logo
२०८० चैत्र १५ बिहीवार



भर्चुअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास

राष्ट्रिय |


भर्चुअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास


काठमाडौँ, चैत ४ गते । आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले मतदान केन्द्रको ‘भौगोलिक र संवेदनशील’ स्थलका आधारमा निर्वाचन सुरक्षा रणनीति अभ्यास सुरु गरेको छ ।

निर्वाचनमा आइपर्ने सम्भावित चुनौती, बाधा व्यवधान र अप्ठ्यारो अवस्थाको व्यवस्थापनका लागि प्रदेश र सङ्घमा गरी सातवटा बाहिनीस्तरमा भुर्चअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास गरिएको सशस्त्र प्रहरी प्रवक्ता कोमलप्रसाद तिउसिनाले बताउनुभयो ।

स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी नायब महानिरीक्षकको कमान्डमा केन्द्रीयस्तरीय, बाहिनीहरूमा प्रदेशस्तरीय र जिल्लास्थित गण तथा गुल्ममा जिल्लास्तरीय निर्वाचन सेल गठन गरिसकेको छ । त्यसका लागि स्थानीय तह निर्वाचन सुरक्षा अनुशिक्षण तालिम पाठ्यक्रम–२०७८ तयार पारी आवश्यक प्रशिक्षण दिने कार्य जारी छ । निर्वाचन सुरक्षामा करिब ३४ हजार सशस्त्र प्रहरी जनशक्ति परिचालन हुने जनाइएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक तिउसिनाले निर्वाचन सुरक्षाका लागि जनशक्ति र स्रोतसाधन व्यवस्थापन योजना बनाउने कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । बाहिनी मुख्यालयलाई प्रदेशगत र गण–गुल्मलाई जिल्लागत निर्वाचन सुरक्षा योजना बनाउन निर्देशन भइसकेको छ । यस पटक उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्ने योजना सशस्त्र प्रहरी बलको छ । सूचनाको निरन्तर विश्लेषणसँगै संवेदनशील र अति संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी अहिलेबाट नै सुरु गरिएको उहाँले बताउनुभयो ।

मतपेटिका र ढुवानीमा सशस्त्र
गृह मन्त्रालयका अनुसार, सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षाको दोस्रो घेरा राखिएको छ । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी सुरक्षाकर्मी रहेका छन् । मतदान केन्द्रको बाहिरी सुरक्षा, मतदान सम्पन्न भइसकेपछि मतपेटिका ढुवानीलगायत सुरक्षामा सशस्त्र प्रहरी खटिने छ ।

मतदान केन्द्र, मतपेटिका ढुवानी मार्ग र भण्डार भवन सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरीले ‘पट्रोलिङ तथा रेकी’ गस्ती थालेको छ, अन्य सुरक्षा निकायसँग समन्वय तथा सहकार्य स्थानीयवासीसँग संवाद र छलफल सुरु गरेको छ ।

त्यस्तै नेपाल–भारत सीमा नाकाबाट हुन सक्ने घुसपैठ नियन्त्रणका लागि मुख्य, सहायक र वैकल्पिक मार्गहरूमा निगरानी बढाइएको छ । निर्वाचनको समयमा सीमानाका बन्द गरिए पनि त्यसअघि हुनसक्ने सम्भावित घटना रोक्न निगरानी बढाइएको प्रवक्ता तिउसिना बताउनुहुन्छ । विशेष गरी सीमानाकाका स्थानीयवासी, जनप्रतिनिधि र राजनीतिकर्मीसँग सहकार्य तथा समन्वय गरी यस विषयमा सतर्क र सजकता अपनाउन सशस्त्र प्रहरी बलले अनुरोध गरेको हो ।

एक लाख म्यादी प्रहरी माग
नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि एक लाख म्यादी प्रहरीको माग गरेको छ । यही महिनाको ६ गतेदेखि ११ गतेसम्म सात दिनभित्र ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सक्ने व्यवस्था मिलाइएको छ ।
१८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले निःशुल्क रूपमा दरखास्त दिन सक्ने छन् । यो पटक म्यादी प्रहरीको कार्यअवधि ४० दिनको मात्र हुनेछ । सो अवधिमा आधारभूत तलब मासिक २२ हजार ६८० रुपियाँ गरी ४० दिनको जम्मा ३० हजार २४० हुनेछ । खाद्यान्नबापत सात हजार दुई सय, यातायात खर्च एक हजार र पोसाक छ हजार उपलब्ध हुने जनाइएको छ । सरकारले तोकेबमोजिम बीमा सुविधा रहेको छ । भूतपूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकतामा राखिएको छ ।

साढे दुई लाख सुरक्षाकर्मी परिचालन
निर्वाचन सुरक्षामा प्रहरी जनशक्ति ७४ हजार, म्यादी एक लाख र सशस्त्र प्रहरी ३४ हजार गरी करिब दुई लाख आठ सय सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाटसमेत करिब ५० हजार सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।

निर्वाचन आयोगले करिब १० हजार ८७० मतदान स्थल निर्धारण गरेको छ । संवेदनशील मतदान स्थलमा चार प्रहरी छ म्यादी गरी १० र अति संवेदनशीलमा पाँच प्रहरी र छ म्यादी गरी ११/१२ जनासम्म सुरक्षाकर्मी परिचालन हुनेछन् । सेना र सशस्त्र प्रहरीले सुरक्षा गस्ती गर्ने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?