प्रा.डा. बद्रीविशाल पोखरेल
शम्भु बाबु म तिम्री साख्खै आमा हुँ । तिमी मेरै कोख र काख हाँै । तिमीलाई जन्माउँदा प्रसव वेदनाको असह्य पीडाले छटपटाएर मैले चिच्याउँदा अस्पतालका भित्ताहरू चर्किएका थिए ।
साढे तीन किलो ओजनका तिमीलाई जन्माएपछि म दुई घण्टा बेहोस भएकी थिएँ रे । होसमा आएकी मलाई नर्सहरू हामीले तपाईंलाई माया मारेका थियौँ भन्थे । उनै नर्सहरूका अनुसार मलाई उपचार गरिरहेका डाक्टर पनि मेरो अवस्था देखेर निकै आत्तिएका थिए रे ।
जीवन र मरणको दोसाँधमा रहेर जन्माएका तिमी मेरो मुटुको टुक्रा हौ, धमनी हौ, ढुकढुकी हौ ।
दस धारा दूध खुवाएकी आफ्नै आमाको तिमीले घोर अपमान गरे पनि म आमा हँु, त्यसैले म कदापि कुमाता हुन सक्तिनँ ।
मैले मेरा सप्पै रहर तिमीलाई नै समर्पित गरिदिएँ । मैले मेरा सबै सुख र खुसी तिमीलाई अर्पी दिएकी थिएँ ।
मैले मेरा रहरलाग्दा बैँस र वसन्त तिमीलाई सुम्पेकी थिएँ बाबु ।
यो छोरा बढ्ला, कमाइ गर्ला, दूध भात देला मलाई भन्ने आहान मैले मेरा बुवा आमाबाट सुनेकी थिएँ ।
तिमीबाट त्यत्ति धेरै आशा मैले गरेकी त थिइनँ । आशामुखी सदा दुःखी भन्ने पनि मैले उहिल्यै थाहा पाएकी थिएँ ।
आशा र निराशाभन्दा पनि सन्तानको उन्नति प्रगति देखेर र सुनेर आमाबुवा असाध्यै खुसी हुँदारहेछन् भन्ने कुरा म अहिले महसुस गरिरहेकी छु ।
त्यसैले बाबु नानी शम्भु, तिमी नै मेरो संसार थियौ र हौ पनि । अबचाहिँ मलाई धेरै शङ्का भएको छ । मेरो बाबा ! अहिले पनि तिमीलाई म उतिबेलाकै जस्तो सानो बालक देख्छु ।
सपनामा पनि तिम्रो दुःख देखेर रुन्छु । तिमी मेरो सपना हौ, जपना हौ ।
शम्भु बाबु, मेरो प्यारो छोरा, तिम्रो सम्झनाले मात्र मेरो सर्वाङ्ग शरीर तरङ्गित हुन्छ, मातृ वात्सल्यले ओतप्रोत हुन्छ । तर तिम्रो बुद्धि छोटो शरीरचाहिँ धेरै मोटो भएछ ।
तिमी मेरो साख्खै सन्तान हौ, छोरा हौ । तर, तिमीले भारी सभामा मेरो नामै काडेर ‘तिमी को हौ’ भनेछौ । तिमीले दुनियाँलाई नेपाल नेपाली कुलघरानको नै बेइज्जत गरेछौ ।
गर सकेसम्म नेपाल आमा र जननीको गर्नु बेइज्जत गर, घोर अपमान गर । तर तिमीले लाठे भएर यसरी मेरा मनमा बिझ्नेगरी दुर्वाच्य बोलौला भन्ने कल्पनासम्म मैले गरेकी थिइनँ ।
तिमीले खुला दिलले ममताका साथ आमा भनेर बोलाउँदा पनि म धेरै खुसी हुन्छु । म त आमा हुँ, धर्तीमाता हुँ, माया, ममता र करुणाकी खानी हुँ ।
आमाका आँसुहरू नै दुःख, दर्द, पीडा र विरोधका स्वरहरू हुन् । आमाका आँसु नै प्रतिवाद, प्रतिकार र मौन इन्क्लाव हुन् ।
आफ्नै सन्तानले आफूलाई दुर्वाच्य बोलेपछि आमाले रुनुबाहेक के उपाय छ र ! नुनिला आँसु पिएर बस्नुभन्दा अरू उपाय के हुँदोरहेछ र !
बैरीसित झाँसीकी रानीसरह लड्नुपर्छ र लडिन्छ तर आफैँसित आफू कसरी लड्नु ! अहिले यो उमेरमा यो अदना निरीह आमालाई तिमी मनपरी बोलिरहेका छौ ।
तिम्रा बाबा जीवित हुनु भएका भए यसरी तिमी मेराविरुद्ध मुखमुखै लाग्ने आँट नै गर्ने थिएनाँै । सबै बलेकै आगो ताप्छन् । मेरो ओड गरेर बोल्ने लालाबाला नभएका होइनन् धेरै छन्, करोडौँ छन् तर तिनीहरू तिमीजस्तो मनपरि बोल्ने स्वभावका रहेनन् तर बाबु धेरै मुख नछाड तिम्रा दाजुभाइ र दिदीबहिनीहरू धेरै रिसाएका छन् । आफ्नै आमालाई तथा नाम गर्दा ती सबै अत्यन्त आक्रोशित र रुष्ट भएका छन् ।
तिमीले मेरो तथा नामविरोध र गाली गरे पनि म आफ्नै सन्तान दरसन्तानको कुभलो कहिल्यै चाहन्न । यही आमाको महानतम् पक्ष रहेछ । यो कुरा तिमी पुरुष बुझ्दैनाँै । हेर त मेराबारेमा तिमीले बोलेका दुर्वचन सुनेर तिम्रा बहिनीहरू मनमनै रोइरहेका छन् । छोरीहरू त आमा हुन्, तिनलाई सन्तान जन्माउँदाको अतिशय घनघोर प्रसव पीडा थाहा छ । त्यसैले आमाले नै आमाको पीडा बुझ्छन् तर तिम्रा काका र बडाउका कुसङ्गतले र तिम्रै सिको गरेर रावण बेहोराका कतिपय छोरीहरू सारीसमेत उचाल्दै आफ्नै आमालाई गाली गरिरहेका देख्छु । आमाले नै आमाको बेइज्जत गर्नेहरूको पनि अनिकाल रहेनछ यो दुनियाँमा । महिलावादी भन्नेहरू महिलाबारेमा तथा नाम गर्दा किन केही बोल्दैनन् ? अचम्म पर्छु ।
मुख नै टाल्नेगरी प्रतिवाद गर्ने हो भने तिमीजस्ता सन्तान नाजवाफ हुनेछन् । दूरदराजमा रहेका निरक्षर र साक्षर मेरा सन्तानको आवाज कसले बोलिदिन्छ र ?
अलि–अलि पढेलेखेका जाने बुझेका सन्तान आमालाई यसरी मुख छाडेर बोल्दा प्रतिवाद गरिरहेको पनि देखिन्छ । तिनको आवाज पनि बाहिर ल्याइँदैन ।
कुकुरले मानिसको खुट्टा टोकेको विषय समाचार बन्दोरहेनछ तर मानिसले कुकुरको खुट्टा टोकेको विषयचाहिँ भाइरल हुँदोरहेछ । तर म कुकुरको खुट्टा टोक्नेजस्तो अत्यन्त कुरूप काम गर्नै सक्तिनँ किनकि म आमा हुँ ।
तर तिमीले आफ्नै आमाको हुर्मत लिएपछि अरूहरू अझ हौसिएर मलाई अर्थात् तिम्री आमालाई अरू तीन बित्ता उफ्रिएर गालीगलौजमा उत्रिए । पेसाभन्दा पैसामुखी भएर मालिक रिझाउन मेराविरुद्ध निर्वस्त्र र निर्लज्ज रूपमा भद्दा आरोप लगाउँदै थिए रे । आफ्नै कोख बैरी भएपछि शत्रु त शत्रु हुने नै भयो ।
मैले तिमीलाई धेरै दुःख गरेर हुर्काएकी छु । तिम्रा बाबु असमयमै मरिहाले । तिम्रा काका बडाउहरू तिम्रा बाबाका प्रतिभा, क्षमता र सेवाभाव देखेर उहिलेमात्र होइन, अहिले दागा धरिरहेका छन् । सबैको भलो चाहनेलाई पनि डाह गर्ने आफ्नै घरमा हुँदारहेछन् । टोक्नेले आफ्नो धर्म छाड्दोरहेनछ । आफ्नै दुईतिहाइको घर खरानी पार्नेहरूको पछि–पछि लागेर तिम्रो मतिभ्रष्ट भएछ । मतिले नै गति निर्धारण गर्ने हो जब मति नष्ट हुन्छ गतिमा अगति देखापर्छ ।
तिम्रा काका र बडाउहरूले संसारमा कहीँ थातबास नपाएर, पहिचानविहीन भएर, समाजले लाठो लाएर खेदाएपछि ती बिल्लिबाँठ भएका थिए । तिम्रा बाबाले उनीहरूकै भाग्य र भविष्यका खातिर सिद्धान्तको सिर्जना र कार्यान्वयन गरेको हुँदा तिनले आफ्नो राजनीतिक र राजकीय आवरु, इज्जत र पद, प्रतिष्ठा पाएका हुन् । तिम्री जेठी आमाका उग्रवादी सन्तानहरू अहिले समाज परिवर्तनका लागि एकमात्र उपाय बम र बन्दुकको धम्की दिइरहेका छन् । उग्रवादीहरू मात्रात्मक परिवर्तन परिवर्तन नै होइन भन्छन्, आफैँलाई पुर्ने खाल्टो खन्छन् । उग्रवाद घोर दक्षिणपन्थी अवसरवादमा परिणत हुँदोरहेछ भन्ने प्रत्यक्ष उदाहरण कतिपय विद्यावारिधिधारी रहेको तिमीले देखेकै हौला । पुष्पलाललाई त्यति बेलै गद्दार भनेर पछि पछुताए पनि तिनीहरू अझै कम्युनिस्ट कठमुल्लावाद र बामलप्फाजीमा रमाइरहेका छन् । एक थान मन्त्री बनाउनका लागि पार्टीलाई बलिवेदीमा चढाउँदै छन् । कम्युनिस्ट नामका यस्ता वर्गविरोधी र कृतघ्न पार्टी र नेता पनि हुँदारहेछन् । अहिले तिनैको पक्षमा तिमीले पैरवी गरिरहेको देख्दा मेरो छाती चिरिन्छ ।
तिमी उतिबेला लाहुरे बन्न चाहन्थ्यौ तर मैले नै तिमीलाई तिम्रा बाबाले भनेझैँ देशको एउटा इमानदार शालीन बौद्धिक व्यक्ति बनाउन खोजेकै हो । त्यसैले तिमी पेसाले राम्रै स्थान र मानमा पुगेका हौ तर बाबु सबै कुराको एउटा सीमा हुन्छ तर इमान, ज्ञान, सेवा र समर्पणको कुनै सीमा हुँदैन । पैसाका खातिर इमान, जमान र इज्जत बेच्नुहुँदैन ।
तिम्राबारेका गुनासा धेरै सुन्दै छु । कृपया बाबाकै लागि पनि नराम्रो काम नगर, सदा इमानदार बन । सामान्य पेटु मानिस त मानिस नै होइन । पेटपालो त काग, कुकुरले पनि गर्छ । समाजको आदर्श बन, प्रतिष्ठा बन । इज्जत गुम्यो भने त्यो कहिल्यै किन्न पाइन्न । तिमीले मेराविरुद्ध भारी सभामा तथानाम भनेपछि बेलुका पियापसलमा राम्रै भोज भएको सुनाउँथे ।
त्यस पसलमा तिमीलाई तिम्र्रा मालिकले मोटो रकमले पुरष्कृत गर्ने घोषणा पनि गरे भन्ने सुनेँ । बाबु जे बन्छाँै बन, विभीषण चाहिनँ बन । विभीषणको उलामालामा लागेर आफ्नै दाजुको हत्या गर्ने कामकिमार्थ नगर । लेन्डुप त झन् नबन । पछि काम तमाम भएपछि लेन्डुपले मरेपछि सद्गति गर्ने चार फिट जमिन पनि पाएन बाबु ।
मसित तिमी किन रिसाउँछौँ ? किन तथानाम भनिरहन्छाँै । अब मसित के छ र, तिमी जे भन्छौ त्यही–त्यहीमात्र गर्ने अवस्थामा पुगेकी छु । म त डाँडाको जून भएकी छु, कतिखेर प्राण जान्छ कुनै टुङ्गो छैन तर तिम्रो यस्तै चालामाला रहिरह्यो भने तिमीले मेरो
सद्गति नगर्नू । बहिनीहरू छन् मेरा आँखाका नानी, तिनले नै सद्गति गर्नेछन् ।
(लेखक साहित्यकार हुनुहुन्छ । )