logo
२०८१ बैशाख १२ बुधवार



दुई करोड मतपत्र छाप्ने तयारी

राष्ट्रिय मान्यता प्राप्त छ सहित ६९ राजनीतिक दलको आफ्नै चुनाव चिह्न

मुख्य समाचार |


दुई करोड मतपत्र छाप्ने तयारी


काठमाडौँ, चैत १५ गते । निर्वाचन आयोगले स्थानीय निर्वाचन–२०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । निर्वाचनका लागि आवश्यक सबै मतपत्र जनक शिक्षा सामग्री केन्द्रबाट छाप्ने निर्णय गर्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

निर्वाचन तयारीबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त निर्णयबमोजिम जनशक्ति, छपाइ यन्त्रलगायतका सबै पूर्वाधार तयारी अवस्थामा राख्न केन्द्रलाई निर्देशन दिएको बताउनुभयो । उहाँले चैत १७ गते नमुना मतपत्र छापिने र लगत्तै मतदानमा प्रयोग हुने मतपत्र छपाइ कार्य सुरु हुने बताउनुभयो ।

स्थानीय निर्वाचनका लागि करिब दुई करोड मतपत्र छापिनेछन् । स्वीकृत अन्तिम मतदाता नामावलीबमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने आयोगले जनाएको छ । आयोगले दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखेको छ । तर, महानगर र ठूला सहरको मतपत्र भने उम्मेदवारी दर्तापछि छाप्ने हो कि भन्नेसम्बन्धमा आयोग अझै छलफलमा रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । मतपत्र डिजाइनको काम भने अझै सम्पन्न भएको छैन । डिजाइन सम्पन्न भएपछि नमुना मतपत्र छापिने र त्यसलगत्तै मतदानमा प्रयोग हुने मतपत्रको छपाइ कार्य सुरु हुने आयोगले जनाएको छ ।

६९ दलको आफ्नै चुनाव चिह्न
स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता पाएका छ दलसहित ६९ दलले आफ्नै चुनाव चिह्न पाउने भएका छन् । आयोगमा दल दर्ता भई राष्ट्रिय मान्यताप्राप्त नगरेका दललाई जिल्ला सङ्गठनका आधारमा निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको छ । यसअघि आयोगले राष्ट्रिय मान्यताप्राप्त नगरेका ७३ दललाई आफ्नो सङ्गठनको विवरण बुझाउन समय दिएको थियो । सोहीबमोजिम ७३ मध्ये ६३ राजनीतिक दलले विभिन्न जिल्लामा विवरण बुझाएका थिए ।

जिल्लामा सङ्गठन विवरण बुझाएका दललाई जुन–जुन जिल्लामा उनीहरूको सङ्गठन छ, त्यही जिल्लामा मात्रै ती दलको निर्वाचन चिह्न रहनेछ । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि समय तय गरेकोमा ७९ दलको दर्ता कायम गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल राष्ट्रिय मान्यताप्राप्त दल हुन् । आयोगले अन्य दललाई पनि निर्वाचनमा सहभागी हुन सहज होस् भनेर ७३ दललाई पनि दलीय निर्वाचन दिएको हो ।

काठमाडौँमा ४६ दल
आयोगका अनुसार राष्ट्रिय मान्यताप्राप्त नगरेका ४० राजनीतिक दलले आफ्नै चुनाव चिह्न लिएर काठमाडौँ जिल्लामा स्पर्धा गर्ने प्रस्ताव गरेका छन् । ती दलले काठमाडौँमा आफ्नो साङ्गठनिक संरचनाको विवरण आयोगसमक्ष बुझाएका हुन् ।मोरङमा दोस्रो सबैभन्दा बढी ३३ राजनीतिक दलले साङ्गठनिक विवरण बुझाएका छन् । सबैभन्दा कम डोल्पामा पाँच दलले मात्रै आफ्नो सङ्गठन संरचनाको विवरण आयोगलाई उपलब्ध गराएका छन् । जसबमोजिम डोल्पामा स्वतन्त्र उम्मेदवारबाहेक ११ दलले मात्रै चुनावमा स्पर्धा गर्न पाउनेछन् ।

कल सेन्टर सुरु हुँदै
मङ्गलबारबाट आयोगले ‘कल सेन्टर’ सुरु गर्दै छ । कल सेन्टरमा खटिने जनशक्तिलाई सोमबार अभिमुखीकरण दिइएको छ । आयोगले स्थानीय तह निर्वाचनसम्बन्धमा सर्वसाधारणको जिज्ञासा समाधान गर्न निःशुल्क नम्बर ११०२ सञ्चालन गर्न लागेको हो । उक्त कल सेन्टर मतदान र मतगणना अवधिसम्म सञ्चालनमा रहनेछ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?