तिलाचन पाण्डे
तम्घास (गुल्मी), पुस १५ गते । मङगलबार रातीदेखी परेको हिउँदे बर्षाका कारण गुल्मीको पबित्र धार्मिकस्थल रेसुङगामा हिमपात भएको छ । हिमपात हेर्न सदरमुकाम तम्घासदेखि रेसुङगामा युवाहरुको भिडभाड छ ।
आज बिदाको दिन परेकाले पनि रेसुङगामा हिमपात अबलोकन गर्न र हिउँमा खेल्न जानेको संख्या ठूलो रहेको स्थानीयको भनाई छ । हिमपात पश्चात चिसोका कारण गुल्मीको जनजीबन कष्टकर बनेको छ ।
चिसो बढेपछि तम्घास बजारका चोकचोकमा स्थानीयले आगो बालेर ताप्न थालेका छन् । यता, चिसो बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै चिसोबाट बच्न नागरिकहरुलाई सचेत गराएको छ ।
चिसोको समयमा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरुलाई बिशेष ख्याल गर्न प्रशासनले आग्रह गरेको छ । शरीर तातो हुनेखालका खानेकुराहरु खान र न्यानो कपडा लगाउन प्रमुख जिल्ला अधिकारी पुन्यबिक्रम पौडेलले आग्रह गर्नुभयो । काठ दाउरा बालेर आगो ताप्दा र तापजन्य बिद्युतीय सामग्रीको प्रयोग गर्दा सजगता अपनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।
आगो ताप्दा र बिद्युतीय हिटरको प्रयोग गर्दा प्रर्याप्त भेन्टिलेसन भएको कोठामा सहज अक्सिजन आपुर्ति हुनेगरी सावधानी अपनाउन र सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले चिसोको समयमा बालबालिका, बृद्धबृद्धा, दीर्घ रोगीहरुलाई बढी असर गर्ने भएकाले बिशेष ख्याल गर्न आग्रह गर्नुभयो ।