सके साँच्चै मुलुक, जनता र पार्टीले काँचुली फेर्न सक्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?