logo
२०८१ मंसिर १५ शनिवार



गृहकार्यविहीन शिक्षण

विचार/दृष्टिकोण |




डा. हरिप्रसाद पोखरेल

सन् १९४० को हाराहारीदेखि शिक्षाविद् तथा मनोवैज्ञानिकहरूले बालबालिकाहरूलाई दिइने अधिक गृहकार्यको कारण उनीहरूले परिवारमा घुलमिल हुन नपाएको तथा परिवारबाट सिक्नुपर्ने आवश्यक सीप सिक्न पनि वञ्चित भएको भनेर गृहकार्यको विकल्पमा बहस चलाएको पाइन्छ । अहिले कतिपय देशहरूले गृहकार्यविहीन शिक्षण पद्धतिलाई शिक्षा नीतिका रूपमा विकास गर्ने कार्यको पनि प्रारम्भ गरिसकेका छन् । केही देशले भने गृहकार्यलाई घटाउँदै कक्षा कार्य, परियोजना कार्य तथा खोज अनुसन्धान कार्यलाई प्राथमिकताभित्र राखेको पाइन्छ ।
नेपालमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पृष्ठभूमिमा तयार भएको नयाँ प्राथमिक तहको पाठ्यक्रम (२०७६) मा गृहकार्यलाई घटाउँदै जाने रणनीति लिएको देखिन्छ । यसका लागि शैक्षिक सत्र २०७७ देखि लागू भएको कक्षा (१–३) को एकीकृत पाठ्यक्रमले सिकारुलाई थप सिर्जनशील हुन पाठ्यपुस्तको सट्टा कार्यपुस्तकको व्यवस्था गरेको छ । कक्षाकार्यलाई विशेष जोड दिँदै एक दिनमा एउटा विषयको भन्दा बढी गृहकार्य दिन नपाइने व्यवस्थालाई पनि यसले प्राथमिकता दिएको देखिन्छ । नेपाली परिवेशमा गृहकार्य नै सिकारुलाई सक्षम बन्न सघाउने निर्विकल्प पद्धति हो भनेर अभ्यस्त भएका शिक्षक तथा अभिभावकहरूले एकैचोटि गृहकार्य हटाउँदा सहज रूपमा स्वीकार्ने अवस्था देखिँदैन । यस्तो अवस्थामा क्रमशः गृहकार्यको परम्परागत पद्धतिलाई सुधार गर्दै यसको कटौती र परियोजना कार्य, स्वतन्त्र अभिव्यक्ति तथा खोज अनुसन्धानकेन्द्रित शिक्षण क्रियाकलापमा जोड दिन आवश्यक देखिन्छ ।
कोभिड–१९ का कारण प्रत्यक्ष पठनपाठन हुन नसकेको अवस्थामा गृहकार्य योजना नै सञ्चालन गरेका हाम्रा कतिपय शैक्षिक संस्थाहरूले बालबालिकाको स्वतन्त्रता नै हनन गरेको पनि देखियो । जब बालबालिकाले गृहकार्यलाई नै बोझ मान्छन्, यातना ठान्छन् या जबर्जस्त गर्नुपर्ने बाध्यकारी काम ठान्छन् तब सिकारुको समग्र पक्षको विकासमा समेत यसले अवरोध पैदा गर्छ । सिकारुको इच्छा, चाहना र रुचिविपरीतका यस्ता गृहकार्यको कार्यबोझले बालबालिका शिक्षक, विद्यालय र अभिभावकप्रति नै नकारात्मक बन्न पुग्छन् । उपयुक्त सिकाइ वातावरणको अभावमा करकाप एवम् डर र त्रास देखाएर गरिने पठनपाठन र क्षमताभन्दा बढीको गृहकार्यले अपेक्षित सिकाइ उपलब्धि प्राप्त गर्न सकिन्न । दबाबमूलक गृहकार्यको त्रास र डरले सिकारुमा पढाइप्रति नै अनिच्छा पैदा हुने गरेको पनि पाइन्छ ।
जापान, बेलायत, फिनल्यान्ड, अमेरिका, जर्मनी, फ्रान्सजस्ता विकसित देशहरूमा त विद्यालयको न्यूनतम मापदण्डमा सिकारुले विद्यालयमा बिताउने समय, पढाइ हुने समय, कक्षाकार्य, मनोरञ्जन तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुने समय, खाजा खाने समयजस्ता कुराहरू सुनिश्चित गरिएको पाइन्छ । साना कक्षाहरूमा कुनै प्रकारको गृहकार्यको बोझ दिइँदैन । ती देशहरूमा विद्यालयको भौतिक संरचना, बसाइ व्यवस्थापन, पुस्तकालय, खेलमैदानजस्ता पक्षहरूको पनि वैज्ञानिक मापदण्ड तयार गरी कार्यान्वयन गरिएको छ ।
हालै भारतको केन्द्रीय सरकारको मानव संसाधन मन्त्रालयले कक्षा १ र २ का बालबालिकालाई गृहकार्य दिन नपाइने नियम सार्वजनिक गरेको छ । बालबालिकालाई विद्यालयमा कुनै प्रकारको दण्ड तथा यातना दिन नपाइने र कक्षा १ र २ का विद्यार्थीलाई ३ केजीभन्दा बढी तौलका झोला बोकाउन नपाउने निर्देशनसमेत जारी गरेको छ । तर, नेपालका अधिकांश सामुदायिक तथा निजी विद्यालयमा यस्ता आवश्यक मापदण्ड पूरा भएको पाइँदैन । हुन त नेपालमा बालमैत्री विद्यालय सञ्चालनका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७ को पनि व्यवस्था गरिएको छ । तर, धेरै कम विद्यालयमात्र बालमैत्री मापदण्डअनुरूपमा सञ्चालित रहेका पाइन्छन् । ठूलो सङ्ख्याका सामुदायिक विद्यालयमा बालबालिकाका लागि अनुकूल भवन तथा कक्षा, कोठा र फर्निचरको समेत व्यवस्था भएको पाइँदैन । निजी विद्यालयको अवस्था पनि खासै सन्तोषजनक छैन । यस्तो परिस्थितिमा सिकारुले विद्यालयमा सहजता अनुभव गर्न सक्दैनन् ।
गृहकार्यको तनावले गर्दा सामाजिकीकरण हुनमा समेत अप्ठ्यारो स्थिति सिर्जना हुन पुग्छ । खासगरी विद्यालयमा गृहकार्य लिएर नजाने विद्यार्थीलाई यातना दिने, दण्डित गर्ने, गाली गर्ने, अभिभावकलाई बोलाएर विद्यार्थीका बारेमा टीका–टिप्पणी गर्नेजस्ता कार्यहरू पनि भइरहेको पाइन्छ । घरमा पनि आफ्ना बालबालिकालाई अभिभावकहरू दबाबमूलक तरिकाले गृहकार्य गर्न लगाउने र फुर्सदै नदिने गरेको अवस्था पनि छ । यस्तो परिस्थितिमा सिकारुमा पर्ने नकारात्मक असरका बारेमा भने सरोकारवालाहरू गम्भीर बन्न सकिरहेका देखिँदैन ।
गृहकार्य र पढाइको अत्यधिक बोझ धान्न नसक्दा बारम्बार सिकारुले हप्काइ खानुपर्ने, अपमानित हुनुपर्ने, यातना खानुपर्ने र गृहकार्र्यको नाममा घरमा पनि घोटिनुपर्ने बाध्यतामा पिल्सिरहेका छन् अधिकांश विद्यार्थी । थेग्नै नसक्नेगरी एकैचोटि धेरै विषयवस्तुको पढाइ तथा गृहकार्य बोझ सिकारुमा थोपरिदिँदा सिकारुले पढाइलाई अनावश्यक कहर ठान्छ । निरस विषय घोक्नुपर्ने बाध्यताले सिकारुको सिर्जनशीलता पनि मुर्झाउने परिस्थिति बन्छ ।
शिक्षक तथा अभिभावकले आफ्नो बालबालिकाले घरमा सदैव गृहकार्य गरिरहोस्, पढिरहोस् र परीक्षाको प्राप्ताङ्क उच्च ल्याओस् भनेर परीक्षालाई उच्च प्रतिष्ठाको विषय मान्ने र आफ्ना बालबालिकाले परीक्षाको तयारीमा विद्यालय र घरमा हरेक समय पढिरहोस् भन्ने चाहना राखेको पाइन्छ । केही विद्यालयले त अपेक्षित सिकाइ उपलब्धि कम भएका र गृहकार्य गरेर ल्याउन नसक्ने सिकारुका अभिभावकलाई विद्यालयमा नै बोलाएर उनीहरूको बालबालिकालाई अन्यत्र लैजान दबाब र धम्की दिने गर्छन् । अभिभावकको उपस्थितिमा आफूलाई शिक्षकले गाली गर्दा, हप्काउँदा, धम्क्याउँदा सिकारु मानसिक रूपमा पनि विक्षिप्त बन्न पुग्छन् । यसबाट बालबालिकामा हीनताबोधको भावना विकास हुने, आफूलाई अपमानित भएको महसुस हुने तथा पढाइप्रति नै वितृष्णा पैदा हुने
परिस्थिति बन्छ ।
गृहकार्यको अधिकत्तर भार थेग्न नसक्दा कतिपय विद्यार्थी मानसिक रूपमा समेत विक्षिप्त बन्न पुगेका दृष्टान्तहरू पनि छन् । बुझ्नुपर्छ, गृहकार्यको नाममा पाठ्यपुस्तकमा दिइएको प्रश्नहरूको उत्तर खोज्ने परम्परागत शैलीले एक्काइसौँ शताब्दीका बालबालिकाको ज्ञानको क्षेत्रलाई फराकिलो बनाउन सक्दैन । यसले सिकारुको सिर्जनशीलतामा पनि सहयोग गर्दैन । गृहकार्यको नाममा सिकारुको अरूचिका विषयवस्तुमा कैद गर्नु भनेको सारमा बालबालिकालाई भक्त सिकारु बनाउनु नै हो ।
विद्यालयमा पढाइ हुने समय, सिकारुले गर्नुपर्ने गृहकार्यको मात्रा, अतिरिक्त क्रियाकलापको समय, मनोरञ्जन तथा स्वतन्त्र क्रियाकलापको व्यवस्थापन, भयरहित वातावरणको बन्दोबस्ती, सिर्जनशीलताजस्ता पक्षहरूमा स्पष्ट मापदण्ड बनाई त्यसको प्रभावकारी कार्यान्वयन हुन सके गृहकार्यको कर्मकाण्डी प्रचलनको आवश्यकता पर्दैन । सिकारुले आफ्ना अनुभव र अनुभूतिलाई, भोगाइ र सोचाइलाई परियोजना कार्य वा स्वतन्त्र अभिव्यक्तिद्वारा प्रकट गर्ने वातावरण सिर्जना गर्न सके पनि गृहकार्यको आवश्यकता पर्दैन । विद्यालयमा पढाइ र गृहकार्यको नाममा हुने सबैखाले यातना बन्द गर्न तथा बालअधिकारको हनन हुन नदिन सम्बन्धित सबै सरोकारवालाहरूको समन्वयात्मक प्रयासको पनि आवश्यकता छ यतिखेर ।
गृहकार्यको विकल्पमा प्राथमिक तहमा कक्षा कार्य र सिर्जनात्मक क्रियाकलापमा जोड दिन सकेमात्र पनि गृहकार्यको नकारात्मक असर कम गर्न सकिन्छ । परियोजना कार्य, स्वतन्त्र अभिव्यक्ति, खोज अनुसन्धानमूलक कार्यजस्ता पद्धतिको माध्यमले गृहकार्यविहीन शिक्षण वातावरण सिर्जना गर्न सकिन्छ । केवल पाठ्यपुस्तकमा दिइएको प्रश्नहरूको उत्तर खोज्न सिकारुलाई अभ्यस्त गर्ने परम्पराले सिकारुमा आलोचनात्मक चेतनाको विकास सम्भव हुँदैन । अब खोज, अनुसन्धान, चिन्तन–मननको माध्यमले सिकारुलाई प्रश्नको उत्तर खोज्नमात्र होइन, प्रश्न गर्न र बहस पैरवी गर्न सक्षम बनाउनतर्फ सोच्न जरुरी छ । पढाइ र गृहकार्यको नाममा केवल पाठ्यपुस्तकमा उल्लिखित किताबी ज्ञानलाई मात्र प्राथमिकता दिने गलत अभ्यासलाई हटाउन पनि गृहकार्यको सकारात्मक विकल्पमा बहस चलाउन
आवश्यक भइसकेको छ ।
(लेखक रूपान्तरणका लागि नागरिक अभियानमा आबद्ध हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?