logo
२०८१ माघ ६ आईतवार



राष्ट्र, बौद्धिक र बतासे बात

विचार/दृष्टिकोण |




प्रा.डा. बद्रीविशाल पोखरेल

भाषा, साहित्य, संस्कृति र सिर्जनाको उत्थानका निम्ति निरन्तर लागिपर्ने जीवा लामिछानेद्वारा स्थापित यसपालिको पुरस्कार र सम्मान कार्यक्रमलाई प्रा.डा. सञ्जीव उप्रेतीले मोदनाथ प्रश्रितलाई बतासे बात लगाउँदै वक्तव्य जारी गरेका कारण विवादित बनेर कार्यक्रम स्थगित गर्नुप¥यो  ।
रुसी उखानअनुसार बुद्धिमानको जिब्रो छोटो हुन्छ, कान लामा र आँखा ठूला हुन्छन् भनेझैँ हतारमा प्रश्रितप्रति यति क्षुद्र वचन बोलेर उप्रेती आफैँ पछुताउँदै हुनुहोला ।
वैदेशिक लगानीमा सञ्चालित मार्टिन चौतारी नामको एक गैरसरकारी संस्थामा कार्यरत पत्नीका समेत कुरा सुनेर उप्रेतीले प्रश्रितप्रतिको धारणा बनाएको देखिन्छ । शारदा भुसालको प्रश्रितसम्बन्धी प्रायोजित कृतिकै आधारमा हतारमा एकतर्फी बयानका भरमा उपे्रतीले आफ्ना धारणा प्रवाह गर्नुभयो । नेपाल एकीकरणका मूल अभियन्ता पृथ्वीनारायण शाहको दूरदर्शी व्यक्तित्वलाई केन्द्रमा राखेर नेपाल र नेपाली हुनुमा सर्वाधिक गौरव गर्ने विषयलाई सार्वजनिक रूपमा स्थापित गर्दा प्रश्रितलाई मण्डले, राजावादी र पुनरुत्थानवादी भन्दै मनगढन्ते आरोप लगाए, पछि आफैँ सेलाए र प्रश्रितकै पछाडि लागे । महान् स्रष्टा र चिन्तक सदा भिडका पछाडि लतारिंदैन र भीड सदा सही हुन्छ भन्ने पनि हुँदैन । जनतामा रहेको अज्ञानताको फाइदा लिएर नेपालजस्तो मुलुकमा आम नरसंहारकारी अनेकखालका खड्काउ अभियान भएका थिए, छन् र हुनेछन् ।
स्रष्टाहरू आफ्नो उपनाम सरदर मानिसको भन्दा भिन्न र अचम्मको राख्छन् । उनीहरू आफ्नो घर वा निवासलाई कुञ्ज र कविकुञ्ज आदि भन्न मन पराउँछन् । यसैअनुसार आफ्ना परिश्रम र पसिना तथा हितैषीहरूबाट सरसापटी लिएर आफैँ श्रमिकसमेत भएर बनाएको घरलाई प्रश्रितले गाँैथलीको गुँड नामकरण गर्नुभयो । यस विषयलाई खगेन्द्र सङ्ग्रौला नामक एक लेखकले सत्य हो कि भनेझैँ लाग्ने गरेर भाँडबखान गरेर प्रश्रितउपर फेरि बतासे बात लगाउनुभयो । सकार केही नदेख्ने र सदावर्त कटु आलोचना गर्न माहिर चरम आग्रही लेखक नाकाबन्दीका बेला दशगजापारि गएर नेपालतिर ढुङ्गामुढा बर्साउन कन्दनी कसेर लागिपरेको बिर्सिएको छैन । आफ्नै मातृभूमि र जननीप्रति चीरहरण हुँदा त्यसका विरुद्धमा बोल्नु त कता हो कता उल्टै तिनैको पक्षमा उप्र्रिmने वरिष्ठ लेखकको के कति नैतिकता होला ? माओवादी जनयुद्धताका पाँच दिन बेपत्ता भएका भनिनुभएका संग्रौला नेपाली सेनाको गिरफ्तारीमा पर्नुभयो, यता घरमा ठूलो चिन्ता थपियो । यो कुरा सङ्ग्रौलाकी पत्नीबाट थाहा पाएपछि केपी ओलीले मेराविरुद्ध लेखिरहने परममित्र हुन् तसर्थ यिनको ज्यानचाहिँ नलिनू भनेपछि सक्कलै निस्किनुभएका संग्रौला अहिले पनि ओलीलाई फुटेका आँखाले पनि देखिसहनुहुन्न ।
प्रश्रितजस्ता मनीषिहरू अगस्त्यमुनिका आदर्श हुन् । उदात्त चेतका मानवहरू आफूलाई नै चिथोरिरहे पनि आफ्नो धर्म कदापि छाड्दैनन् ।
नेपाल, पश्चिमाहरूको ’पेड र फेक न्युज’को भुमरीमा परेको थियो, छ र हुनेछ । राजनीतिक विश्लेषक भरत दाहालका अनुसार काठमाडौँमा मात्र २३ हजार उपल्ला तहका विभिन्न विषय, विधा र क्षेत्रका मानिस राम्रै रकमको लोभमा परिचालित छन् । प्रा.डा. युवराज सङ्ग्रौलाले एक लेखमा सन् २०१६ मा मात्र नेपालीहरूका बीच जात, जाति, धर्म, संस्कृति, नाक नश्ल आदिका नाममा विखण्डित गर्न २३ अर्ब रुपियाँ नेपाल भित्रिएको बताउनुभएको थियो । संविधानसभामा पश्चिमाकै लगानीमा अनेक खालका ककस परिचालित थिए । त्यसबेला पश्चिमाहरूले खसआर्य, जनजाति आदि क्षेत्रका आन्दोलनकारीलाई एकआपसमा भिडन्त गराउन मोटो रकम लगानी गरेको जगजाहेर छ ।
रुसको तासकन्दमा भएको अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिएबापत रुस गइस्, कम्युनिष्ट भइस्, भनेर दरबारमा पोल लगाएर लक्ष्मीप्रसाद देवकोटाले प्रज्ञा प्रतिष्ठानबाट पाउने पारिश्रमिक आठमहिना रोकेर उनलाई भोकभोकै पारेको मुलुक हो नेपाल । कीर्तिपुरका जनताको दश धार्नी नाक काट्ने अत्यन्त क्रूर शासक भनेर अङ्ग्रेजी भाषामा प्रकाशित दस्तावेजका आधारमा लामो समय पृथ्वीनारायण शाहलाई अत्यन्त क्रूर शासक, कीर्तिपुरलाई नकटापुर भनेर विश्वास गर्ने अनि पछि पछुताउने बौद्धिकको मुलुक हो नेपाल । सूचनाको राम्रो पहुँचका अभावमा नेपालका केही प्राडा.हरू भौंतारिेएर कुहिराको काग भएको देखिएकै छ । पश्चिमाहरूको मोटो आर्थिक लगानीमा जनयुद्धकाल र त्यसपछि पनि नेपाल एकीकरणविरुद्ध, नेपालको नाम र झण्डाविरुद्ध अभियान छेडे पनि असफल भएपछि मंगोल अर्गनाइजेशनका नाममा वितण्डा मच्चाएको देख्दा कुनै बौद्धिक वा प्राज्ञिकले आफ्नै घर, आँगन र टोलमा कुचो लगाउन सक्तैनन् । प्राडा. अभि सुवेदीलाई केही वर्षअघि सिक्किममा प्रमुख अतिथि निम्ता गरिएकामा यी सुवेदी धरानमा पढ्दा अखिले थिए भनेर धुवाँधार विरोध गरेकै थिए । राजनीतिक, धार्मिक आदि आस्थाका आधारमा तीन पुस्तासम्म लखेट्ने संस्कारका हामीमा कति उच्च संस्कार होला ? नेपाली भाषाका लेखक भनेर गर्व गर्ने वरिष्ठ लेखक प्रदेश नम्बर २ मा हिन्दी भाषालाई त्यस प्रदेशको साझा सम्पर्क भाषा बनाउने अभियानमा मूकदर्शक देख्दा लाज लाग्छ ।
माओत्सेतुङ्को भनाइमा मान्छे बन्न र बनाउन जीवनभर लाग्छ । लेखेर, पढेर र माथिल्लो तहको औपचारिक बौद्धिक प्राज्ञिक उचाइ मात्र प्राप्त गरेर मानिस मानिस हुँदैन । कार्ल माक्र्सले भनेझैँ परिवर्तित राजनीतिक परिस्थितिमा पुरानै शासक र शासनव्यवस्थाका संस्कार, संस्कृति र विचारका वाहक बनेका नेपालका लेखकहरूमा कति उच्च र उन्नत चेत होला ? आदत र आग्रहका दास बनेपछि कुनै पनि मानिस हत्तपत्त सही निष्कर्षमा पुग्दैन ।
खुसी, खोकी, प्रेम र अपराध धेरै दिन लुक्तैन भनेझैँ शारदा भुसाल लिखित÷प्रकाशित भनिएको तर कृष्ण अविरलद्वारा चाँजोपाँजो मिलाइएको कृतिमा परस्पर बाझिएको, केही सत्यतथ्यजस्तो लाग्ने तर नियोजित रूपमा लाञ्छनायुक्त देखियो । शारदा भुसाल झाको फेहरिस्त दिएर एउटा विशिष्ट विज्ञ र विद्वान्लाई नियोजित रूपमा असत्य र अतथ्य तथा अतार्किक लाञ्छना लगाउनु कदापि सही होइन ।
साँचो डग्दैन भने झैँ उक्त घटनामा सत्यता नभएको कुरा कृतिमा उल्लिखित परस्पर बाझिएका, बेमेलका गतिविधि, क्रियाकलाप र घटनाले नै बताउँछन् । किनभने २०४८ सालको घटना भनेर शारदा भुसाललाई आधार बनाएर लेखे लेखाइएको देखिन्छ । उहाँ त्यस बेला मानसिक रोग ग्रसित भएका कारण उपचारका लागि मोदनाथ प्रश्रित र कविता पौडेलले दुवैले काठमाडौँ लगिदिएको प्रेस विज्ञप्तिमार्फत उहाँहरूले उल्लेख गर्नुभएको थियो । यो कठोर भूमिगतकालको अदृश्य, गुप्त र गुपचुप समयको कुरा पनि होइन । प्रश्रित सपत्नी बस्दै आउनुभएको समयको कुरा छ । आफ्नै पार्टीका नेता र कार्यकर्ताकी छोरीका नाताले पनि काठमाडौँमा लगेर डाक्टरी उपचार गराउन सहयोग गरेको देखिन्छ तर शारदा त्यस समयमा आफैँ भागेर बेपत्ता भएको भन्ने देखिन्छ । यस विषयमा अर्का संस्कृतिविद् विष्णु प्रभात स्वयं साक्षी हुनुहुन्छ । उहाँले पनि सत्यतथ्य पहिले नै उजागर गर्नुभएको थियो ।
२०५४ सालमा निज भुसालले गरेको कार्यक्रममा मोदनाथ प्रश्रितलाई आफ्ना अभिभावक तथा काका भनेर प्रमुख अतिथि बनाएको कुरा पछि आएर लेखक हरिमाया भेटवालसितको पुस्तक विषयको अन्तर्वार्ताका क्रममा शारदाले होइन भनेर ढाँटेको देखिन्छ ।
शारदाका बाबु गुणनिधि भुसालले छोरीमा पागलपनको लक्षण भएको भनी बताएको २०७२ चैत २ गते प्रकाशित अनलाइन खबर पत्रिकामा उल्लेख छ । बाबु गुणनिधिले नै छोरी जसको संगतमा छे उसैका उक्साहटमा परेर प्रश्रितप्रति लाञ्छना लगाइरहेकी हुनसक्छे भन्नुभएको थियो ।
कृष्ण अविरलले रक्तकुण्ड नामको उपन्यासबाट घर बनाएँ, अब शारदा भुसालको भनिएको यस कृतिबाट कार किन्छु भन्दै हिँडेको पनि उतिबेलै थाहा पाइएको हो ।
वरिष्ठ लेखक मोहन बन्जाडेले वैदिक सनातन धर्म संस्कृतिप्रति पादरीहरूबाट लाञ्छनायुक्त लेखन, प्रकाशन र प्रसारण गरेको विभिन्न लेखमार्फत उल्लेख गरिरहनुभएको देखिन्छ । उहाँले सांंस्कृतिक अपभ्रंशको शृङ्खला शीर्षक लेखमा लेख्नुभएको गणेशको बाहन सुँगुरसमेत भनेर पश्चिमाहरूको लिखतलाई डा. उप्रेती विश्वास गरेर त्यसको प्रचार गर्नुहुन्छ । अहिले सभ्यताको लडाइँ जारी रहेको अवस्था पनि हो ।
नेपाल सर्वप्राचीन धर्म, सभ्यता र संस्कृति भएको मुलुक हो । यसका शीर्षस्थ धरा, धर्ती, धरातललाई ध्वस्त पार्न सुनियोजित रूपमा पश्चिमाहरू लागिपरेको देखिन्छ । अझ पृथ्वीनारायण शाहप्रति अहिले पनि पश्चिमाहरू कुनै न कुनै रूपमा बदलाको भावनाका साथ लागिपरेको देखिन्छ । साँच्चै भन्ने हो भने नेपाल एकीकरणजस्तो नेपाल र नेपाली हुनुमा अत्यन्तै गर्विलो विषयमा मोदनाथ प्रश्रित हिम्मतका साथ अगाडि नआउनुभएको भए यस्तो सर्वाधिक गौरवशाली ऐतिहासिक पक्षलाई नेकपाकै केही उपल्ला तहका नेतामार्फत चिहानमा गाडिसकेको अवस्था हुन्थ्यो ।
त्यसैले यसमा आघात पु¥याउने प्रश्रित पश्चिमाको तारो बन्नुभएको स्पष्ट हुन्छ । नत्र यसैको वरपर यस खालको वितण्डा मच्चाउनु पर्ने अरू कुनै कारण देखिन्न । मोदनाथ प्रश्रितको व्यक्तित्व र कृतित्वका बारेमा सुप्रसिद्ध लेखक सौरभले ’असङ्गति’ नामको कृतिमा उल्लेख गर्नुभएको छ । सौरभ एउटा दुईटा कुनै कथाकृति र उपन्यास मात्र लेखेर प्रसिद्ध भएको व्यक्तित्व होइन । सौरभ जस्ता केही व्यक्तित्व छन् जसले नेपालका धेरै प्राडा.हरूलाई पढाउने सामथ्र्य राख्छन् ।
कुनै पनि देशलाई सक्न त्यसको संस्कृतिलाई क्षतविक्षत पार्नुपर्छ । भाषा साहित्य भनेको त संस्कृतिको संवाहक हो । यति कुरा पनि नबुझी पोथाहरू पढ्नु, पल्टाउनु र प्रकाशन गर्नुको कुनै दीर्घकालीन महत्व हुँदैन । मानव सभ्यतामा उपर्युक्त खालका धेरै मानवीय सकार र नकारहरू देखेर र भोगेर पुर्खाहरूले अनेक नीतिश्लोक निर्माण गरेका छन् जसअनुसार सर्पको दाँतमा, बिच्छीको पुच्छरमा, झिँगाको टाउकामा र दुष्ट मानिसको शरीरभरि विष हुन्छ । यस्तो भएपछि देशको सर्वनाश हुन्छ । अब हामी कति सज्जन कति दुर्जन हौँ ?

(लेखक साहित्यकार हुनुहुन्छ) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?