अमृतप्रसाद पौडेल
बेनी, कार्तिक २५ गते । वन्यजन्तुहरु पासोमा परेर मरेको भेटिएपछि हिमालपारीको जिल्ला मुस्ताङको उच्च क्षेत्रमा मुस्ताङका प्रमुख जिल्ला अधिकारीको कमाण्डमा गस्ती नै थालिएको छ । मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रा क्षेत्रमा ५ वटा दुर्लभ कस्तुरी सहित ७ वटा जङ्गली जनावर पासोमा परेर मरेको भेटिएपछि अन्य जङ्गलमा समेत गस्ती थालिएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको कमाण्डमा नेपाल प्रहरीको प्रहरी नायव उपरिक्षक(डिएसपी), सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक(डिएसपी), राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को स्थानीय संरक्षण व्यवस्थापन समिति लगायतको संलग्नतामा घरपझोङ गाउँपालिका–५ ओमाङ जङ्गलमा गस्ती गरिएको हो । प्रजिअ पौडेलसहितको टोलीले मंगलबार गस्ती गर्दा वन्यजन्तु मार्नका लागि प्रयोग हुने कुनै चिज नभेटिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय जोमसोमका प्रमुख ऋषि बरालले बताउनुभयो । प्रजिअ शर्माको नेतृत्वमा गएको सुरक्षा समितिसहितको टोलीले वन्य जन्तुहरु देख्नुका साथै कस्तुरीले बिष्टाएको समेत भेटिएको भए पनि चोरी शिकारीका लागि कुनै पनि धराप थाप्ने तथा कुनै पासोहरु फेला नपारेको बरालले बताउनुभयो ।
तिहार भन्दा पहिला १६ देखि १८ गतेसम्म बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका–१ लुप्रा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा एक्याप जोमसोमको टोलीले गस्ती गर्दा जंगली जनावर मार्नका लागि थापेका १६९ थान पासो फेला पारेको थियो । तस्करहरुले मोटरसाइकल तथा स्कुटरको ब्रेकमा लाग्ने खालको फलामे तारले मजबुत खालको पासो बनाएको फेला परेको कारण तिहार लगत्तै प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले जंगल क्षेत्रमा गस्ती गरेको सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक(डिएसपी) मोहनजंग कार्कीले बताउनुभयो ।
तिहार पहिला वन गस्ती टोलीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा जङ्गलमा पासोमा परी मृत फेला परेका ५ कस्तुरी र २ रेड फक्सलाई प्रहरीको रोहबरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय जामसोममा ल्याएर मुचुल्का उठाएर नष्ट गरिएको थियो । २ वटा भाले र ३ वटा पोथी कस्तुरी, २ वटा रातो फ्याउरो, मृत अवस्थामा फेला पारेको थियो भने पासोमा परेर फसेको अवस्थामा भेटिएको एउटा कस्तुरीलाइ सामान्य उपचार पछि जंगलमै छाडिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन–२०२९ द्वारा संरक्षित सूचीमा कस्तुरीलाई राखिएको छ । सन् २०१८ मा नेपालको मुस्ताङबाट पत्ता लागेर जेनेटिक टेष्ट गर्दा समेत नेपालमा पाइएको पछिल्लो प्रजातिको कस्मिरी कस्तुरी मुस्ताङ जिल्लामा मात्रै पाइन्छ ।