logo
२०७९ श्रावण २५ बुधवार



शिक्षामा पनि दलित नै

विचार/दृष्टिकोण |




 

रमाकान्त शर्मा

कोभिड–१९ को महामारीले गत वर्षहरूमा भन्दा विद्यालयबाहिर रहने बालबालिकको सङ्ख्या बढाउने निश्चित छ । बाहिरिने बालबालिकामध्ये पनि दलित, विपन्न, श्रमिक र पछाडि परेका समुदायका बालबालिका झनै बढी हुनेछन् । यसबाट सदीयौँदेखि समाजमा चलेको छुवाछूत, उचनीचको संस्कारमा पिसिएका दलित समुदाय झनै पीडित बन्नेछन् । आर्थिक विपन्नता र भाग्यवादको चपेटामा परेका दलितलाई यो थप पीडा बन्नेछ ।
दलित समुदायको राज्यको स्रोत–साधनमा पहुँच कम छ । स्रोत–साधनका लागि गरिने सौदाबाजी कमजोर छ । स्रोत–साधनमा कमी, बालबालिकाको स्वास्थ्य र शिक्षामा कम लगानी, पर्याप्त शारीरिक र बौद्धिक विकासमा अवरोध, रोजगारी र आर्थिक विपन्नता– एककिसिमको कुचक्रमा दलित समुदाय दलिएको छ । दैनिक ज्यालादारी गरेर खाने विपन्न दलितको यो कुचक्रलाई कोभिड–१९ महामारीले झनै बढाएको छ । यो कुचक्रलाई तोड्न दलित समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षामा लगानी बढाउन राज्य तथा सरकारले पर्याप्त ध्यान दिन आवश्यक छ । अन्यथा दलित समुदायका सबै युवाले आयस्रोतका बाटा पहिल्याउन सक्ने, सामाजिक अन्तरसम्बन्ध बुझ्न सक्ने, राज्यसँंग माग राख्न सक्ने र उत्पादनमूलक कार्यमा लाग्न सक्ने सम्भावना रहने छैन । नेपालको संविधानले दलित समुदायको सशक्तीकरणको माध्यमका रूपमा शिक्षालाई लिएको छ । दलित बालबालिकालाई निःशुल्क उच्च शिक्षा पाउने अधिकारको समेत व्यवस्था गरेको छ । व्यवहारमा विद्यालयबाहिर रहेका बालबालिकामध्ये सबैभन्दा बढी दलित समुदायका छन् । साक्षरता दर सबैभन्दा कम दलित समुदायको नै रहेको छ । तथ्याङ्कअनुसार पाँच वर्ष उमेर समूहका विद्यालय जानुपर्ने जम्मा बालबालिकामध्ये १५.६ प्रतिशत र दलित समुदायका ३०.२ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको देखिन्छ । सबै समुदायका बालबालिकामध्ये आधारभूत तहमा पढ्नुपर्ने ७.७ प्रतिशत विद्यालयबाहिर रहेको देखिन्छन् भने दलित समुदायका १७.८२ प्रतिशत विद्यालयबाहिर रहेको देखिन्छ । विद्यालय भर्ना भएका पनि विद्यालय छाड्ने दर सबैभन्दा बढी दलित समुदायका बालबालिकाको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको, कक्षा पाँचका विद्यार्थीको २०७६ को परीक्षाको नतिजाअनुसार ब्राह्मण, क्षेत्री समूहका विद्यार्थीको ५०१ तथा औसतभन्दा माथि हँुदा दलित समुदायका विद्यार्थीको औसतभन्दा ६ अङ्कले कम तथा ४९४ रहेको देखिन्छ । त्यस्तै उक्त केन्द्रले कक्षा तीन र कक्षा पाँचका विद्यार्थीको उपलब्धि परीक्षणको सन् २०१६ को प्रतिवेदनअनुसार सबैभन्दा कमजोर उपलब्धि दलित समुदायको देखाएको छ । जसअनुसार कक्षा तीनमा ब्राह्मण, क्षेत्री समुदायको नेपालीमा ५८ र गणितमा ४५ अङ्क छ भने दलित समुदायका बालबालिकाको क्रमशः ४७ र ४१ रहेकोे छ । त्यस्तै कक्षा पाँचका ब्राह्मण र क्षेत्री समुदायका बालबालिकाको नेपालीमा ४९, गणितमा ५२ र अङ्ग्रेजीमा ५३ प्रतिशत रहेको छ भने दलित समुदायका बालबालिकाको तीनै विषयमा क्रमशः ४४, ४३ र ३९ रहेको छ । एक अध्ययनले कक्षा एकमा भर्ना भएकामध्ये ५० प्रतिशत कक्षा पाँचमा पुग्न नपाउँदै विद्यालय छाड्छन् भने कक्षा १० मा नपुग्दै ८५ प्रतिशतले विद्यालय छाडिसकेका हुन्छन् । यसका आधारमा दलित समुदायका बालबालिको पहुँच र उपलब्धि दुवैमा कमजोर अवस्था छ ।
समाजका हरेक कुराको प्रभाव बालबालिकामा परेको हुन्छ । यस अर्थमा दलित समुदायका विज्ञ, सक्षम व्यक्तिलाई पनि कमजोर ठान्ने र यो फलानो जातिको त हो भनेर होच्याएर बोल्ने मनोविज्ञानले दलित समुदायका वयस्क र युवालाई मात्र होइन, बालबालिकालाई समेत असर गरिरहेको छ । आफ्ना आमाबाबु, छिमेकी आफन्त सबै कमजोर ठानिएको देखिरहेका दलित समुदायका बालबालिकाले आफूलाई पनि ‘कमजोर छु’ भनी ठान्ने नकारात्मक मनोविज्ञान विकास हुन थाल्छ र आत्मबल कमजोर हुँदै जान्छ । अर्कोतर्फ, प्रायः दलित, पछाडि पारिएका र श्रमिकका बालबालिकाले पढ्ने विद्यालय सामुदायिक विद्यालय बनेका छन् । सामुदायिक विद्यालयको स्तर सुधार गर्न नसक्दासम्म दलित समुदायका बालबालिकाको शैक्षिक उपलब्धि वृद्धि र स्तरीय शिक्षा सम्भव छैन । आधारभूत कुरा नै राम्रोसँग सिक्न नपाएका बालबालिकाले तह पूरा गर्ने तथा उच्च शिक्षा प्राप्त गर्ने सम्भावना पनि न्यून हुँदै जान्छ ।
विद्यालयमा शिक्षक, कर्मचारी र अन्य साथीले गर्ने हेय र अपहेलित व्यवहारले दलित बालबालिकालाई विद्यालय अनुकूलभन्दा पनि प्रतिकूल स्थान हुन पुग्छ । प्रतिकूल वातावरणले सिक्नका लागि उत्प्रेरित गर्ने सम्भावना रहँदैन । औपचारिक शिक्षा पाउनबाट वञ्चित तथा निरक्षर बाबुआमाको भाषामा दख्खल नहुनु र प्रयोगको स्तर कमजोर हुनु पनि स्वाभाविकै हो । मातृभाषा एउटै हँुदाहँुदै पनि विद्यालयमा अन्य समुदायका बालबालिकाको तुलनामा दलित बालबालिका भाषिक समस्यामा पर्छन् । भाषिक कमजोरीलाई शिक्षक, अन्य विद्यार्थीले गर्ने नकारात्मक व्यवहारले झनै समस्या उत्पन्न गराइदिन्छ । दलित समुदायमा साक्षरता दर कम छ । साक्षरसम्म पनि नभएका बाबुआमाले घरपरिवारमा बालबालिकाको सिकाइमा सहयोग गर्न, सिकाइप्रति उत्प्रेरित गर्न सक्ने सम्भावना हुँदैन । यी कुचक्र तोड्न सजिलो छैन । बाबुआमा र समुदायको सचेतनाको स्तरले बालबालिकाको शिक्षामा प्रभाव पार्ने हुनाले समाजका गलत चालचलन, रीतिरिवाज, परम्परा हटाउन र वैज्ञानिक सोच, सकारात्मक मूल्य–मान्यता र संस्कृति निर्माण गर्न समाजमा छलफल, अन्तक्र्रिया गरी चेतना प्रवाह गरिनुपर्छ । गर्भावस्था तथा सुनौला हजार दिनदेखि नै पोषणयुक्त खाना र उपयुक्त वातावरण मिलाइनुपर्छ । बाबुआमाले घरपरिवारमा गरिने अभिमुखीकरण, दैनिक रूपमा गरिने व्यवहार, सिकाउन गरिने प्रयासले बालबालिकाको शिक्षामा प्रत्यक्ष वा परोक्ष प्रभाव पारेको हुन्छ । दलित समुदायमा बाबुआमा र घरका ज्येष्ठ सदस्यबाट शिक्षाका लागि उपयुक्त वातावरण निर्माण गर्न अभिभावक शिक्षा तथा अभिभावक परामर्श कक्षाको आवश्यक खड्किएको छ ।
विद्यालयलाई बालमैत्री बनाउन सकेमा, शिक्षक व्यवहार र विद्यालयका कक्षाकोठा, शौचालय, पिउनेपानी, खेलमैदानजस्ता कुरा बालबालिका अनुकूल हुन सकेमा बालबालिका विद्यालय जान चाहन्छन् । शिक्षकबाट आफ्नोपन पाउन नसक्ने, अपहेलित र पराईजस्तो व्यवहार हुने हो भने बालबालिका विद्यालय जान चाहँदैनन् । त्यसैले दलित तथा उत्पीडित समुदायका बालबालिकामाथि हुने हेयात्मक व्यवहार रोकिन आवश्यक छ । त्यस्ता समुदायका बालबालिकालाई थप माया–ममता, उत्प्रेरणा र सम्मानसाथ सिकाइनुपर्छ । अन्य विद्यार्थीले नकारात्मक व्यवहार गर्ने भएमा पनि शिक्षकले त्यस्ता व्यवहार रोक्न सम्झाउने, बुझाउने, समान व्यवहार गर्ने वातावरण निर्माण गरिनुपर्छ । विद्यालय दिवाखाजा कार्यक्रम प्रभावकारी पार्न सकेमा विद्यालय जान र नियमित हुनमात्र हैन, बालबालिकाको पोषणको अवस्था सुधार गर्नसमेत सहयोग पु¥याउँछ । विद्यालयले सहभोज गर्ने, दलित समुदायका व्यक्तिलाई कहिलेकाहीँ भान्से बनाउने, अन्य अतिथिलाई समेत बोलाएर दलित समुदायका व्यक्तिले बनाएका खाना, खाजा खुवाउने गर्न सकेमा समाजमा छुवाछूत अन्त्य गर्न र विद्यालयमा हुने विभेद हटाउन सहयोग मिल्छ । पढे–लेखेका र समाजमा अन्याय छ भन्ने बोध भएका दलित युवा आफैँ गलत परम्परा, कुसंस्कारविरुद्धमा नलागेसम्म पनि परिवर्तन सम्भव छैन । त्यसैले पनि सचेत समुदाय र युवा सबै मिलेर सामाजिक चेतना वृद्धि गर्न र थोत्रा परम्पराविरुद्धमा सामाजिक अभियान सञ्चालन गर्नु आजको आवश्यकता हो । यस्ता अभियानले बालबालिकामा पनि सकारात्मक प्रभाव पार्छ, बालबालिकामा आत्मविश्वास जागृत हुन्छ ।
दलित समुदायका बालबालिकालाई दिइने छात्रवृत्ति, थप सुविधा सार्वजनिक कार्यक्रम गरेर, त्यसको औचित्यसमेत पुष्टि हुनेगरी वितरण गरिनुपर्छ । दलित विद्यार्थीको शैक्षिक उपलब्धि राम्रो पार्न, घरमा हुने सहयोग अभाव परिपूर्ति गर्न, साना कक्षामा सिक्नुपर्ने आधारभूत ज्ञान, सीप पूरा गराउन बिहान बेलुका उपचारात्मक कक्षा व्यवस्था गरिनुपर्छ । माध्यमिक विद्यालयनजिकमा नभएका, उच्च शिक्षा पढ्न चाहने दलित समुदायका विद्यार्थीलाई खाना बस्न सुविधासहितको छात्रवास व्यवस्था हुनुपर्छ । सबै दलित बालबालिकाको शिक्षाको पहुँच सुनिश्चित गरी स्तरीय शिक्षा दिने कार्यलाई तीनै तहको सरकारले प्राथमिकतामा राख्नुपर्छ । यसका लागि समाज परिवर्तन गर्न चाहने तथा सभ्य समाज देख्न चाहने सबैको हातेमालो र सामाजिक अभियान आवश्यक छ ।
(लेखक शिक्षा विकास तथा समन्वय इकाइ तनहुँमा कार्यरत हुनुहुन्छ ।)





यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?