logo
२०८१ बैशाख ७ शुक्रवार



आउन थाले मतदान सामग्री

मुख्य समाचार |


आउन थाले मतदान सामग्री


काठमाडौँ, चैत २७ गते । स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतदान सामग्री धमाधम आउन थालेका छन् । आयोगले मतदान हुनुभन्दा एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी फागुन अन्तिम साता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “करिब १५ प्रकारका सामग्री आयोगले बुझिसकेको छ, चैत अन्तिमदेखि जिल्लामा ढुवानी सुरु हुँदासम्म सबै सामग्री आइपुग्ने विश्वास गरेका छौँ ।” मतदान प्रयोजनका लागि आयोगले १० वटा प्याकेजमा २३ प्रकारका सामग्री खरिद सम्झौता गरेको थियो । उक्त सामग्री खरिदका लागि आयोगले २७ करोड रुपियाँ खर्चिंदै छ । सम्झौताबमोजिम आपूर्तिकर्ताले मतदान र मतदानस्थलमा प्रयोग हुने साना आकारका सामान आयोगलाई बुझाइसकेको छ ।

मतदानमा प्रयोग हुने मतपेटिका, छेकबार, लाहा, ‘सेक्युरिटी सिल’ अझै आइसकेको छैन । मतदानमा करिब ९५ हजार मतपेटिका आवश्यक पर्नेछ । प्रवक्ता पौडेलले भन्नुभयो, “२५ हजार मतपेटिका खरिद गर्न लागेका छौँ, ६० हजारभन्दा बढी मतपेटिका आयोगसँग मौज्दात छन् ।” आयोगसँग मौज्दात मतपेटिका भने जिल्लास्थित निर्वाचन कार्यालयमा भण्डारण गरिएको छ । मतपत्रको आकार बढ्दा मतपेटिका थप्नुपरेको आयोगले जनाएको छ । यसअघिको चुनावमा एउटा पेटिकामा करिब पाँच सयभन्दा बढी मतपत्र अटाएका थिए । स्थानीय निर्वाचन–२०७९ मा भने एउटा मतपेटिकामा करिब तीन सय मतपत्र अट्नेछन् । मतदानका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । एउटा केन्द्रमा करिब तीनदेखि चारवटा मतपेटिका प्रयोग हुने आयोगले जनाएको छ ।

“स्थानीय चुनावमा एउटै पानामा स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्यमा मत हाल्नुपर्नेगरी डिजाइन गरिएकाले आकार बढ्न गएको हो,” उहाँले प्रस्ट्याउनुभयो । छेकबार र मतपेटिका चीनबाट आयात गरिँदै छ । मतपेटिका शनिबारै नेपाल आएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यद्यपि, आयोगले हालसम्म बुझिसकेको छैन ।

चीनबाट आउने सामग्रीमा ढिलाइ हुन पुगेका कारणबारे प्रस्ट्याउँदै उहाँले भन्नुभयो, “कोभिड–१९ को बढ्दो प्रकोपले समयमै सामान आयात गर्न समस्या आएको हो ।” छेकबार आयात गर्ने आपूर्तिकर्ताले सहजीकरणका लागि आयोगसमक्ष आग्रह गरेको थियो । आयोगले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौँस्थित चीनको दूतावासलाई पत्राचार गरेर सहजीकरण गर्न आग्रह गरेपछि निर्वाचन सामग्री समयमै आइपुग्ने आयोगले विश्वास गरेको छ ।

आयोगमा नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, स्टाम्प मसी, स्टिच, स्टिच पिन, प्लास्टिकका बोरा, प्लास्टिकका थैलो, पन्चिङ मेसिन, स्यानिटाइजर, मास्क, मार्कर, टिनको बक्सा, मतदान गर्न जाँदा नङमा चिह्न अङ्कित गर्ने कलम आइपुगेको छ । अधिकांश सामग्री भारतबाट आयात गरिएका छन् । उक्त सामग्री आयोगपरिसरमा भण्डारण गरिएको छ । सशस्त्र प्रहरीको उच्च निगरानीमा सामग्री राखिएका छन् । निर्वाचनमा कुल ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?