logo
२०८१ बैशाख ७ शुक्रवार



स्थानीय तहको निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन

मुख्य समाचार |


स्थानीय तहको निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन


काठमाडौँ, माघ २६ गते । गृह मन्त्रालयले आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीका लागि गृहकार्य सुरु गरेको छ । निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिने भएको छ । विगत १० वर्षयता प्रहरी र सशस्त्र प्रहरीबाट अवकाशप्राप्त पूर्वसुरक्षाकर्र्मीलाई ‘म्यादी’ मा भर्ना गर्ने तयारी छ ।

गृह मन्त्रालयअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं सहसचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्था, त्यसका लागि आवश्यक तयारी, सुरक्षा जनशक्ति, परिचालन, मतदान केन्द्र र सुरक्षा अवस्थाका विषयमा गृहकार्य सुरु गरेको हो ।

वैशाख ३० गतेलाई निर्धारित स्थानीय तहको निर्वाचन सुरक्षा, तयारी, बन्दोबस्ती र परिचालनलगायतका विषयमा गृहकार्य तथा छलफल सुरु भएको सहसचिव निरौलाले बताउनुभयो । मतदान स्थल, मतदान केन्द्र र उपमतदान केन्द्रको विवरण सङ्कलन तथा सङ्ख्याका सम्बन्धमा निर्वाचन आयोगसँग छलफल भएको छ ।

उहाँले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने निर्णयसँगै मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या, त्यसका लागि आवश्यक सुरक्षा जनशक्ति, जिल्लागत तथा मतदान स्थलको सुरक्षा अवस्था र म्यादी प्रहरी भर्नाका सम्बन्धमा छलफल भएको थप जानकारी पनि दिनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १० वर्षको अवधिमा अवकाश लिएका पूर्वकर्मचारीको विवरण सङ्कलन गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको छ । सो सङ्ख्यापछि युवालाई म्यादी सुरक्षाकर्मीका रूपमा भर्ना लिइनेछ । मुलुकका ७७ वटै जिल्लाको सुरक्षा अवस्थाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई राय सुझावका लागि सिफारिस गर्न पत्राचार गरिएको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसमा जिल्ला तथा मतदान स्थल र केन्द्रहरूलाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन चरणमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइनेछ । त्यसका लागि आवश्यक बन्दोबस्ती सामग्रीहरू सवारीसाधन, हातहतियार, गोलीगठ्ठा, सञ्चार सेटलगायत सुरक्षा उपकरणको व्यवस्थापनका लागि पनि छलफल भएको जानकारी उहाँले दिनुभयो ।

निर्वाचन सुरक्षामा मतदान स्थल सुरक्षाको पहिलो घेरामा प्रहरी, त्यसपछि म्यादी प्रहरी, सशस्त्र प्रहरी र सेनालाई राखिएको छ । छलफलमा प्रहरीका तर्फबाट कार्यविभाग प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र धानुक, सहायक रथी सञ्जय देउजा र सशस्त्र प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत सुरक्षा अधिकारी सहभागी हुनुहुन्थ्यो ।

प्रहरी प्रवक्ता विष्णु केसीले प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रमुख प्रहरी नायब महानिरीक्षक धानुकको कमान्डमा निर्वाचन सुरक्षा व्यवस्थापन तथा परिचालन कमिटी गठन भएको जानकारी दिनुभयो । सशस्त्र प्रहरी र सेनाले पनि आन्तरिक गृहकार्य भइरहेको जनाएको छ ।

गृह मन्त्रालयले निर्वाचन आयोग, चारैवटा सुरक्षा सङ्गठन र जिल्ला प्रशासन कार्यालयहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ । सोही योजनाअनुसार निर्वाचन सुरक्षा तयारीसम्बन्धी छलफल अगाडि बढ्ने गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?