logo
२०८१ बैशाख ८ शनिवार



होलीमा उच्छृङ्खल हुनेमाथि निगरानी

मुख्य समाचार |


होलीमा उच्छृङ्खल हुनेमाथि निगरानी


काठमाडौँ, चैत २ गते । होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ । होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकामा ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।

महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर प्रमुख तथा महानगरीय ट्राफिक प्रहरी प्रमुखलाई होली सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन दिनुभएको छ ।रङ र अबिरका साथ एकापसमा खुसियाली साटासाट गरी हर्षोल्लासमय वातावरणमा मनाइने होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको जानकारी उहाँले दिनुभयो ।

जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन (मापसे) गरी सवारी चलाउने, झैझगडा गर्ने र महिलामाथि दुव्र्यवहार गर्नेमाथि कडा कारबाही हुनेछ । यसका लागि सुरक्षा व्यवस्था बलियो पारिएको छ ।

महानगरीय प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष राठौरले काठमाडौँमा एक हजार सात सय, ललितपुरमा छ सय र भक्तपुरमा चार सय जना सुरक्षाकर्मी खटाइएको बताउनुभयो । ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ ।
सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त रूपमा नियमित चेकिङ गर्ने छन् ।

हनुमानढोका दरबार वसन्तपुर, ठमेल, दरबारमार्ग, बालाजु, पाटन दरबार तथा भक्तपुर दरबार क्षेत्र, जावलाखेल र सानेपालगायतका क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिएको छ । त्यस्तै, ४४ वटा मोबाइल भ्यान, ७३ वटा सीआरभी (सेन्ट्री रेगुलेट भेइकल) १७९ क्यूआरटी (मोटरसाइकल गस्ती), साइकल गस्ती, पिकेट, रिजर्भ र स्ट्रयाइकिङ सुरक्षा गस्ती टोली परिचालन गरिएको जानकारी उहाँले दिनुभयो ।

सडक चोक तथा सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्नेविरुद्ध कारबाही हुने छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बाक्लो भीड लाग्ने स्थानमा विशेष निगरानी बढाइएको बताउनुभयो । विशेष गरी होली पर्व मनाउन सडक चोकमा निस्कने भीडलाई व्यवस्थित गर्न बिहानैदेखि सुरक्षा उपस्थिति बढाइने प्रहरीले जनाएको छ । यसका लागि प्रहरी प्रधान कार्यालयबाट थप दुई सय जनशक्ति खटिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?