logo
२०७९ मंसिर २० मंगलवार



डाँकु पनि गुरू बनाइने प्रयाेगशाला हाे केन्द्रीय कारागार

खुला |
समाज |


डाँकु पनि गुरू बनाइने प्रयाेगशाला हाे केन्द्रीय कारागार


काठमाडौं, चैत २७ गते । केन्द्रीय कारागार सुन्धारामा रहेका कैदीबन्दीलाई शिक्षा दिने व्यवस्था गरिएको छ । रत्नाकर डाँकु परिवर्तित भएर वाल्मिकी बन्न सक्छन्र भने जस्तै धेरै वाल्मीकि उत्पादन गर्ने ध्येयका साथ जेल जीवनमा यस्ताे व्यवस्था गरिएकाे हाे । जागरुक जनशक्ति तयार पार्ने उद्देश्यले वि.सं. २०१९ बाट केन्द्रीय कारागार सुन्धारामा कैदीबन्दीलाई शिक्षा दिन अनौपचारिक रुपमा सुरु गरिएको थियो ।

तत्कालीन राजबन्दीहरु मोहनविक्रम सिंह, पदम शंकर अधिकारी, सि.पी.मैनाली र ओमकार श्रेष्ठलगायतको सक्रियतामा तत्कालीन दाइ–चौकिदार कान्छा गुरुङको विशेष पहलमा शिक्षालयको स्थापना गरिएको हो ।

बन्दी जीवन व्यतित गर्ने क्रममा सजाँय पाई कारागारमा परेका व्यक्तिहरुलाई बन्दी विकास शिक्षालयको स्थापनासँगै शिक्षा दिने क्रम आज पनि निरन्तर जारी रहेको कारागारले जनाएको छ । शिक्षालयमा स्थापनाकालदेखि नै एस.एल.सी.परीक्षा प्राइभेट रुपमा दिन मिल्ने व्यवस्था रहेको कारागारको अभिलेख छ । शिक्षालयले नियमित विद्यार्थीको रुपमा भर्ना तथा पठनपाठनका कार्यक्रमहरु वि.सं.२०५० बाट सुरु गरेको हो ।

वि.सं. २०५३ मा मावि तहमा स्तरोन्नति गरी २०७२ सालबाट कक्षा ११ र १२ को सम्बन्धन प्राप्त गरी शैक्षिक कार्यक्रमलाई अगाडि बढाइरहेको छ । भवनको अवस्था नाजुक अहिले शिक्षालयमा शैक्षिक कार्यक्रमहरु भइरहे पनि भवनहरु भने एकदमै नाजुक र अव्यवस्थित रहेको छ ।

एक शताब्दीभन्दा पुराना जीर्ण भौतिक संरचनामै शिक्षालयको सञ्चालन गर्नुपर्ने बाध्यतात्मक स्थिति छ । कक्षा कोठाहरु साघुँरा, होचा र कोठालाई प्लाईले छेकबार गरी कक्षा कोठा बनाइनुले एउटा कोठाको आवाज अर्को कोठामा पुग्ने र विद्यार्थीको पढाइमा अवरोध हुने समस्याहरु रही आएको छ । सीमित डेक्स, बेन्चका कारण लेखन तथा पठनपाठनका कार्यमा असहजता छ ।

यसका लागि बाहिरको जस्तो डिजिटल बोर्ड, प्रयोगात्मक कार्य प्रदर्शन स्थानको उपलब्धता भए सिकाइ कार्यले अझ फड्को मार्ने कार्यालय प्रमुख उप–सचिव तथा जेलर डोरेन्द्र निरौलाको भनाइ छ । उहाँका अनुसार पाठ्यक्रममा आधारित कृषि तथा विज्ञानलगायतका क्रियाकलापका लागि भौतिक अभावका कारण गमलाको प्रयोग गरेर भए पनि कृषि प्राविधिक ज्ञान उपलब्ध गराइने गरेको छ । विद्यालयमा भौतिक पूर्वाधारको कमीले सीमित विद्यार्थी मात्रै भर्ना गर्नुपर्ने बाध्यता छ ।

विनाशकारी भुकम्पपछि रातो स्टिकर टाँसिएका जीर्ण भवनमा कक्षा सञ्चालन गरिएको छ । विद्यालय भवन पुनः निर्माण प्राधिकरणलगायत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा प्रस्ताव पेश गरेपनि त्यसको अहिलेसम्म कतैबाट पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । विभिन्न सिर्जनशीलताका विषयलाई ध्यानमा राखी एक नमुना विद्यालय बनाउन जगन्नाथ मा।वि।कटिबद्ध रहेकाले कैद भुक्तान भएपछि व्यक्ति रिहाइ हुने हुन्छ । त्यो पल समाजले हेर्ने नजर, सोंच परिवर्तन गर्नका निमित्त उसमा शिक्षाको बीजारोपण गरी समाजमा पुनःस्थापना गर्न वा हुन योग्य बनाउने कार्यमा विद्यालय निरन्तर लागेको जेलर निरौलाले बताउनुभयो ।

कक्षा सञ्चालन दुई सिफ्टमा सीमित साधन र श्रोतका बीच यो विद्यालयले हजारौँ विद्यार्थीको उच्च शिक्षा प्राप्त गर्ने माध्यम बनेको छ । विद्यायलमा कक्षा २ देखि ७ सम्म प्रभातकालीन ६ः३०–१०ः०० सम्म र कक्षा १ र कक्षा ८ देखि १२ सम्म सन्ध्याकालीन ५ः००–९ः०० बजेसम्म दैनिक दुई चरणमा कक्षा सञ्चालन हुँदै आएको छ । बाहिर सञ्चालित विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनको लागि युवा तथा ज्येष्ठ नागरिक दुबै उमेर समूहको विद्यार्थीको अभिभावक भइ विद्यालयले काम गर्दै आएको छ ।

हाल विद्यालयमा ११ जना शिक्षक र ३७९ जना विद्यार्थी छन् । कक्षागत विद्यार्थीको विवरण कारागार शिक्षालयको तथ्यांकअनुसार शैक्षिक सत्र २०७०/७१ सम्म कक्षा सञ्चालन अनुमति रहेको हुँदा सो सत्रमा १४३ र १४४ जना विद्यार्थी रहेका थिए । २०७२ देखि कक्षा ११ र १२ भएदेखि २०७२ मा १७३, २०७३ मा २१९, २०७४ मा २५६, २०७५ मा २७७, २०७६ मा ३३७, २०७७ मा ४२९ र २०७८ मा ३७९ जना विद्यार्थी छन् ।

यस्तै, उच्च शिक्षा हासिलका लागि यो विद्यालयबाट विभिन्न विश्व विद्यालयले परीक्षा केन्द्र तोकी २०७० सालदेखि हालसम्म परीक्षामा सहभागी भएका विद्यार्थीहरुमा २०७० सालमा २६ जना, २०७१ मा ३०, २०७२ मा ४६, २०७४ मा ५८, २०७५ मा ५५, २०७६ मा ६५, २०७७ मा ३० र २०७८ सालमा २८ जना विद्यार्थी परीक्षामा समावेश भएका छन् । यसरी जगन्नाथ माविबाट अहिलेसम्म उच्च शिक्षातर्फ ३६१ जना विद्यार्थी परीक्षामा समावेश भएका छन् भने दुई हजार ३५७ जना विद्यार्थीले पढ्ने मौका पाएका छन् । परीक्षा दिने र पढ्ने गरी जम्मा दुई हजार ७१८ जना विद्यार्थीले अहिलेसम्म यहाँबाट शिक्षाले लिने मौका पाएका छन् । पुस्तकालयले स्वाध्ययनको पूर्ति गर्दै विद्यालयसँगै कारागारमा श्री बन्दी विकास पुस्तकालय पनि छ ।

यस पुस्तकालयमा नेपाली भाषामा रहेका विभिन्न–उपन्यास, जीवनी, प्रेरणादायी, गैरआख्यान, इतिहास, राजनीति, निवन्ध, कथा संग्रह, सामाजिक, नाटक, संस्मरण, शैक्षिक, कविता संग्रह र काव्य साहित्य, कानुन, आत्मकथा, गजल, सामान्य ज्ञान, विज्ञान, हास्यव्यङ्ग्य गरी हजार ४८७ वटा पुस्तक पाइन्छ । हिन्दी भाषाका ३३०, धार्मिक २९३ र अंग्रेजी भाषाका एक हजार गरी जम्मा तीन हजार ११० वटा पुस्तक छन् ।

मानव जीवनमा आवश्यक पर्ने शिक्षा प्राप्त गर्ने विद्यालयपछिको दोस्रो माध्यम स्वाध्ययन हो । यसको पूर्ति पुस्तकालयले गर्दै आएको जेलर निरौलाले बताउनुभयो । उहाँका अनुसार यो कारागार नभइ सुधार गृह हो । कारागारमा सभ्य मानिस पनि छन् । कैदीबन्दीले सधैँ अपराध गर्दैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?