logo
२०८१ बैशाख १२ बुधवार



उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै

अर्थ |


उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै


काठमाडौँ, चैत १२ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा निर्वाचन अधिकृत महिला मात्रै राख्ने तयारी गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “तेस्रो रणनीतिक योजना, लैङ्गिक मैत्री चुनाव र समावेशिताप्रति आयोग सधैँ सकारात्मक रहेको छ, त्यसैको कडीका रूपमा महिला अधिकृत नियुक्त गर्ने तयारी गरेका छौँ ।”

काठमाडौँ उपत्यकाका तीन जिल्लामा १८ वटा स्थानीय तह छन्; जसमध्ये काठमाडौँ महानगर, ललितपुर महानगर र भक्तपुर नगरमा भने जिल्लाका मुख्य निर्वाचन अधिकृत नै निर्वाचन अधिकृतको भूमिकामा रहनेछन् । बाँकीको १५ स्थानीय तहमा अधिकृत महिला रहने गरी तयारी गरिएको प्रवक्ता पौडेलले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश मात्रै नियुक्त हुँदै आएका छन् । निर्वाचन अधिकृतका रूपमा भने न्याय र प्रशासन सेवाका उपसचिव नियुक्त हुँदै आएका छन् ।

आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यसअघि नै निर्वाचन अधिकृतका रूपमा नियुक्त हुने कर्मचारीको सूची प्राप्त गरिसकेको छ ।उक्त सूचीबाट नै काठमाडौँ उपत्यकाका विभिन्न कार्यालयमा सेवामा रहेका उपसचिव श्रेणीका अधिकृत महिला नियुक्त गरिने आयोगले जनाएको छ ।

काठमाडौँ उपत्यकामा करिब १० लाखभन्दा बढी मतदाता छन् । आयोगले २०७७ साल पुस ५ गते मतदाता नामावली अद्यावधिक गर्दा काठमाडौँ जिल्लामा छ लाख, ललितपुरमा दुई लाख ३६ हजार र भक्तपुरमा एक लाख ८४ हजार मतदाता कायम थिए ।

“मतदाताको अत्यधिक चाप रहने र चुनौतीपूर्ण हुने उपत्यका जस्तो स्थानमा महिलाले सफलतापूर्वक चुनाव सम्पन्न गराएको सन्देश प्रवाह गर्न आयोगले यसप्रकारको निर्णय गर्ने हो,” प्रवक्ता पौडेलले थप्नुभयो । पौडेलले काठमाडौँ उपत्यकामा मात्रै अधिकृत महिला नियुक्त गर्ने तयारीबारे प्रष्ट्याउँदै भन्नुभयो, “काठमाडौँमा सहज रूपमा उपलब्ध हुन सक्छ, अन्य स्थानमा पनि रहनेछन् तर उपत्यकामा जसरी सबै महिला मात्रै हुने छैन् । ”
निर्वाचन कार्यक्रम बमोजिम चैत १३ गते नै आयोगले निर्वाचन अधिकृतको नामावली प्रकाशन गर्नेछन् । चैत्त २९ गते निर्वाचन अधिकृत नियुक्त हुनेछन् ।

१३ जिल्लामा महिला प्रमुख
निर्वाचन आयोग मातहातको ११ जिल्लामा निर्वाचन कार्यालय प्रमुखको रूपमा अधिकृत महिला छन् । आयोगको ७७ वटै जिल्ला र सातवटा प्रदेश गरी ८४ स्थानमा कार्यालय रहेकोमा महिला जिल्ला निर्वाचन अधिकारी ११ जिल्लामा छन् ।निर्वाचन अधिकृत महिला भने १३ जना छन् । प्रवक्ता पौडेलका अनुसार ताप्लेजुङ, सिरहा, पर्सा, सिन्धुली, ललितपुर, लमजुङ, नवलपरासी पश्चिम, गुल्मी, रोल्पा, रुक्कुम पश्चिम र दैलेखमा प्रमुख निर्वाचन अधिकारी महिला छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?