logo
२०८१ मंसिर ८ शनिवार

सदभाव र भ्रातृत्वको प्रतिक बन्दै छठ पर्व

खुला |
समाज |
फोटो फिचर |


2021-11-10-50276


भादगाउँ, कात्तिक २४ गते । भक्तपुर कमलपोखरीको किनारमा छठको पूजाका लागि घाट सजाउन व्यस्त हुनु हुन्थ्याे सिर्जनानगरकी सीता थापा । ढकियामा केरालगायत विभिन्न फलफूल, नरिवल, दूध, माल्पा र सेलरोटी सजाएर बसेका थापाले पारिवारिक सुख, शान्ति र समृद्धि एवं सन्तानको उज्जवल भविष्यको प्राथना गर्दै यस वर्ष छठको व्रत लिएको बताउनुभयो ।



पैँतालिस वर्षीया थापाले विगत १२ वर्षदेखि परिवारकै निम्ति सूर्यको आरधना गर्दै छठको ब्रत बस्दै आएको बताउनुभयो । कमलपोखरीमा नै अस्दाउँदो सूर्यलाई अघ्र्य दिन तयार भइरहनुभएकी भक्तपुर कमलविनायककी सीता बस्नेतले पारिवारिक कल्याण र सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने प्रार्थनासहित छठको व्रत लिएको बताउनुभयो । उमेरले झण्डै छ दशक पुग्नुभएकी सीताले भन्नुभयो, “मैले विगत १७ वर्षदेखि छठको व्रत लिँदै आएकी छु । भगवान् सूर्यको उपासनाले मेरो मनोकाङ्क्षा पूरा भएको छ ।”

त्यसैगरी सल्लाघारी सिर्जनानगरकै ५० वर्षीया शान्ता कँडेलले पनि विगत ११ वर्षदेखि सूर्यको आराधना गर्दै छठको व्रत बस्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “कसैको देखासिकीले होइन । छठप्रतिको आस्थाले यो व्रत लिएकी हुँ ।” छठको व्रत बस्दा पारिवारमा सुख, शान्ति मात्र नभएर मनले चिताएको सबै पुगेको उहाँले बताउनुभयो । “सूर्यदेव संसारलाई नै उज्योलो दिने देवता हो । सूर्यको पूजाविना जीवन उज्यालो हुँदैन त्यसैले मैले छठको व्रत लिएको हो । यो व्रत बसेदेखि मेरो परिवारमा सुख शान्तिले छाएको छ । मैले लिएको व्रतले मेरा सन्तान चाहना पूरा भएको छ । मैले सकुञ्जेल यो व्रत बस्छु र अरुलाई पनि यो व्रत बस्न आग्रह गर्छु । यो वर्षदेखि बुहारीले पनि छतको व्रत लिएकी छिन्”, उहाँले भन्नुभयो ।

विशेषगरी तराई–मधेशमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यका र अन्य समुदायमासमेत लोकप्रिय बन्दै गइरहेको छ । भक्तपुरको कमल पोखरीमा मधेसी समुदायले मात्र होइन पहाडी समुदायले समेत छठीमाईको पूजा गरी छठको व्रत बसेका छन् ।

सद्भाव अनि भ्रातृत्वको प्रतिक छठ पर्वमा हर्षोल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारामा सिँगारेको तयार पारिएका घाटमा छठीमाताको पूजा आराधना गरी अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई दूधको अर्घ दिएर यो चाड मनाइन्छ ।

यो पर्व चार दिनसम्म मनाइन्छ । छठको पहिलो दिनलाई अरबा अथवा नुहाई खायु, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ र चौथो दिनलाई बिहनीया अर्घ भनिन्छ । छठको पहिलो दिन छठ मनाइने नदी, ताल तलैया, पोखरीको किनार सरसफाइ गर्ने, केराका खम्बा जम्मा गरेर तिनलाई बाँसले उनेर एक प्रकारको पानीमा नडुब्ने नाउँ बनाइन्छ ।

तस्बिरहरू : सुजन गुरूङ्ग/विकास द्वारे