logo
२०७९ मंसिर १५ बिहीवार



विद्यार्थीमा वैज्ञानिक सोचको विकास

विचार/दृष्टिकोण |




रमाकान्त शर्मा

विज्ञानले कारण र असरको व्याख्या गर्दछ । सत्यको खोजी गर्दछ । विज्ञानका आविस्कारले नै मानव समुदायले विगतमा भन्दा धेरै सुख सुविधा प्राप्त गर्न सफल भएको छ । महामारी र रोगलाई परास्त गर्न सकेको छ । आयु बढेको छ । अज्ञात रहेका कुरा ज्ञात हँुदैछन् । जुन समाज र देशले विज्ञानलाई मान्यो, ज्ञानलाई उधिन्न थाल्यो, विज्ञानका आविस्कारलाई आफ्नो ठान्यो त्यही समाज नै विकासको तीव्र गतिमा कुद्न सफल भयो । युरोपियनहरूले चोधौँ/पन्ध्रौँ शताब्दीमा नै ज्ञानको भोक जगाए, विज्ञानलालई आत्मसात् गरे । त्यसै ज्ञान र विज्ञानको प्रयोग गर्दै विश्वलाई आफ्नो प्रभावमा पार्नसमेत सफल भए ।

हाम्रो समाजले के विज्ञानलाई आत्मसात् गरेको छ त ? कि विज्ञानका उपलब्धिलाई उपयोग मात्र गरेको छ ? कि अर्काले गरिदिएको उपलब्धि नपाएकाले केरा पायो बोक्रैसँग खायो भने जस्तो गरेको छ । छलफलको विषय हो । हाम्रो समाजको सोच कति विज्ञानसम्मत छ ? आफ्ना व्यवहारलाई विज्ञानसंवत् बनाउने प्रयास भएको छ त ? हाम्रो नेतृत्वले विज्ञानलाई अनुसरण गर्न खोजेको छ कि आफ्नो फाइदाका लागि काल्पनिक र झुटा कुरा तथ्यको नाममा बाँडिरहेको छ ? हामीले हाम्रा बालबालिकालाई कति वैज्ञानिक सोच विकास गर्न मद्दत गरिरहेका छौँ छलफलका विषय हुन् ।

अन्धविश्वासले जगडेको समाजमा एकाएक वैज्ञानिक सोचको विकास र विज्ञानसम्मत व्यवहारको परिकल्पना गर्न पनि सकिँदैन । अन्धविश्वास भन्नु नै प्रश्न, जिज्ञासा, सन्देहलाई मारिएको र कसैले भनेको सुनेको तथा लेखेकै कुरामा विश्वास गर भनेर बाध्य पारिएको अवस्था हो । व्यक्तिले आफ्नै अगाडिको सत्यमा समेत विश्वास गर्न नसक्ने सोच हो ।

समाजमा वैज्ञानिक सोचको विकास गर्न कलिला बालबालिका दैखि नै वैज्ञानिक सोचको विकास हुनु पर्दछ । त्यसका लागि अभिभावकले पनि आफ्नो सोचमा परिवर्तन गर्ने, हरेक घटनाको कारण खोज्ने, तथ्य पर्गेल्ने बानीको विकास गर्नु पर्दछ । धेरै बाबुआमाले बालबालिकामा वैज्ञानिक सोचको विकास गर्न मद्दत गर्नुको सट्टामा वैज्ञानिक जिज्ञासलाई मार्ने काम गरिरहन्छन् भने समाजमा वैज्ञानिक सोच विकासको सम्भावना नै रहँदैन । भने पछि मान्नै पर्छ । फलनाले भनेको हुनाले सत्य नै हो । फलाना किताबमा लेखिएको छ त्यसैले यो नै सत्य हो । मैले भनेपछि बालबालिकाले मान्नै पर्छ भन्ने व्यवहार समाजमा वैज्ञानिक सोचको विकासको बाधक हो । बालबालिकाले जिज्ञासा राख्छ, म कसरी जन्मे ? बाबु आमाले उत्तर दिन्छन् भगवान्ले पठाएका हुन्, आकासबाट खसेको होस् । हो कतिपय बालजिज्ञासाको उत्तर दिन, समाधान तत्काल भेटन, जिज्ञासा मेटाउन सम्भव छैन । बाबु आमा र परिवारका ज्येष्ठ सदस्यले असत्य कुरा गर्ने, भूतप्रेत, हाउगुजीको डर त्रास देखाउने, अँध्यारोदेखि त्रास फैलाइदिने जस्ता कुरा घातक हुन् ।

विज्ञानका उपलब्धिको पनि जटिल उपलब्धि कम्प्युटरको आविस्कार धेरै मान्छेको धेरै ठूलो त्याग, वर्षांैको प्रयास, धेरै धन खर्च गरेर, दिमाग खिइयाएर सम्भव भएको हो । हाम्रोमा बाबु आमाले कम्प्युटर खरिद गरेर ल्याए पछि कसरी सम्भव भए होला कम्प्युटर निर्माण ? कसले गरे होला यसको आविस्कार ? कतिले कस्तो योगदान गरे होलान् ? अनि कतिजना व्यक्तिको सिर्जना यसमा सङ्कलित छ होला ? भन्ने जस्ता जिज्ञासा जगाउनुको सट्टा कम्प्युटरका लागि भोग दिने, चन्दन र अक्षता छर्केर पूजा गर्नेजस्ता कार्यले कम्प्युटरलाई पनि बालबालिकाले भगवान्को देनका रूपमा लिन्छन् । गाडी वा मोटर साइकल किनेर ल्यायो भने यसलाई कसरी सदुपयोग गर्ने ? प्रयोग गर्दा के कस्ता कुरामा ख्याल राख्ने ? भनेर छलफल चलाउनेको सट्टामा धोजापत्तका राखेर पूजा गर्ने अनि यन्त्र उपकरणलाई कुखुरा वा बोका काटेर बलि दिने कुराले विज्ञानलाई आत्मसात् हैन कि विज्ञानको उपहास गर्दछ । विज्ञानको उपलब्धि सधैँ मानवजीवनको हितका लागि समाजको विकासका लागि, मानवीय मूल्यमान्यता जोगाउनका लागि हुनु पर्दछ । मानवले मानवलाई ठगी गर्न, झुक्याउन, मानवीय मूल्यको उपहास गर्न विज्ञानको प्रयोग हुनु हुँदैन र हुन दिन पनि हुँदैन ।

बालबालिकामा र वयस्कमा वैज्ञानिक सोचको विकास गर्न हरेक अवसरको उपयोग गरिनु पर्दछ । हाम्रा चाडबाड, पर्व, उत्सवलाई समेत कोरा कल्पना र मिथकको रूपमा हैन वैज्ञानिक दृष्टिले व्याख्या गर्ने परम्परा बसालिनुपर्दछ । यस्ता अवसरको पनि कारण र असर खोज्ने, जिज्ञासा जगाउने, कसैले सकारात्मक चिन्तन गरेमा निरुत्साहित गर्ने होइन कि सकारात्मक रूपमा लिइनु पर्दछ । बलि चढाएर सफलताको कामना गर्ने, सोध, खोज, मिहिनेत, सिर्जना गरेरभन्दा सफलताको अशिर्वादका लागि मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदजस्ता स्थानमा घन्टौँ लाइनमा लाग्न, भाकल गर्न उत्पेरित गर्नाले वैज्ञानिक चिन्तनको विकास सम्भव हुन सक्दैन ।

लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणले पनि वैज्ञानिक सोचको विकास गर्न मद्दत गर्दछ । लोकतन्त्रको मूल मर्म भनेको हरेकका विचारलाई सम्मान गर्ने, समस्या परेकालाई सहयोग जुटाउने, सबैका प्रतिभा मुर्झाउनबाट रोकी मौलाउने मौका दिनु पर्दछ भन्ने नै हो । विज्ञानले ज्ञानको उत्खनन गर्न, कुनै घटनाको पनि कारण र असर खोज्न उत्प्रेरित गर्दछ । कसैले भन्दैमा जुनसुकै कुरा विना सोच विचार मान्यो भने विज्ञानसम्मत हुन सक्दैन । विचारमा पनि द्वन्द्व हुन सक्दछ, द्वन्द्वबाट असल विचारको जन्म हुन सक्दछ । खोज गर्नु, घटनाको कारण खोज्नु, यसो नगरी उसो गर्दा के होला जिज्ञासा राख्नु विज्ञानको अनुसरण गर्नु हो । जुनसुकै भ्रमलाई पनि विश्वास मान्नुभन्दा संशय गर्नु, खोज गर्नु कठिन बाटो हो । समाजलाई अगाडि बढाउन केही व्यक्तिले कठिन बाटो रोज्नै पर्दछ । सबै वैज्ञानिक सोचलाई समाजले स्वीकार गर्दछ भन्ने छैन, एकजनाले स्वीकार नगरे पनि विज्ञान हार्दैन ।

के गर्ने त ? वैज्ञानिक सोचको विकास गर्न, विज्ञानसम्मत व्यवहार फैलाउन ? वैज्ञानिक सोचको विकास गर्ने भन्दैमा त सम्भव हुन सक्दैन । एकाएक समाजका सबै व्यक्तिमा वैज्ञानिक सोच विकास एकजना व्यक्तिले त के सुपरम्यानले पनि सक्दैन । बालबालिकादेखि परिवार र विद्यालयले प्रयासको थालनी गर्नु पर्दछ । बालबालिकका जिज्ञासा जानेसम्म मेटाउने, छलफल गर्ने चासो राख्ने, जानकारी नभएको कुरामा मलाई आउँदैन नै भन्ने र यस विषयमा तिमीले उमेर बढेसँगै सोधखोज गर्नु पर्दछ । अध्ययनबाट पनि तिम्रो जिज्ञासा मेटाउन सक्दछौँ भन्न सकिन्छ । अभिभावकले सबै कुरामा जित्नु नै पर्छ भन्ने छैन, नजान्ने कुरामा पनि जान्ने हुनु आवश्यक पनि छैन ।

आफूले हारेर मानव समुदायको नयाँ पुस्ताले जित्दछ, समाजलाई हितकर हुन्छ भने हार स्वीकार गर्नु महानता हो । कसैका पनि जिज्ञासा, प्रश्न मार्नु हुँदैन । थप प्रश्न र जिज्ञासा उत्पादन गर्न सहयोग गर्नु पर्दछ । सत्य कुरा र जानकारी भएको कुरा मात्र भन्ने, झुटा अफवाह, असत्य कुराबाट सधँै आफू जोगिने र बालबालिकालाई जोगाउन प्रयास गरियो भने वैज्ञानिक सोचको विकास गर्न मद्दत पुग्दछ । हाम्रा विद्यालयमा पुस्तकमा भएका कुरा पढाउने, घोकाउने रटाउने, जिज्ञासा, प्रश्न र सन्देहलाई मार्ने कार्य गरिन्छ । यस्ता कार्यले शिक्षकलाई एकछिन विद्यार्थीलाई नियन्त्रण गर्न चुप लगाउन सजिलो हुन्छ होला तर दीर्घकालीन रूपमा बालबालिका समाजलाई धेरै घाटा हुन्छ । शिक्षकले पढाउनभन्दा खोज्न, प्रश्न गर्न, जिज्ञासा बढाउन, तथ्यको विश्लेषण गर्न, निष्कर्षमा पुग्न, आफैँ ज्ञान उत्पादन गर्न सहयोग गर्नु पर्दछ । यस्ता सीप विद्यार्थीलाई सिकाउन सकेमा जीवनभर व्यक्तिलाई काम लाग्ने मात्र होइन समाजलाई विकास गर्न, सभ्य र समुन्नत बनाउन सहयोग पुग्दछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?