logo
२०८१ बैशाख ५ बुधवार

  उपत्यकाको फोहोर व्यबस्थापन  



चालीस प्रतिशत उठिसक्याे, पूरै उठ्न अझै चार–पाँच दिन लाग्ने

खुला |


चालीस प्रतिशत उठिसक्याे, पूरै उठ्न अझै चार–पाँच दिन लाग्ने


काठमाडौँ, भदौ १८ गते । काठमाडौँ उपत्यकाको सडकको फोहोर उठाउने काम अबको चार–पाँच दिनमा उठाइसक्ने महानगरपालिकाले जनाएको छ । महानगर वातावारण विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार अबको चार–पाँच दिनमा काठमाडौँ उपत्यकाको सडकको पुरै फोहोर उठाउने काम सकिनेछ ।

सिसडोल ल्याण्डफिल साइट जाने बाटो बिग्रिएसँगै स्थानीयले अवरोध गरेपछि एक महिनादेखि उपत्यकामा फोहोर उठ्नसकेको थिएन । श्रेष्ठले भन्नुभयो, “सडकको फोहोर मात्रै उठाउन अझै चार–पाँच दिन लाग्छ ।” सिसडोलका स्थानीय र महानगरबीच गत मंगलबार सहमति भएपछि बुधबारदेखि फोहोर उठाउन थालिएको थियो ।

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको थियो ।

आजसम्म ४० प्रतिशत फोहोर उठिसकेको प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको फोहोर ४० प्रतिशत उठी सकेको छ, अब ६० प्रतिशत जति फोहोर उठ्न बाँकी छ, त्यो पुरै उठ्छ ।” काठमाडौँ महानगरले बन्चरे डाँडा सिसडोल क्षेत्र फोहोर व्यवस्थापनको दिगो विकल्पको रुपमा रहेको बताएको छ ।

अहिले सिसडोलदेखि दुई किलोमिटरको दूरीमा रहेको निर्माणाधीन सेनेटरी ल्याण्डफिल साइटमा फोहोर फालिदैँछ । सिसडोलसम्म जाने बाटो सडक विभागले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा तत्काल व्यवस्थापन गर्ने र स्थानीयले अवरोध गरे बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको थियो । स्थानीयबासीको मागअनुसार सडक कालोपत्रे गर्ने सहमति बनेपछि फोहोर फाल्ने वातावरण बनेको थियो ।

फोहोर उठाउन शुरु गरेको दिन गत बुधबार शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले पाँच–छ दिनमा बन्चरे डाँडामा फोहोर फाल्न मिल्ने गरी तयारी थालिएको बताउनुभएको थियो । तर मन्त्रालयले बन्चरे डाँडामा फोहोर फाल्ने तयारी थालेपनि त्यसको भौतिक पूर्वाधारको काम भने अझै सकिएको छैन ।

सरकारले २०६२–६३ देखि सिसडोलको विकल्पमा बन्चरे डाँडामा ल्याण्डफिल साइट निर्माणको काम अगाडि बढाएको छ । साइट वरपरको सडक पक्की गर्ने, ड्याम बाँध्ने, फोहोर प्रशोधन सेन्टर बनाउने, कर्मचारी बस्ने घर लगायतको बाँकी काम सम्पन्न गर्न अझै केही महिना लाग्ने प्रवक्ता शर्माको भनाइ छ । काठमाडौँ उपत्यकाको भक्तपुर नगरपालिकाबाहेक सबै स्थानीय तहका फोहोर सिसडोलमा विसर्जन हुँदैआएको छ । काठमाडौँ उपत्यकाबाट दैनिक १ हजार ५० मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?