logo
२०८१ बैशाख ७ शुक्रवार



तिहारमा पटका, मानिस, जनावर र पर्यावरण सबैका लागि घातक

खुला |


तिहारमा पटका, मानिस, जनावर र पर्यावरण सबैका लागि घातक


काठमाडौं, कात्तिक १३ गते । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै नेपालका विभिन्न नाका हुँदै पटाका भित्र्याउने क्रम बढ्दै गएको छ ।
तिहारलाई लक्षित गरी पटाका भित्रिने क्रम बढ्दै गएपछि प्रहरीले यसलाई रोक्न निगरानी बढाएको छ भने धनजनको क्षति हुनबाट सचेत रहन आग्रह गरेको छ ।
सीमा नाकामा सुरक्षाकर्मीले निगरानी बढाएपनि तस्करले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको छ ।
यसरी भित्र्याइएको पटाकाले तिहारमा वर्सेनि धनजनको क्षति हुने गरेको केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर बताउनुहुन्छ । तस्करले सीमावर्ती भारतको रक्सौलबाट पर्सा जिल्लाको भिस्वा, पर्सौनी, सिर्सया, जानकी टोल र ठोरी नाकाबाट पटाका भित्र्याउने गर्छ । त्यस्तै बाराको मोतिहर्वा, ठवैगोठ, सिमरौनगढ र कचोरवा नाकालगायत तराईका विभिन्न जिल्लाबाट पटाका भित्रिने गरेको उहाँले बताउनुभयो ।
‘तिहारका लागि पटाका ल्याउने क्रम जारी छ, प्रहरीको निगरानी पनि बढेको छ, दैनिक जसो पटाकासहित तस्करलाई समाति नै रहेका छौँ, यो अबैध काम हो भन्ने जानेर पनि मानिस प्रयोग गर्न छोड्दैनन्,’ प्रवक्ता कुँवरले भन्नुभयो ।
प्रज्वलनशील रहेको पटाका नेपालमा प्रतिबन्ध भए पनि व्यापारीले बढी नाफाका लागि लुकाइछिपाइ भित्र्याउने गरेको उहाँले बताउनुभयो । ‘रातारात पैसा कमाउने लोभमा ज्यानकै बाजी राखेर यस्ता काम तस्करहरुले गर्ने गर्छन्,’ उहाँले भन्नुभयो, ‘भारतको रक्सौललगायत विभिन्न ठाउँबाट आउने जीप, ट्रक तथा सुख्खा बन्दरगाहमा आउने सवारीसाधनमा लुकाइछिपाइ पटाका नेपाल भित्र्याउने गरिन्छ ।’
मनोचिकित्सक डा.पुजन शर्माले तिहार विशेषतः झिलिमिली चाड भएको बताउनुभयो । तिहारमा बालिने झिलिमिली बत्तिहरू अहिले बजारमा निकै आउने गरेको छ । तर, कतिपय यस्ता सामानहरूले मानव जीवनमा ठूलो असर पार्ने गर्छ । यसले मानिसको जीवन नै प्रभावित हुने गरेको उहाँ बताउनुहुन्छ ।
डा.शर्माले भन्नुभयो, ‘पटाका खासमा पड्काउनै नहुने कुरा हो, यसको आवाजले बच्चादेखि ज्येष्ठ नागरिकसम्मलाई असर गर्छ ।’ तिहारमा भएको यस्ता गतिविधिले निम्तिएको कति केस अस्पतालमा आउने र त्यो गम्भीर प्रकृतिको हुने गरेको डा.शर्मा बताउनुहुन्छ ।
डा.शार्माका अनुसार पटाकाको ठूलो आवाजले कोलाहाल हुने र पारिस्थितिक प्रणाली खलबलिने गर्छ । साथै पटाकाको ठूलो आवाजले मासिनलगायत जनावरको कानको जाली समेत फुट्न बहिरो समेत हुन सक्ने उहाँले बताउनुभयो ।
‘यो आफैमा गम्भीर समस्या रहेकाले प्रयोगकर्ता आफैँ सचेत हुनुपर्छ,’ डा.शर्माले भन्नुभयो । यसको विकल्पमा विभिन्न विधि प्रयोग गरी रमाइलो गर्न सकिने उहाँको सझाव छ । ‘सुरक्षित तरिकाले दियो बालेर, साथीभाइसँग नाचगान गरेर तिहार मनाउन सकिन्छ पटाका पड्काउन आवश्यक देखिदैन ।’ यो विकृतिको रुपमा रहेको समेत उहाँ ले बताउनुभयो ।
तिहारमा विशेष गरी कुकुरको पूजा गरिन्छ । तर पटाकाले कुकुरलगायत अन्य जनावरलाई कतिसम्म असर गर्छ भन्ने कुरा आम मानिसले ख्याल नगर्ने पशु चिकित्सक डा.टंक प्रसाईले बताउनुभयो । उहाँका अनुसार कुकुरमा सुन्ने र सुघ्ने शाक्ति धेरै भएकाले ठूलो आवाजको पटाकाले खतरा हुने हुन्छ । ‘पटाकाको आवाजले कुकुरलगायत अन्य जनावरमा सुन्ने शाक्ति गुम्न सक्छ,’ उहाँले भन्नुभयो । पटाका आगोसँग सम्बन्धित भएकाले सकेसम्म यसको प्रयोग नगर्न उहाँको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?