logo
२०८१ बैशाख १४ शुक्रवार

गोरखापत्र संस्थानमा सञ्चारमन्त्रीको निरीक्षण भ्रमण (फोटो फिचर)

खुला |
फोटो फिचर |


2022-03-06-59310


काठमाडौं, फागुन २२ गते। नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र संस्थानमा निरीक्षण भ्रमण गर्नुभएको छ।

आइतबार मन्त्री कार्कीले धर्मपथस्थित गोरखापत्र संस्थानको निरीक्षण भ्रमण गर्नुभएको हो। गोरखापत्र संस्थानका गोरखापत्र दैनिक, दि राइजिङ नेपाल, अनलाइन विभाग, छापाखानालगायत विभाग तथा शाखाको निरीक्षण गर्नुभएको हो। संस्थानका विभिन्न विभाग र शाखाको निरीक्षण गर्नुहुँदै मन्त्री कार्कीले गोरखापत्रका प्रकाशनलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो।

निरीक्षणपछि गोरखापत्र संस्थानका कर्मचारीलाई सम्बोधन गर्दै उहाँले गोरखापत्रलाई विश्वासिलो र पठनीय बनाउने काममा जुट्न निर्देशन दिनुभयो। ‘गोरखापत्रलाई व्यवसायिक बनाउन लाग्नुहोस्। यो देशका विभिन्न ठाउँमा पुगेर मात्र हुँदैन, आम मानिसले पढ्ने विश्वसनीय अखबार बन्नुपर्छ।’

निरीक्षणपछि उहाँले गोरखपत्र संस्थानको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ। मन्त्री कार्कीसँगै गोरखापत्र संस्थानको निरीक्षणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल उपस्थिति हुनुहुन्थ्यो। सचिव अर्यालले अहिलेको समय अनुसार संस्थानका प्रकाशन र विषय वस्तुको गुणस्तरमा ध्यान दिन सुझाव दिनुभयो। उहाँले संस्थानका प्रकाशनको छपाइमा पनि सुधारको आवश्यकता रहेको औंल्याउनुभएको छ।

उहाँले गोरखपत्र संस्थानले विज्ञापन वापतको धेरै रकम उठाउन बाँकी रहेको उल्लेख गर्दै त्यसका लागि विशेष ‘इन्सेन्टिभ’को व्यवस्था गरेर नयाँ योजनाका साथ लाग्न सुझाव दिनुभयो।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानका प्रकाशनका विषयमा जानकारी गराउनुभएको छ। कार्यकारी अध्यक्ष सुवेदीले संस्थानका प्रकाशनलाई नयाँ डिजाइन र साजसज्जाका साथ प्रकाशन गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो। वैशाख १ गतेबाट नयाँ डिजाइनमा सबै प्रकाशनलाई पाठकसम्म पुर्याउने तयारी भइरहेको उहाँले प्रष्ट पार्नुभएको हो।