logo
२०८१ मंसिर १५ शनिवार



बहसमा खुसी पाठ्यक्रम

विचार/दृष्टिकोण |




डा. हरिप्रसाद पोखरेल

हरेक बालबालिका फरक परिवेश र परिस्थितिसँगै हुर्किएका हुन्छन् । फरक क्षमता, सम्भावना र अवसरसँगै बच्चाले आफूलाई समायोजित गर्ने प्रयत्न गरेको हुन्छ । प्रत्येक बच्चा विशेष हुन्छ, आफ्नै गुण र क्षमतायुक्त । तिनको जिन्दगीका बहुआयामिक पक्षहरूसँंगै मानवता, अनुशासन, शान्ति, प्रेम, सहिष्णुता, समन्वय, सहकार्य, सामूहिकताजस्ता संस्कारित गुणहरू समेटिएको पाठ्यक्रम नै खुसी पाठ्यक्रम हो, जसले विषयगत ज्ञान, सीपसँगै सिकारुमा व्यवहार कुशल सीप प्राप्तिमा प्रत्यक्ष योगदान पु¥याउँछ ।
विश्लेषण
देखासिकी र अस्वस्थ प्रतिस्पर्धाले निम्त्याउने व्यक्तिकेन्द्रित परिस्थितिले हार्दिकता र सामाजिकता ओझेलमा पर्ने पक्का छ । यसो हुँदा जीवनको वास्तविक खुसी शान्ति र ज्ञानार्जनमा होइन, विलासिता र धनार्जनमा खोज्ने प्रवृत्ति बढ्ने सम्भावना रहन्छ । यसै पृष्ठभूमिमा बालबालिकाको वर्तमान र भविष्यलाई सार्थक र अर्थपूर्ण बनाउन सकियोस् भनेर उनीहरूलाई सिकाइसँगै स्वसचेतना, आत्मविशवास र स्वतन्त्रताको प्रत्याभूति दिलाउन आवश्यक हुन्छ । नैतिकता र आचरणको पाठ सिकाउनुपर्ने हुन्छ । कर्तव्य र उत्तरदायित्व वहन गर्न उत्साहित बनाउनुपर्छ । जिम्मेवारी र अनुशासनको पालनामा अग्रसर गराउनुपर्छ । समाज र संस्कारबारे सुसूचित गराउनुपर्छ । बालबालिकाले विद्यालयीय शिक्षाका विभिन्न विषयगत अवधारणासँगै जीवन शिक्षाका व्यवहार कुशल सीपहरू पनि सिक्नुपर्छ । सिक्न पाउनुपर्छ । यसका लागि पढिने र सिकिने विषयवस्तु तथा पढाइने र सिकाइने विषयवस्तु ÷शिक्षण पद्धति सिकारु सापेक्ष हुनुपर्छ । सिकारुको दैनिकीसँग अन्तरसम्बन्धित । सिकारुलाई आनन्द आउनेखालका । सिकारुलाई खुसी र हर्षित तुल्याउने प्रकृतिका । भविष्यप्रति आशा जगाउने । सिर्जनात्मक गतिविधिमा लगाव बढाउने । आफ्नो दैनिकीमा परख गर्ने÷गराउने नमुनाका । हो, विज्ञान, गणित, सामाजिक अध्ययन र अन्य भाषा÷विधाको विषयहरूमा उल्लिखित विषयवस्तुहरूको ज्ञानसँगै जिन्दगीको ज्ञान पनि मिसाउने सोचको पृष्ठभूमिमा विकास भएको पाठ्यक्रम नै खुसी पाठ्यक्रम हो ।
खुसी पाठ्यक्रम या खुसीका लागि पाठ्यक्रमको अवधारणा शिक्षा क्षेत्रमा अभ्युदय भएको नवीन दृष्टिकोण हो । जब विकासको एक मुख्य अवयवका रूपमा खुसीलाई पनि समावेश गर्ने प्रक्रिया प्रारम्भ भयो तब खुसी दिलाउने उपायहरूका बारेमा पनि सघन बहस चल्न थाल्यो । खुसी र आनन्दविनाको शिक्षा या विकास प्रभावकारी र दीर्घकालीन हुन सक्दैन भन्ने विचारहरू पनि बहसका विषय बने । मानवीय क्रियाकलापहरूको जीवन्तता मानवले प्राप्त गर्ने सफलता, खुसी र आनन्दसँग अन्तरसम्बन्धित हुन्छ भन्ने विचारहरू पनि सघन रूपमा प्रकट भए । र, यो भौतिकभन्दा पनि प्राकृतिक प्रकृतिको हुनुपर्छ भन्ने कोणबाट पनि पैरवी भएको पाइन्छ । यसरी शिक्षासँगै भविष्यको आशा र भरोसा दिलाउन सिकारुमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने हुन्छ । सिकारुको रुचि र चाहनाको ख्याल गर्नुपर्ने हुन्छ । सिकारुमा हार्दिकता र समभाव जागृत गराउनुपर्छ । सद्भाव र सहचार्यको विकास गराउनुपर्छ । सकारात्मक चिन्तन र आलोचनात्मक चेतको विकास गराउनुपर्छ । समस्यामाझ सम्भावनाको खोजी गर्न क्रियाशील तुल्याउनुपर्छ । र, यसका लागि सिक्दा आनन्द आउने वातावरण सिर्जना गर्नुपर्छ । यी सबै कार्यका लागि सिकारुको कौशलको पहिचान गरी सोही क्षेत्रमा अवसर र सम्भावना खोज्न उक्साउनुपर्छ । कृत्रिमताभित्र रम्नेभन्दा पनि प्रकृतिमा आनन्दित हुने बुद्धि दिनुपर्छ । यसै पृष्ठभूमिमा खुसी पाठ्यक्रम अस्तित्वमा आएको हो ।
व्यक्ति खुसी हुने र दुःखी हुने विभिन्न कारणहरू हुन्छन् । खुसीको मात्रा र तह पनि अनुभूति गर्ने कर्तामा निर्भर रहन्छ । व्यक्तिको क्षमता, आवश्यकता र सन्तुष्टिको पृष्ठभूमिमा खुसीलाई अथ्र्याउन सकिएला । भौतिक आनन्द कि आत्मिक शान्ति भनेर पनि बहस गर्न सकिएला । कृत्रिम खुसी कि प्राकृतिक खुसी भनेर पनि पैरवी गर्न सकिएला । तर, खुसी आफैँमा एक विषयगत धारणा भएकाले यसको मापो र अथ्र्याइँमा पनि विविधता हुन्छ नै । विश्वस्तरमा खुसीसम्बन्धी अध्ययन गर्दै आएको संयुक्त राष्ट्रसङ्घीय दिगो विकास नेटवर्कअन्तर्गत ‘वल्र्ड हेपिनेस रिपोर्ट’ले सन् २०१९ मार्चमा सार्वजनिक गरेको खुसी सूचकाङ्कमा नेपालको स्थिति १००औँ स्थानमा छ । भारत १४०औँ स्थानमा छ । दक्षिण एसियाली मुलुकहरूमा नेपालको स्थान तेस्रो र भारतको छैटौँ छ । जब कि विश्वभरमा खुसी सूचकाङ्कमा पहिलो नम्बरमा फिनल्यान्ड छ भने अन्तिम १५६औँ स्थानमा दक्षिण सुडान छ ।
जनताको प्रतिव्यक्ति आय, स्वस्थ जीवन, सामाजिक समर्थन, सामाजिक स्वतन्त्रता, विश्वास र भ्रष्टाचारमा कमी जस्ता छ कारकहरूमा खुसीको मापन गर्ने गरिन्छ । यी खुसीका अवयवहरूको विकास गर्ने प्रमुख माध्यम भनेको गुणस्तरीय र व्यावहारिक शिक्षा भएकाले पाठ्यक्रममा नै खुसी प्राप्तिको आधारहरू समावेश गर्नुपर्छ भन्ने मान्यताको जगमा नै खुसी पाठ्यक्रमको आवश्यकता महसुस गरिएको हो ।
विभिन्न अध्ययन अनुसन्धानबाट निकालिएको निष्कर्षअनुसार शिक्षाको प्राथमिक उद्देश्य सिकारुमा विश्वस्तता, जागरुकता, क्रियाशीलता, उत्तरदायी भावना र खुसीपनाको विकास गर्ने हुनुपर्छ भन्ने हो । यस्ता नागरिकबाट मात्र खुसी, सुखी र सभ्य समाज निर्माणमा योगदान पुग्न सक्छ । यसो हो भने पाठ्यक्रममा नै यस्ता विषयवस्तुहरू समाविष्ट गरिनुपर्छ, जसबाट खुसी, सुखी र आशावादी नागरिक तयार गर्न सहयोग पुगोस् ।
अहिले हरेक क्षेत्रको विकाससँगै विश्वव्यापी नीति निर्माणको एक महŒवपूर्ण अवयवका रूपमा खुसीलाई लिने गरिन्छ । सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले खुसी प्राप्तिलाई मानव मात्राको आधारभूत लक्ष्यका रूपमा स्वीकार्दै समग्र विकासको आयाम नै खुसी हो भन्ने आसय व्यक्त गरेको थियो । वल्र्ड हेपिनेस प्रतिवेदन २०१५ ले विद्यालयहरू, जसले सिकारुको आवश्यकता र रुचिलाई प्राथमिकता दिएर सिकारुको क्षमता अभिवृद्धिमा क्रियाशील बनाएका छन्, त्यस्ता विद्यार्थीको सिकाइ उपलब्धि अझ राम्रो भई सिकारुको जीवनमा सकारात्मक प्रभाव पार्ने कुरा इङ्गित गरेको थियो । प्रतिवेदनले के पनि देखाएको छ भने सिकारुले अझ राम्ररी सिक्न सक्छन्, जब उनीहरू सिकाइमा आनन्द लिन्छन् । खुसी हुन्छन् । सिक्ने वातावरण र सिकाइको विषयवस्तु सिकारुमैत्री हुन्छ ।
सन् २०१६ मा विद्वान् एड्लरको नेतृत्वमा भुटानमा खुसी कक्षाको प्रभावसम्बन्धमा गरिएको एक अध्ययनले खुसी पाठ्यक्रमको माध्यमले क्रमशः सिकारुको उपलब्धिमा सुधार भई विशिष्टीकृत परीक्षामा समेत अपेक्षित उपलब्धि प्राप्त भएको तथ्य सार्वजनिक ग¥यो । भारतको दिल्ली राज्यमा अरविन्द केजरीवाल सरकारले सन् २०१८ बाट नर्सरीदेखि कक्षा ८ सम्म खुसी पाठ्यक्रम लागू ग¥यो । ध्यान, नैतिक मूल्य, मानसिक अभ्यासलगायतका अभ्यासात्मक क्रियाकलापमा आधारित खुसी पाठ्यक्रमका प्रयोग भएपछि दिल्लीका विद्यालयहरूमा अध्ययनरत बालबालिकामा आत्मविश्वास र आत्मसम्मान बढेको पाइएको छ । सकारात्मक चिन्तन र भविष्यमा केही गर्न सक्छु भन्ने दृढविश्वास जागृत भएको देखिएको छ । यस्ता अध्ययन अनुसन्धानबाट निकालिएको तथ्यको पृष्ठभूमिमा हामी भन्न सक्छौँ–सिकारुमा सचेतना, विश्वस्तता, आत्मविश्वास, आत्मसम्मान, सक्रियता, सकारात्मकताजस्ता गुणहरूको समुचित विकास गर्न खुसी पाठ्यक्रम एक बलियो आधार बन्न सक्छ ।
खुसी पाठ्यक्रम जीवन सीपसँग आबद्ध गरिएका नैतिक मूल्य–मान्यता, योग, ध्यान, उपासना तथा विभिन्नखालका मानसिक अभ्याससम्बन्धीका विषयवस्तुहरू समेटिएको पाठ्यक्रम हो । यो नितान्त अभ्यासात्मक क्रियाकलापमा आधारित हुन्छ । सार्थक जीवनका लागि चाहिने व्यवहार कुशल सीपहरू प्राप्तिका लागि सिकारुलाई आबद्ध गर्ने अभियान पनि हो– खुसी पाठ्यक्रम । खुसी पाठ्यक्रमलाई विश्वका धेरै देशले अवलम्बन गरिरहेका छन् । विकास र समृद्धिका लागि गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा खोज्दा नेपालको सन्दर्भमा खुसी पाठ्यक्रमको नेपाली नमुनाका बारेमा पनि सार्थक बहस चलाउन आवश्यक देखिन्छ ।

(लेखक रूपान्तरणका लागि नागरिक अभियानका अभियन्ता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?