logo
२०८० चैत्र १५ बिहीवार



लैङ्गिक हिंसाको पहिलो निशानामा किशोरी र महिला

खुला |
समाज |


लैङ्गिक हिंसाको पहिलो निशानामा किशोरी र महिला


काठमाडौं, चैत ११ गते । महिला आयोगमा परेको उजुरीका आधारमा लैङ्गिक हिंसा अन्तर्गत महिलामाथि हुने घरेलु हिंसा नै सबैभन्दा बढी हुने गरेको छ । किशोरी, बालबालिका तथा नाबालिकाहरुमाथि धेरैजसो यौनजन्य हिंसाको घटना भएको पाइएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताउनुभयो । उहाँका अनुसार आयोगमा घरेलु हिंसाका घटना धेरै आउने गरेका छन् ।

बाहिर र प्रहरीमा आएकोमा त्यहाँ पनि यौन हिंसाका घटना नै बढी हुने देखिएको छ । लैङ्गिकताका आधारमा महिला हिंसा बढी रहेको छ । महिला र किशोरी लैङ्गिक हिंसाको पहिलो निसानामा पर्ने समूह हो । लैङ्गिक हिंसाको जडका रुपमा रहेको सामाजिक मूल्य मान्यता र लैङ्गिक असमानताले महिला तथा किशोरीहरुमाथि हुने भेदभाव र हिंसालाई समाजले सहजरुपमा स्वीकार गर्ने गरेको छ ।

लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा यौनिकरुपमा असर पर्ने गरी हुने हिंसालाई लैङ्गिकताका आधारमा हुने हिंसा रहेको उहाँले बताउनुभयो । स्रोतसाधन, अवसर, जिम्मेवारी तथा हक अधिकारको असमान वितरण, सानो उमेरमा बालविवाह गरिनु, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाले लैङ्गिक हिंसाको अन्त्य हुनुको सट्टा बढ्दै गएको अध्यक्ष पराजुलीको भनाइ छ ।

उहाँका अनुसार कुटपिट, जर्बजस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा चोटपटक वा क्षति पुग्ने गरी काम गरेमा त्यो महिला हिंसाभित्र पर्छ । शारीरिक यातनाको डर, धाक धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौज गर्ने, अपशब्द बोल्ने, अरुका अगाडि होच्याउने, तिरस्कार गर्ने, झुठा कुरा लगाउने, घरबाट निकाला गर्ने, इच्छा विपरीत काम गर्न लगाउनेजस्ता गतिविधि पनि महिलामाथि हुने गरिएका छन्।

काम गर्ने स्थान, अध्ययन–अध्यापन गर्ने ठाउँ, सार्वजनिक यातायात वा अन्य सार्वजनिक स्थानमा, घरभित्र वा जुनसुकै स्थानमा गरिने  बलात्कारको प्रयास, बलात्कार, यौनशोषण, जबरजस्ती संवेदनशील अंगहरु छुने वा छुवाउने, जर्बजस्ती वा झुक्याएर यौन चित्र, फोटो वा फिल्म देखाउने वा जबरजस्ती संवेदनशील चित्र, फोटो वा फिल्म खिच्ने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने प्रकारका घटनाहरु यौनिक हिंसा भित्र पर्छ । त्यो पनि महिलासँग धेरै जोडिने गरेको अध्यक्ष पराजुलीको भनाइ छ ।

यौनिक हिंसाको धेरै जसो घटनाहरू चिनेजानेकै व्यक्तिबाट हुने गरेको तथ्याङ्कले देखाउँछ । अहिले पनि बलात्कार, जर्बरजस्तीका घटनाहरु बढी नै भइरहेको छ । त्यसका दोषीलाई लगभग ९० प्रतिशत कारबाहीको दयारामा ल्याएको भनेर समाचार आए पनि अनुसन्धानको प्रक्रियामा गएपछि विभिन्न किसिमका दवावले दोषीहरु उम्कने अवस्था रहेको अध्यक्ष पराजुलीले बताउनुभयो । त्यही उन्मुक्तिले अपराध गर्ने मानिसहरुलाई प्रोत्साहन हुने गरेको छ ।

‘यो दण्डहीनताकाे अन्त्य हुनुपर्छ, दोषीलाई उन्मुक्ति हुनु हुँदैन,’ अध्यक्ष पराजुलीले भन्नुभयो, ‘कानूनअनुसार कडा सजाय भए यी घटनाहरु रोकिन्छ ।’ महिला आयोगले एड्भोकेसीको काम गरिरहेको छ । यसका लागि आयोगले ‘पोलिसी इन्जेक्ट’ गरिरहेको छ । पोलिसी इन्जेक्सनको आधारमा आयोगले सिफारिस पनि गरिरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?