logo
२०८१ मंसिर १० सोमवार



सिकाइमा विद्यार्थीको रुचि

विचार/दृष्टिकोण |




रमाकान्त शर्मा

एक दिन म शिक्षकको घरमा पाहुना हुन पुगेको थिए । उहाँ प्राथमिक तहमा पढाउने शिक्षक हुनुहुन्थ्यो । उहाँको छोरा कक्षा चारमा अध्ययन गर्ने । बेलुकी खाना खानुभन्दा पहिला परिवारका सदस्यसँगै म पनि गफगाफमा थिएँ । शिक्षकको छोराले गफगाफमा ध्यान नदिएर पुस्तक पढिरहेका थिए । यसै क्रममा उनले पढेको देखेर शिक्षक बाबु झसङ्ग पर्दै, रिसाउँदै केही चर्को स्वरमा सोध्दै हुनुहुन्थ्यो, के गरेको ? मेरो पनि जिज्ञासा जाग्यो । शिक्षकलाई सोधेँ के भएछ र ? उहाँको उत्तर थियो, यसले विद्यालयमा पढाएको पाठ भन्दा अगाडिको पाठ पढ्न थाल्यो । उसले दिउसो शिक्षकहरूले भनेको लेख्ने, पढ्ने काम सकेर रुचिअनुसार अगाडिको पाठ पढिरहेको रहेछ । बाबु शिक्षकको विचारमा त्यो विद्यार्थीले गर्न नहुने कार्य थियो । हुन त उहाँलाई चण्डी, रुद्री र वेद पढ्ने क्रममा गुरुले पढ्न दिएको पाठ पढिसकेपछि गुरुको अनुमति र उपस्थितिमा अर्को पाठ सुरु गर्नुपर्ने हुन्थ्यो । नयाँ पाठ पढ्दा शीर्षकलाई नमस्कार गरी फूलपाती चढाएर मात्र पाठ सार्न पाइन्थ्यो । त्यो उहाँले सिकेको ज्ञानलाई आफ्नो छोरोमा पनि लागू गराउन चाहनु हुन्थ्यो ।

हाम्रो परम्पराअनुसार धार्मिक ग्रन्थहरू पढ्नु भनेको बुन, ज्ञान आर्जन गर्नभन्दा पनि धार्मिक कर्म पूरा गर्न हुने गर्दछ । मेरा हजुरबा, बाहरूले पनि चण्डी, रुद्री, गीता, वेद पढ्नु हुन्थ्यो । पढ्नु हुन्थ्यो भन्दा पनि पाठ गर्नु हुन्थ्यो । वर्षौं र पटक पटक पढ्नु भयो तर त्यसको अर्थ के हो भनेर खोज्न थाल्नु भएन । अर्थ बुझ्ने चाहनासमेत गर्नुभएन । केवल शुद्धसँग पढ्न सके पढ्नुको उद्देश्य पूरा हुन्थ्यो । विद्यालयमा विद्यार्थीलाई पढाउने सिकाउने भनेको जीवनमा आइपर्ने समस्या समाधान गर्न आवश्यक ज्ञान, सीप, धारणा आर्जन गर्न सहयोग गर्नु हो । शिक्षण सिकाइपछि विद्यार्थीमा प्राप्त हुने भनेर पाठ्यक्रमले अपेक्षा राखेका सिकाइ उपलब्धि र सक्षमता प्राप्त गर्न शिक्षण सिकाइ कार्य गरिन्छ । पाठ्यक्रमले त बरु विद्यार्थीको रुचि, चाहनाअनुसार उत्सुक भएर आफ्नै सक्रियतामा सिकून् भन्ने अपेक्षा गर्दछ । पाठ्यक्रमको मर्मअनुसार शिक्षकले विद्यार्थीको रुचि, चाहनालाई ध्यान दिनुपर्दछ । विद्यार्थीलाई आफैँ उत्सुक भएर सिक्ने तथा पढ्ने कार्यलाई उत्प्रेरित गर्नु पर्दछ ।

बाबुले आफ्नो छोरालाई सकेसम्म राम्रो गरोस् भन्ने चाहन्छ । माथि उल्लेखित घटनामा पनि शिक्षक बाबुले आफ्नो छोरा विद्यार्थीलाई राम्रो गरोस्, गल्ती नगरोस् भन्ने चाहनु स्वाभाविक हो । पढ्नका लागि पढ्नु र सिक्नका लागि पढ्नुमा फरक छ । चण्डी पढ्दा शुद्धसँग उच्चारण गरेर पढ्यो भने उद्देश्य पूरा हुन्थ्यो र कण्ठाग्र सुनाउन सक्नु उत्कृष्ठ हुन्थ्यो । शिक्षकको बालक छोराको सन्दर्भ फरक हो । उसले विद्यालयमा नपढाएको पाठ पढ्नुको उद्देश्य उसले अगाडिको पाठमा के होला भन्ने जिज्ञासा पूरा गर्न वा उसले पछिल्लो दिन पढाउने पाठलाई पहिला नै तयारी गर्नु थियो । पहिला नै तयारी गरेपछि विद्यालयमा शिक्षकले पढाउँदा बुझ्न सहज हुन्छ भन्ने उद्देश्यले पढेको पनि हुन सक्थ्यो ।

शिक्षकले शिक्षण सिकाइ गर्दा पाठ्यक्रमलाई मुख्य आधार बनाउनु पर्दछ । विद्यार्थीमा कुन सक्षमता विकास गराउन शिक्षण सिकाइको कार्य गर्ने ? कुन कुन सिकाइ उपलब्धि हासिल
गराउने ? शिक्षकले के के कार्य गर्ने ? विद्यार्थीले के कस्ता क्रियाकलाप गर्ने भन्ने कुरामा ध्यान दिनुपर्दछ । विद्यार्थीको रुचि, चाहनाअनुसारका क्रियाकलाप गर्दै, विद्यार्थीलाई आफैँ उत्प्रेरित भएर सिक्ने वातावरण निर्माण गर्नुपर्दछ । केही विद्यार्थीले सिक्नु पर्ने ज्ञान सीप पहिले नै प्राप्त गरेका छन् भने त्यस्ता ज्ञान सीपलाई सम्मान गर्दै थप सीप सिकाउने प्रयास गर्नु गर्दछ । शिक्षण सिकाइ कौशलसम्बन्धी अध्ययन गरेका, तालिम प्राप्त शिक्षकलाई यस कुराको ज्ञान हुनुपर्दछ । निश्चित कक्षा र विषयका पाठ्यपुस्तक विद्यार्थीका लागि न्यूनतम सहयोगी सामग्री हुन् । शिक्षकले त्यही पाठ्यपुस्तकलाई एक मात्र आधार मानेर पाना पाना क्रमश ः व्याख्या गर्नुले सिकाइको लक्ष्य पूरा हुँदैन । माथिको घटनामा छोरा विद्यार्थीले गरेको कार्यलाई बाबु शिक्षकले प्रोत्साहित गरी थप सिक्नका लागि उत्पे्ररित गर्नुपर्ने थियो तर विडम्बना उहाँले निरुत्साहित गरिदिनुभयो । तालिममा सिकेका कुरा घरसम्म पनि पु¥याउनु भएन । आफूले भोगेको भोगाइलाई छोरामा प्रयोग गर्नु खोज्नुभयो ।

यो प्रतिनिधिमूलक घटना हो । केही शिक्षक र अभिभावकको सोच, सिकाइ भनेको शिक्षकले सिकाएको मात्र सिक्ने हो । शिक्षकभन्दा अगाडि जान हुँदैन, सिकाएको बाहेक सिक्ने प्रयास गर्नु हुँदैन भन्ने छ । आधुनिक शिक्षण विधि, सिकाइका तौरतरिका, कौशल सम्बन्धमा तालिम नलिएका शिक्षकहरू निकै कम छन् । शिक्षकको निर्देशन विना विद्यार्थीले सिक्ने प्रयास गर्नु भनेको अनुशासन बाहिरको कुरा हो भन्ने छ । माथि उल्लेखित घटनाले कति प्रतिभाशाली विद्यार्थीहरू खुम्चिएर बसेका होलान् ? सिर्जनालाई खुम्च्याएका होलान् अध्ययनको विषय हुन सक्दछ ।

अर्काले बाध्य बनाएर, डर त्रास र धम्कीको आधारमा गरिने सिकाइले एक छिन प्रतिफल प्राप्त भएजस्तो देखिए पनि दीर्घकालीन हुँदैन । बालबालिकाको सिकाइ भनेको ज्यादै संवेदनशील कुरा हो । विद्यार्थीलाई आफ्नै रुचिले, उत्पे्ररित भएर सिक्ने वातावरण मिलाउन सकियो भने कमजोरजस्ता देखिने बालबालिकाले पनि निकै राम्रो उपलब्धि हासिल गर्न, उच्चस्तरीय क्षमता देखाउन सक्छन् । विद्यार्थीको रुचि चाहनाअनुसार सिक्ने वातावरण सिर्जना गरियो भने जस्तोसुकै कठिन विषयवस्तु पनि सजिलै सिक्न सक्छन् ।

विद्यार्थीका रुचिहरू फरक फरक हुन सक्छन् । कुनै कुरामा कुनै विद्यार्थीले बढी रुचि देखाउन सक्छ भने अर्को विद्यार्थीले त्यसै विषयमा पटक्कै रुचि देखाउँदैन । सिकाइमा विद्यार्थीको रुचि कसरी जगाउने ? विद्यार्थीका विविध खालका रुचिलाई कसरी सम्बोधन गर्ने भन्ने यकिन गर्नु शिक्षकका लागि चुनौतीको कुरा हो । रुचि चाहना हुने नहुने भन्ने कुरा विगतका अनुभव, वातावरण, शारीरिक तथा मानसिक अवस्थाजस्ता पक्षले निर्धारण गर्दछ ।

सिकारु तथा विद्यार्थीलाई नियन्त्रणमा राख्नुभन्दा सकेसम्म स्वतन्त्र रूपमा रमाएर, आफ्नै प्रयासमा सिक्ने वातावरण निर्माण गर्नु पर्दछ । शिक्षण सिकाइलाई जति रमाइलो बनाउन सक्यो त्यति नै सिकाइ प्रभावकारी हुन्छ । विद्यार्थी कमजोर छन्, सिक्दैनन्, बदमास छन् जस्ता धारणा हटाएर शिक्षकले सधै विद्यार्थीप्रति सकारात्मक धारणा बनाउनु पर्दछ । सिकाइलाई दैनिक जीवनमा आइपर्ने घटनासँग आबद्ध गर्ने, उपलब्धि प्राप्तिमा उत्सव मनाउने तथा पुरस्कृत गर्ने कार्यले विद्यार्थीको सिकाइमा रुचि जगाउन सकिन्छ । विद्यार्थीलाई पाठको व्याख्या गर्ने, प्रवचन गर्ने भन्दा खेल, कथा, कविता, अभिनय, सूचना तथा सञ्चार प्रविधिको प्रयोगजस्ता विधिबाट सिकाइलाई रमाइलो पार्न सकिन्छ । विद्यार्थीको सहभागितामा सिकाइको विषयवस्तु तथा प्रक्रिया छनोट गर्ने, सिकाइका क्रियाकलापमा विविधता ल्याउने, विविध स्रोत साधन र सामग्रीको प्रयोग गर्ने, सिकाइलाई सिकारुको व्यक्तिगत जीवनसँग आबद्ध गर्ने, सिकारुका सबल पक्षमा ध्यान दिने र सिकाइलाई खोजमूलक बनाउने प्रयास गरियो भने विद्यार्थीको रुचि बढ्छ । साना बालबालिकालाई पनि दिनभर एकै डेक्स बेञ्चमा बसेर कक्षा कोठामा बिताउन बाध्य पार्नु भनेको ठूलै
सजाय दिएसरह हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?